Thursday, August 15, 2013

मरिचमान सिंहको घर

"पूर्वप्रधानमन्त्री मरिचमान सिंह रहेनन्"

समाचारले मनलाई धकेलेर विगतमा लग्यो । केही यस्ता अनुभूति छन् जसलाई मनका पत्रहरुबाट हटाउन सकिदैन । सदैभरी सल्बलाई रहन्छन् मनभित्र । बिर्सन चाहेर पनि बिर्सन सकिदैन ।

 २०६१ सालको मंसिरको मध्यतिर सल्यान जानैपर्ने भयो । देशमा द्वन्द चरर्मोत्कर्षमा थियो । राप्ती अञ्चलका सल्यान, रुकुम र रोल्पा जिल्लाको त कुरै बेग्लै । यी जिल्लाहरुले नेपालीका मनमा अनौठो त्रास जन्माएको थियो । द्वन्दको पर्यायवाची जस्तै थिए नेपाली यी भु-भागहरु । सफल यात्राको कामना गर्ने सबैले सुरक्षित फिर्तीको कामना गरे । 

त्यो पनि त मेरै भूमि हो । मनलाई दह्रो बनाउने प्रयास गर्थे । आखिर मन भनेको मनै हो निकै तरल हुन्छ । स्वरुप अनुसारको प्रतिविम्ब बेलाबेला देखाईरहन्छ । बाहिरी द्वन्दले मुलुकलाई भन्दा मनलाई बढी पिरोलिरहेको थियो । 

मनमा बारम्बार गुञ्जीरहेको थियो, "सल्यान कसरी पुग्ने ?" 

सबै यात्राले मनमा उमंग नल्याउँदोरहेछ । यस्तै थियो मेरो यो यात्रा । नकारात्मक हुँदा नकारात्मक नै बढ्दैजाँदोरहेछ । बाटोभरी हुने झन्झटिलो सुरक्षा जाँच । सुरक्षाकर्मीहरुको रुखो र कर्कश आवाज । नाकाबन्दीको हल्ला । टोल, गाउँ, शहर, सदरमुकाम, बाटो, जिल्ला, अञ्चल चौतर्फी बन्दैबन्दको लहर । अकल्पनीय एम्बूसहरुको विष्फोट ।  आक्रमणै आक्रमणको गन्तब्यहिन सिलसिला । मानौं मान्छे मर्दै मर्दैनन, सुरक्षाकर्मी, सुराकी, माओबादीहरु मात्र मर्छन । 

यात्रा सम्झदै मन जिरींग भयो । किनकी यौटा बुलेटले मलाई कि त सुराकी बानाउँथ्योे कि माओबादी । तर पनि यात्राको तयारीमा लागे । काठमाण्डौबाट सल्यानसम्मै बस नजाँदोरहेछ । दांगको तुल्सीपुरबाट अर्को बसमा जानु पर्दोरहेछ । नयाँबसपार्क गएर तुल्सीपुरसम्मको बसको टिकट लिएँ । यात्रा सुरु भयो विहान ६ बजे ।

काठमाण्डौंदेखि तुल्सीपुरसम्मको बस यात्रा समय करीव नौ घण्टाको हो । अवस्था सहज थिएन । बाटैभरी चेकिंगका तगाराहरु थिए । यात्राको भौतिक पिडा भन्दा मानसिक पिडा कैयौं गुणा बढी थियो । दिउँसोको एक बजे नारायणगढ पुगेर खाना खाइयो । यस अवधिमा करीव नियमीत चेकींग दुइवटा र अपर्झट चेकिंग तिनवटा पार गरिसकिएको थियो । अझै कति अवरोधहरु पार गर्नै बाँकी थिए । मन खिन्न थियो ।

गोरु सिंगे पुग्दा पाँच बजेको थियो । त्यहाँ बस रोकीयो । अघि जान दिईएन । पश्चिमतर्फ जाने बस र अन्य सवारी साधनहरुको लामो लाइन लागेको थियो । पश्चिमतर्फबाट सवारी साधनहरु आइरहेका थिएनन् । सडक भरी सुरक्षा फौजका गाडीहरुमात्र दौडिरहेका थिए । गोरुसिंगे व्यारेकबाट सेनाहरु हरिया सैन्यगाडीमा नारा लगाउँदै पश्चिम चन्द्रौटातर्फ हुँइकिदैथिए । बस भित्रका नानीहरु सेनाहरु देखेर रमाइरहेका थिए, आमाहरु बच्चाहरुलाई नकराउन हाकारिरहेका थिए । बच्चाहरु बाहेक सबैका आँखामा दिक्दारी र त्राश प्रष्टै देखिन्थ्यो । सबैको आँखा सदैभरी बच्चाहरुका जस्ता भइदिए कति जाती हुन्थ्यो । संसार कति उज्यालो हुन्थ्यो ।

