राइफलम्यानले संसार
त्यागेको एक बर्ष हुनै लाग्यो । उनकाे यादले मनमा एक तमासकाे उकुसमुकुस पारिरहेकाे थियाे ।डायरीकाे पानाहरु पल्टाउँदै गएँ । उनी काठामाण्डाै उपत्यकामा रहँदा डायरीमा यस्तो विवरण
टिपेको रहेछु ।
मंसिर १३,२०७४ मंगलबार
कुपण्डाेल ललितपुर
थापाथली
कुपण्डोलको पुलको भित्तैमा टाउको जोतेर को ढलेछ ?
एक छिन घोरिएर
हेरेँ ।
भेडाको उनको
टोपीबाट कनपट्टीका तिलचामल कपाल झुस्स बाहिर निस्किएको, निधारमा
बुढयौलीका धर्काहरु, आँखी भाँै पनि छयासमिस फुलेका, खोपल्टिएका
बन्द आँखा, चाउरिएर मुज्जा परेका गाला सेता विच मसिनो काला
दाह्री, उमेरले अलि फक्रिएको नाक मुनि पातलो जुँगा, कलेटी परेका ओठ
। खैरो गलबन्दी, बाक्लो खैरो कोट, पछाडि भिरेका
कालो झोलो आधा जमीनमा र आधा भित्तामा टाँसिएको, घुँडा टालेको
पल्तुन मुनी कालो गोल्डस्टार जुत्तामा ढलेको मान्छे अलि नौलो छ । को होला, हँ ?
मैले
राइफलम्यान एघार तेइस सतहत्तरलाई झल्याँस्स सम्झिएँ । फोनमा नभएको एक हप्ता जति
भयो ।
कुपण्डोल र
थापाथली जोडने जुम्लयाहा पुल । यौटा धेरै अघि जन्मिएको हो । यो भुपीको स्ट्रेमा म
पदार्पण गरे पछी अर्को अवतरण गरेको ।
हालसम्म कति पाइला टेके हुँला यी पुलहरुमा । कहिलेकाँही पाइला गन्दै पनि
हिँडे । यही पुलमा कहीले भेँटे, कहिले अपरीचितसँग परिचीत भएँ, कति
सँग आँखा जुदाएर बाटो पार गरे । बाँदरहरुले लखेटेका आइमाई र बाच्चाहरुलाई साहार
दिएँ । वास्तवमा यो दुई पुलसँग नजानीदो सम्बन्ध विकास भएको । सपनामा समेत कतिपटक
यो पुल देख्छु ।
एक दृष्टिविहीन
महिला, पुलको स्थायी बासिन्दा, कहिले कुपण्डोल तर्फको त कहिले थापाथली
तर्फको छेउ, प्राय पुलको माझ । टुक्रुक्क बसिरहेकी । विहानी
यात्रामा, अफिस आउँदा, खाजा खाना जाँदा, अफिसबाट
फर्किदा, यही पुलमा ओहोर दोहर गर्छु र उनलाई देख्छु । शान्त तर अनुहारमा कलेश
पोतिएको ।
अँ म कुरा गर्दै
थिएँ नौलो ढलेको मानिसको । को होला हँ ? मनमा प्रश्न जन्मियो । लवाई हेर्दा
बौलाहा र जँडयाहा जस्तो त हैन । कुनै रोगले ढलेको हो की । कसैको बा होलान, छोराछोरी
पर्खी राछन् कि घरमा । फर्केर जाउँजाउँ लाग्यो, सोधौसोधौ लाग्यो
– के भो बा ?–
फेरी ह्वास्स
रक्सी पो गनाउने हो की ? रक्सीको जादुमयी संसारमा रमाइरहेकाहरु
यतै भटेको छु । रक्सीको स्वादले मातेकाहरु बाटो नै कब्जा गरेको नि देखेको छु ।
बाटो छेकेर बसेको नन्दीसँग लरबराउँदै दोहोरी खेलेको भेटेको छु –ओए
शम्भोको बहान, बाटो छोड, के मैले गाँजा र
भाँग खाको ठान्छस ? बाटो छोडछस कि दिउँ । सोमरस खाको सोमरस ।–
हातमा
झुण्डाईरहेको पोकालाई थापाथली का हनुमानहरु खोस्छन्, पर्खालमा बसेर
खोतालखुतुल, च्यातचुत पार्छन । सोमपान गरेका ब्रो र
हनुमानजीहरु घुराघुरा हुन्छन् ।
ह्या.... छोडदे
यार । पाइतलाले अफिस तिर लतार्यो । प्रहरीलाई खवर गरौं की ? फेरी मनको
