Thursday, March 8, 2018

उनि घरैमा बस्छिन्


सबैले सोध्छन्, श्रीमति के गर्छिन ?
म भन्छु, उनि घरैमा बस्छिन् ।

म भन्दा सबेरै, 
उनि नै उठ्छिन्
कोठाचोठ बढार्छिन्
चिया पकाउँछिन्
चिया खाजा खुवाछिन्
खानाको तयारी गर्छिन्
होमवर्क अझै बाँकी छ,
छोरो कराउँछ,
कपाल बाटेको मिलेन,
छोरी चिच्याउँछिन्,
खै टावेल कता छ ?
  थर्काउँछु,
भुतभुताउदै यताउता
सबै सामु  उनै पुन्छिन्
तर पनि
नालनाता सोध्छन्, बुहारी के गर्छिन् ?
म भन्छु, उनि घरैमा बस्छिन् ।
साथीभाई सोध्छन्, भाउजु के गर्छिन् ?
म भन्छु, उनि घरैमा बस्छिन् ।

खाना खुवाउँछिन्
जुठोपुरो उठाउँछिन्
मोजा टाइ भेटिदैन,
रुमाल तेल देखिदैन
नभेटेको उनैले भेटछिन्
नदेखेको उनैले देख्छिन्
हामीलाई बाइबाइ गर्छिन्
जुठा भाँडा मस्काउँछिन्
हाम्रा फाेहर पखाल्छिन्
तर पनि
स्कुलमा सोध्छन्, आमा के गर्छिन् ?
छाेराछाेरी भन्छन्, उनि घरैमा बस्छिन् ।
अफिसमा सोध्छन्, मिसेज के गर्छिन ?
म भन्छु, उनि घरैमा बस्छिन् ।

दिन भरि एक्लै हुन्छिन्
तलमाथि गछिर्न्
भीत्रबाहिर हे्र्छिन्
विग्रेकाे सपार्छिन्
च्यातिएकाे टालछिन्
उध्रिएकाे जाेडछिन्
चिसिएकाे तताउँछिन्
तातिएकाे  चिस्याउँछिन्
मिसिएकाे छुट्टयाउँछिन्
छुट्टिएकाे मिस्याउँछिन्
तर पनि
बच्चाहरू सोध्छन्, अान्टि के गर्छिन् ?
छाेराछाेरी भन्छन्, उनि घरैमा बस्छिन् ।
छरछिमेक सोध्छन्, बुढी के गर्छिन ?
म भन्छु, उनि घरैमा बस्छिन् ।

भोकाउँदै फर्किन्छौ 
चियाखाजा हातै थामउँछिन्
गुनासा दिक्दारी 
चुपचाप सुनछिन्
झर्काे घुर्की
सहँदै बस्छिन्
बेलुकाकाे हताराे छ
चामल तरकारी केलाउँछिन्
फेरी खाना पकाउँछिन्
खाना खुवाउँछिन्
भाँडा मस्काउँछिन्
भान्छा सकाउँछिन्
बालबच्चा सुताउँछिन
निदाइसकेको हुन्छु ,
झक्झकाउँदै साेध्छिन्,
कसैले सोधे  के काम गर्छु भन्ने ?
मैले निद्रा मै भन्छु,
मेरो त कुनै कामै छैन, भन्नु ।
म त घरैमा बस्छु, भन्नु ।

त्यसैले त
जब कसैले सोध्छन्, तिमी के गर्छाै ?
उनि अाफै भन्छिन्, म त घरैमा बस्छु ।
उनि अाफै भन्छिन्, म त घरैमा बस्छु ।


x

Friday, March 2, 2018

तपाँईहरुलाई कस्तो लाग्छ ?


पार्टीका मञ्चहरु,
सरकारी कुर्चीहरु,
हाकीमका कोठाहरु,
जता हेर्यो त्यतै देख्छु
हाम्रा छाप्रोमा आएर
हाम्रा निम्ती काम गर्छु भन्नेहरु,
हामीलाई खेताला बनाएर
हाम्रै पसिनामा रँजाई गर्नेहरु,
हामी माझ आशाफूल फुलाएर
हाम्रा सपनामा कँजाई गर्नेहरु ।

मञ्च, कुर्सी र कोठाहरु
ठुलोठुलो स्वरमा सुनाउँछन्
कमा, फुलस्टप नफेर्ने गरी
हाम्रा दिन फेरिएको,
कर्तब्य गर्नै  नपर्ने गरी
अधिकारले वेरिएको,
हामी खट्नै नपर्ने गरी
उनिहरु रातदिन खटिएको,
जहाँ जहाँ जान्छु
यस्तै यस्तै सुन्छु
सपना पो हो कि झै लाग्छ,
आफुले आफैलाइ चिमोट्छु,
आफ्नै गालामा पीट्छु
साँच्चै हो कि झै लाग्छ
ल भन्नुस त
मञ्च, कुर्सी र कोठाहरुको भनाई
तपाँईहरुलाई कस्तो लाग्छ ?