Thursday, April 13, 2017

क्यालेण्डर


छाप दाग छोडेर जाँदैछौ,
प्रेम विरह बोकेर जाँदैछौ,
मेरो प्रीय क्यालेण्डर
आँसु हाँसो साँचेर जाँदैछौ ।

बैसाखी बैंशमा
रापताप छर्दै आयौ,
चिसा सपनाहरु
खरानी बनाएर गयौ,
जेठको बजेटमा
धमिला आँखामा
ज्योति बालेर गयौ ।

असारेमा रुदै आयौ,
बाँझा खेत हरियो पार्यौ,
साउने खहरे गड्गडायौ
विश्वासहरु डगमगायौ
चरक्क चर्किएर भदौ भयौ
आस्थामा धाँजा पार्यौ ।

जमरा टीका भै आयौ
मालश्रीको उज्यालो ल्यायौ,
देउसी गाउँदै बत्ती दियौ
विश्वासको दियो बाल्यौ,
भकारीमा मंसीर भर्याै
पेटका मुसा मार्यौ ।

ठिहीर्याउने पुषमा
रातभरी जागा राख्यौ,
राजनैतिक खिचडमा
माघे तुषारो पार्यौ,
आकास छुने चुचुरामा
हिउँको फागु खेल्यौ,
चैत लाग्यो गुराँस फुल्यो
चुनावी हावा वगायौ,
अविश्वासका बालुवामा
पालुवा पलायौ ।

छापदाग छोडेर जाँदैछा
प्रेम विरह बोकेर जाँदैछौ,
मेरो प्रीय क्यालेण्डर
आँसुहाँसो साँचेर जाँदैछौ ।