केही यात्रीहरु बसबाट ओर्लिएर रमिते भएका थिए । खलासीहरु र ड्राइभरहरु पनि बसबाट ओर्लिएर खासखास खुसखुस कुरा गर्दै थिए । बसबाट ओर्लिएर यताउती हेरौकी भन्ने सोच मनमा पलायो । तर खै किन हो बसमा नै बसिरहेँ । धानखोला हो वा बनकसबासामा दोहोर भिडन्त भइरहेको छ रे भन्ने हल्ला बस भित्र फैलियो । कसै कसैले चन्द्रौटामा नै भिडन्त भएको हल्ला सुनाउँदै थिए ।

मन चिसो भयो । निधारमा चिटचिट पसिना आयो । कस्तो अचम्म मानिस आत्तिदा दुई विपरीत कार्य सँगसँगै पनि हुँदोरैछ । झयालबाट बाहिर हेरें । पश्चिम आकासमा घामले दिनको अन्तीम स्वास फेर्दै थियो। चराहरु साँझको रक्तिम आकाशलाई ढपक्क ढाकेर गुँडतर्फ फर्कदै थिए । हाम्रो भने बास अनिश्चीत थियो । बाहिरतिर टहलिरहेका यात्रीहरुलाई बसभित्रै बस्न लगाईयो । बच्चाहरु खेल्न नपाएर हो वा भोकले चिच्याईचिच्याई रोइरहेका थिए । आमाहरु फुल्याउन खोज्थे तर उनीहरु झन जोड्जोडले चिच्याएर रुन्थे । दिक्दार आमाहरु खुँइय..... सुस्केरा हाल्थे । उनीहरुको सुस्केराले मनै चसक्क चसकिन्थ्यो । आमाहरुले समेत हार मानेको समय थियो त्यो । 

राती नौ बजेसम्म बसमै कोचिएर बस्यौं । शरीर कटकट दुखिरहेको थियो । गाडी गुड्ने अनिश्चयले केही यात्रीहरुले बेलुकाको खाना छेउका होटेलहरु गएर खान थाले । सायद सरासर जानपाएको भए तुल्सिपुरको कुनै होटेलमा खाना खाएर सुती पनि सकेको हुन्थेहोला । तर खाना मात्र होइन सुताई पनि गोरुसिंगे मै हुने भयो । खाना खाइसकेपछि ड्राइभरले केही समय यतै सुतौ र बाटो खुलेपछि जाउला भन्दै अन्तै सुत्न गए । कोठाको अभावका कारण दश जना जती मिलेर यौटै कोठामा सुत्नु पर्ने भयो । म पनि भिड मै मिसिएँ ।

सायद झपक्क आँखा लागेको थियो । बाहिरको मनै रुवाने आइमाई र केटाकेटीका चित्कारले म झल्याँस ब्युझिएर जुरुक्क उठेर विछौनामा बसे । मंसिर महिनाको रात गार्मी थिएन तर पनि मलाई खलखली पसिना आइरहेको थियो । दायाँबायाँ सुतेकाहरु घ्वार घ्वार घुरीरहेका थिए । सगैको कोठामा केही मानिसहरुले गुनगुन कुरा गरिरहेको सुने । सयौं सुरक्षाकर्मीहरु मारिएर रे । यौटाले त भरखरै विहे गरेको ल्याएको थियो । अस्ती डेरा खोज्न आएको थियो । कठै विचरा मरेछ ।

मन न्याँस्रो भयो । आखाबाट निद्रा वाफ झै उडेर गयो । दिमागले केही सोच्न सकिन । कुन बेला गाडी हिड्यो । थाहै भएन । झुल्के घाम तुल्सिपुरमा ओर्लिदा सल्यान जाने राप्ती यातायातको बसको सिटमा एकसुरले बसिरहेको थिएँ । बाटो निकै कठिन छ भनेका थिए सल्यान पुगेर फर्केका साथीहरुले । यात्राभरी मनमा चित्कार मात्र गुञ्जीरह्यो । बाटो, भिर, पाखापखेरा, पहरा र चट्टान भन्दा बढी कठीन त मान्छेहरुले भोग्ने पिडानै हुन्छ । साथीहरुले भने जस्तो कठीन बाटो आँखाले देख्नै सकेन ।

सल्यान वसपार्कमा बसले साँझको पाँच बजे ओराल्यो । कुचुक्क परेको बसपार्कमा मुस्कीलले दुईवटा बस अट्न सक्दोरैछ । यौटा बस राखेपछी आर्को गाडी घुमाउनै नमिल्ने । गाडी आएको रमाइलो हेर्न बसेका मध्ये एक जनालाई म पुग्ने स्थानका बारेमा सोधे । उनले बसपार्कदेखि पश्चिम तिर जाने बाटो देखाए ।

