Friday, May 10, 2013

तिनै हुन मेरो आमा


सबले गाली गरीरहँदा
मायाले अँगाल्ने,
मेरा साना सफलतामा
हर्षआँसु पगाल्ने,
तिनै हुन मेरो आमा
नौमास गर्भमा हिडाल्ने ।

रात भरी हाँस्दा
हाँसेरै रात ढाल्ने,
ऐया भनि चिच्याउँदा
आफनै मुटु गाल्ने,
तिनै हुन मेरो आमा
जिबन धारा बगाउने ।

ताते ताते हिडाउँदै
बाटो चिनाउने,
टेडोमेडो गर्दा
सही दिशा देखाउने,
तिनै हुन मेरो आमा
मेरो अस्तित्व जन्माउने ।

Sunday, May 5, 2013

म सँग के नै छ र




म सँग के नै छ र
दिन बाँकी तिमीलाई
मन  दिएँ,  तन दिएँ,
सबथोक दिएँ तिमीलाई ।

हृदयको पहिलो फूल
राखेकै हुँ तिम्रो पाउमा,
देउरालीमा प्राण राखी
भाकेकै हुँ तिम्रै नाउँमा,
शब्द पनि के नै छ र
भन्न बाँकी तिमीलाई,
स्वर दिएँ, भाव दिएँ
सबथोक दिएँ तिमीलाई ।

ओस विनाको सेतो बादल
रित्तो रित्तो आज भा'छु,
तिम्रो जीतमा रुनलाई
छैन बाँकी खुसीआँसु,
म सँग के नै छ र
दिन बाँकी तिमीलाई,
मन दिएँ तन दिएँ
सबथोक दिएँ तिमीलाई ।