आज लोकतन्त्र दिवश । अर्थात बैसाख ११ । २०६२।६३को आन्दोलन मार्फत देश नयाँ युगमा प्रबेश गरेको दिन ।
समय बित्न कति नै लाग्दो रहेछ र । आधा दशक वितिसके छ । फर्की हेर्दा अचम्म लाग्छ ।
आन्दोलनले तिब्रता लिई सकेको थिएन । म कार्यालयको कामले धुन्चे जानु पर्ने भयो । म र एक जना त्यतातिर लाग्यौं दुई सय पचास रुपैया बसभाडामा गंगबुबस पार्कबाट विहान साडे आठ बजे रसुवाको धुन्चे तिर लागियो । । जाँदा सुविस्ता नै भयो । चार पाँच दिन निकै व्यस्त भयौ । त्यतिञ्जेल धुन्चे शान्त थियो ।
देशका विभिन्न शहरमा आन्दोलनले तिब्रता लिन थालेको थियो । कान्तिपुर एफ.एम.ले आन्दोलन हामी समक्ष ल्याईरहेको थियो । आन्दोलनको प्रभाव धुन्चेमा पनि देखिन थाल्यो । काठमाण्डौबाट सवारी साधनहरु आउन छाडेका थिए । सवारीसाधनको आगमन नहुँदा खाद्यपदार्थको अभाव हुन थालेको थियो । त्यसको पहिलो प्रभाव हाम्रा खानपीनमा पर्यो । हामीले दाल र भात मात्रै खान थाल्यौं । धेरै पर्यटकहरु पनि धुन्चेमा नै अलपत्र परिरहेका थिए । होटेलहरु पर्यटकले खचाखच भरिएकाले केही बाहिरै टेन्ट हालेर बसेका थिए ।
कान्तिपुर एफ.एम.ले बजारको माहोल जोशिलो बनाउँदै लगेको थियो । धुन्चेबासीहरु पनि आन्दोलनमा सरिक हुन थालेका थिए, विशेषतः कर्मचारीहरु । कार्यालयहरुमा काम हुन छाडेको थियो । हाम्रो पनि काम सम्पन्न भई सकेकाले फर्कन चाहन्नथ्यौ तर दुई दिन सम्म कुनै सवारी साधन पाईएन । सवारी साधानको प्रतिक्षामा दिनहरु विताईरहेका थियौ । संयोगबश तेश्रो दिन एउटा बस पर्यटकहरु लिन आयो । हामी बल गरेर दुई हजार भाडा दिने सर्तमा सोही बसमा खाँदिएर काठमाण्डौ आयौं ।
टेक्सीहरु नचलेकाले ठमेल देखि कुपण्डोलसम्मको यात्रा मैले रिक्साबाट गरें । काठमाण्डौंमा बजारहरु पुर्णतया बन्द थिए ।
आज April 23 । पुस्तक दिवस । कृण्ण धरावासी को पण्डुलिपि ल्याएको छु ।