म त्यही बाटो समातेर अघि बढें । केही समय अघि हिँडेपछिेमा ढुंगा छापिएको बाटा भेटियो । काठमाण्डौंको कुनै गल्लीमा हिडिरहेकोछु जस्तो लागिरहेको थियो । करिव पाँच मिनेट हिँडेपछी नेपाल बैंक लिमिटेडको बोर्ड झुण्डिएको घर देखें । मेरो गन्तब्यको विसौनी त्यही घर थियो । घर भएको गल्लीलाई ठण्डी गल्ली भन्दा रहेछन् । ठण्डी गल्लीको दक्षिण मोहडा भएको सेता घरमा मैले समय बिताउनु थियो । मेरा निम्ती फगत उक्त घर यौटा कार्यालय थियो । तर मलाई थाहा थिएन त्यस घरले नेपालको राजनैतिक इतिहासको महत्वपूर्ण कालखण्डमा दह्रो सँग उभिने मान्छे जन्माएको थियो ।

घर मरिचमान सिंहको थियो । उनी २०४६ को जनआन्दोलनको बेला प्रधानमन्त्री थिए मरिचमानले सो घरमा धेरै समय विताएका थिए । घर सामान्य थियो । दई तल्लाको । अझ जमिन मुनीको भागमा भएको दुई कोठालाई समेत जोड्ने हो भने तीन तल्ला भन्दा हुन्छ । ती कोठा मध्ये यौटामा ट्वाइलेट र बाथरुम थियो भने आर्कोमा मलाई बस्ने व्यवस्था मिलाईएको थियो । दिउँसै बत्ती बाल्नु पर्ने कोठामा नाकै पोल्ने गन्धले दिक्दार लाग्दो थियो । मनले धिक्कारी रहेको थियो थुक्क देशको प्रधानमन्त्री भइसकेको मान्छेको घर यस्तो । त्यो भन्दा माथिल्लो तल्लामा नेपाल बैंकको कार्यालय र सबैभन्दा माथिल्लो तल्लामा व्यवस्थापकको क्वाटर थियो । त्यही घरबाट मैले महत्वपुर्ण ज्ञान लिएर करीव विस दिन पछि काठमाण्डौं फर्किएँ ।

आज पनि सायद ठण्डी गल्लीको मरिचमान सिंहको घर त्यसतै छ की ।

त्यहाँ बस्ने क्रममा साथीहरुले मरिचमानसँग जोडिएको धेरै विषय मलाई सुनाउनु हुन्थ्यो । तर पनि मेरा मनमा बाल्यकालका यादमात्र आइरहन्थे । पुरानो फुसको घरको खाँवोमा पुरानो रेडियो भूmण्डिरहेको हुन्थ्यो । रेडियो क्यार क्यार क्यारक्यार बजिरहन्थ्यो । त्यही रेडियोमा मैले उनको नाम पहिलो पटक सुनेको थिएँ । नाम सुन्दा अनौठो लागेको थियो ।

म सानै थिएँ । राजनैतिक चेत पनि पलाई सकेको थिएन । यो मरिचमान,  विना बाउको छोराले देश खतम पार्यो भनेर पनि भनेको सुनेको थिएँ । तीनताका गाउँमा भारतमा काम गर्न जानेहरुले देश जाने भन्नेगर्थे । मेरो मनमा देश भनेको भारत हो भन्ने परेको थियो । काँचो दिमागले भारतलाई विना बाउको छोराले मात्र खत्तम पार्न सक्थ्यो भरेर बुभ्mथ्यो । विना बाउको पनि छोरा हन्छ र ? भन्नेलाई नै सोध्थे । बाउ भएको भए त थर लेखिहाल्थ्यो नि । बाउ नभएर त थर नलेखेको । काँचो मन घोतलीन्थ्यो र पत्याउँथ्यो पनि ।

"सर, तपाई त मरिचमान सुतेको खाटमा सुतिरहनु भएको छ नि ?" ज्यालादारी पियन(सायद उनको नाम प्रेम हो)ले भनेको मरिचमान सिंहको मृत्युमा मैले सम्झिरहेको छु  ।

गोरुसिंगेमा बस भित्रका बच्चाहरु चिच्याहट, आमाहरुको चिसा सुस्केरा, मध्यरातमा युद्ध पछिको आइमाई र केटाकेटीका चित्कार खै किन हो मरिचमान सिंहको मृत्युमा मैले सम्झिरहेको छु  ।

Monday, August 5, 2013

स्मृती


तिमी,
आकाशको तारा
विहान हराएर जान्छौ
तिम्रा पाइला नियाल्छु
देखिन्छौ की कतै
आकास टोलाउँछु
दृष्टि अनन्तमा विलाउँछ
केवल याद रहन्छ
कालो केशको पर्दाभित्र
चम्कीला दुई आँखाले
रातको संसार देखाएर
थकित कमजोर बनाएर
तिमी,
विहानी सपना
विहानै हराएर जान्छौ ।