Wednesday, August 22, 2012

शब्द सबै, निअर्थ अब









के भनौ अब, के गरौ अब
शब्द सबै, निअर्थ अब

रुख भरी फुलेको छ
तिम्रै रंगीचंगी माया
हावा भरी फैलेको छ
तिम्रै मन्दमन्द माया
माला बनाइ लगाउँ की
देउतालाई चढाउँ
प्राण पवन बनाउँ की
शितलता जगाउँ

के भनौ अब, के गरौ अब
शब्द सबै, निअर्थ अब

अक्षर भरि उम्रेको छ
तिम्रै शाब्दिक माया
पुजा भरी सजेको छ
तिम्रै आत्मिक माया
आत्मा भरी साँचौ की
काव्य बनाउँ
आरती बनाई सजाउँ की
अँगालोमा बाँधौ

 के भनौ, अब के गरौ अब
शब्द सबै, निअर्थ अब


Tuesday, August 21, 2012

मन पात भएर हावामा हल्लिरहन्छ










मनको आँधी चलेको छ,
मनको धर्ति हल्लिएको छ,
मन भेल भएको छ,
उर्लेको छ अनियन्त्रीत
तात्तिएर अकासिएको मन
भावनामा उम्लदै
बादलबाट धर्तिमा ‌बज्रिएकोछ
विश्वासका पहाडहरुबाट
पहिरो बगाउँदै ल्याएको छ
थुपारेकोछ हिलो र ढ‌ुंगा
कुरुप विचारहरु माथि,
शब्दका बान्कीले
कुरुपता छोपेर,
मन मीठो मुस्काउँदै
फेरी इन्द्रजाल फाल्छ
इन्द्रियहरु आशक्त छन
मन सगै झुम्छन्
कुरुप ज्वालामुखी
पुन विष्फोट हुन्छ
बाफ भएर खुसीहरु
नफर्कने गरी अकासिन्छन्
फेरी
न भुईँमा न हाँगामा 
मन पात भएर हावामा हल्लिरहन्छ 
मन पात भएर हावामा हल्लिरहन्छ 

Saturday, August 11, 2012

म नभएको दिन, सदा झै सबै चलिरहनेछ


म नभएको विहान
सदाझै
सूर्य उदाउने छ,
हावा चल्ने छ,
चराहरु उड्ने छन,
धुवाँ धुलो उडाउँदै
कुदनेछन् सवारी साधनहरु,
फुर्तिलो समय
झोलामा घाम बोकेर
काममा निस्कनेछ,
सपना र खुसिहरु
झिलिमिली बोकेर
साँझ, सदा झै आउनेछ,
बस् यति मात्र हो,
साँझको झिलिमिली
तिमीबाट हराउने छ ।
नत्र
म नभएको दिन
सदा झै
सबै चलिरहनेछ ।

म नभएको साँझ,
सदा झै
ताराहरु चम्कनेछन्,
बत्तीहरु बल्नेछन्,
चराहरु गुड तिर फिर्नेछन्,
एकादेश सुन्दै
केटाकेटी निदाउने छन्,
झिलमिल साँझको खोजिमा
तिम्रो आँखाबाट रात हराउनेछ,
लाटो कोसेरोले
अन्तीम प्रहरमा बोलाएको
बलत्कृत रात
तिमीलाई खोज्दै आउने छ,
र तिमी झपक्क निदाउने छौ,
ठीक त्यसै बेला
घडीको अलारम बज्नेछ,
तिमी चल्मलाउँदै
कोल्टे फेर्ने छौ,
अँगाल्न खोज्ने छौ,
बिर्सियौ कि कसो
म नभएको रात
म सुत्ने तिम्रो छेउँ
रित्तो हुने छ ।
बस् यति मात्र हो,
नत्र
म नभएको दिन
सदा झै
सबै चलिरहनेछ ।

Thursday, August 9, 2012

साँच्चै, तिमी आत्माहरुको परमात्मा हौ त ?


शुन्यतालाई बाँसुरीको अलापले
निलो रंगले पोत्दै
कर्मका रागहरु
ब्रह्माण्डमा उफार्दै
तिमीले भन्यौ:
आत्माहरुको आत्मा
म परमात्मा हुँ ।

तर पनि
तिमी को हौ ?
चिनेको छैन ।

तिमीलाई चिने भन्नेहरुले,
आफैलाई तिमी ठान्नेहरुले,
सदियौं देखि भन्दै आए
मेरो आत्माको परमात्मा
तिमी हैन रे,
मेरो आत्मामा
तिम्रो बास छैन रे,
कर्म भन्दा जन्मै ठूलो हो
अन्य सबै झुटो हो ।

तर पनि
हो या होईन ?
थाहा छैन ।

त्यसैले,
बाँसुरीका तरंगहरु
समात्न खोज्छु,
निला रंगहरु
नियाल्न खोज्छु,
तिमी र म माझ
जन्मको पर्दा झर्छ
तिम्रो लिलाका रंग तरंग
आत्माबाटै ओझेल पर्छ
अनि 
मेरा छोटा हातहरु
आत्मामा राखेर सोध्ने गर्छु,
साँच्चै, तिमी  आत्माहरुको परमात्मा हौ त ?

Tuesday, August 7, 2012

तिर्थ हिडेका, यी चराका बथानहरु


मक्कामदिनाको फन्को मारेर
जेरुसल्ममा नङ्ग्रा तिखारेर
भेटिकनमा प्वाँखहरु झारेर
कहिले फर्कलान हँ ?
आकाश छपक्कै ढाकेर,
तिर्थ हिडेका यी चराका बथानहरु ।

रातो टिका
ठुँडमा टाँसेर,
ध्वजाहरु
नङ्ग्रामा च्यापेर,
फर्कलान् कि नफर्कलान हँ ?
तिर्थ हिडेका यी चराका बथानहरु,
शुदुरदेशको तिर्थ सकेर
आफ्नै बनपाखा सम्झेर ।

बाबाका बाँझा आँखामा
उज्यालो नहराउँदै
आमाको न्याँनो काखमा
धाँजा नफाट्दै
फर्कलान् कि नफर्कलान हँ ?
तिर्थ हिडेका यी चराका बथानहरु,
थोपा पसिना बाँकी राखेर
तातो रगत ज्युँदै राखेर ।