कमलोपाटो उघ्रीयो । गाडीहरु रोकिए । जेब्राक्रस, हतार हतार
दोडिएँ, हुँइकिदै आएका बसको बेवास्ता गर्दै पल्लोछेउँ पुगे । आइफोन फोर अस ।
क्लासिक भैसक्यो । उपाहार पाउँदा तरुनी थिइ । बटन थिच्दा नचल्ने भएको छ । अनअफ बटन
थिँचे । दश बज्न पाँच मिनेट मात्र बाँकी देखियो स्क्रीनमा ।
पाइला झनै
छिट्छिटो चालेँ । समयमै हाजिर हुनुछ । ल्याप्चे समयमै ठोक्नु छ । नत्र लेटकमर
हुनेछु । लेटकमर बन्नु छैन । म निर्दयी बन्न सक्छु तर लेटकमर बन्न सक्दैन । अफिसको
नियम यस्तै छ । अफिस हिँडेको मान्छे । मानवीय हैन अनुसाशित बन्नु छ । लोकसेवा
आयोगले नैतिक शिक्षा पाठयक्रममा राख्यो रे । कर्मचारी भ्रष्ट भएर । कुनै दिन मानव
धर्म सम्बन्धी पाठ पनि समाबेश होला । परोपकारी कसरी बन्नु । जाँच दिदा पाठयक्रमा
थिएन । साला अफिसले मानिसलाई रोबट नै बानाउँछ ।
पुलमा तेर्सिएका
बुढाको फेरी दिमाग भित्र चलमलाए । झलझली आँखामा... झलझली आँखामा... भैरहयो । मेरो
पनि त मुटु छ तिम्रो जस्तै । मेरो पनि त सम्बन्ध छन् तिम्रो जस्तै ।
याद आयो,
राइफलम्यान
११२३७७
राइफलम्यान भारत
र चिनको, भारत र पाकिस्तानको बोर्डरमा, तुम्लेट र
खुकुरी भिरेर, क्यामाफोलेग भएर, हजारौ पुस्ता
भन्दा अघि देखि बैरी नभएका सँग, खाली पेट र तक्माका लागि जीवनसँग
सिगौरी खेले । अहिले बड्डा भएका छन् । पचहत्तर वर्षका भए । नाम र रासीबाट जन्म
मिति र समय मैले नै पत्ता लगाएँ १९९९ साल चैत ७ गते विहान ४ र ५ बजेको मध्ये तिर ।
राइफलम्यान धर्तीमा पहिलो पटक च्याँ. गरे ।
चालिस बर्षे
यौवनमा मै पनि ज्योतिष भै गएँ । त्यो पनि आफनै बाउको । अनि त के, बड्डाको
नाममा जीवनकै पहिलो केकमा फुलझरी गाडीयो २०७३ चैत्र ७ गते । राइफलम्यानले सलाई
कोरे र बाले फुलझरीको टुप्पो ।
ह्यापी बर्थ डे
टु यु
ह्यापी बर्थ डे
टु यु
ह्यापी बर्थ डे
टु यु
डियर बाबा
गडगड ताली,
फुलझरीको
झिलिमिली, नातीहरु वारीपरी । ल ल अव काट्ने । राइफलम्यान एघार तेइस सतहत्तरले
जिवनमै पहिलो पटकका बर्थ डे केकमा छुरी रोपे । वाह रे कर्म । गीताले के भन्छ यस सम्बन्धमा । तेश्रो र चौथो अध्याय दोहोराई
दोहराई पढिरहेकोछु । मजा आइरहेको छ ।
बुहारी सरोजाले उपहारमा
ल्याएको ढाका टोपी र नयाँ लुगामा सजिएका छन् राइफल म्यान । उमा कुस्मेली फुफुले
चम्कीलो हरियो खादा लगाईदिनु भयो । राइफलम्यान गजक्क परेका छन् । चाउरिएको
अनुहारको छाला खुसीले तनक्क तन्किए ।
सबैको अतित हुन्छ । मेरो डिएन दाता राइफलम्यान पनि आफ्नो
अतित सुनाउनछन् । –एघारा भाना त थियौ, के को बर्थ डे
मनाउनु, हामी त मलखातामा र गग्रेटमा जन्मिएकाहरुको । –
राइफलम्यान
विरामी भएर काठमाण्डौ आएका हुन् । पाटान हस्पतालमा एक रात । त्यहाँ भएन ।
गांगालालको इमरजेन्सीमा एक रात अनि सात रात जनरल वार्डमा । अनि प्रतिदिन आठ थान
ट्याब्लेटले जिउ सिधा पारेका छन् । सहजै स्वास फेरेका छन् ।
तिन बर्ष अघि
दमको जाँच गराउन अल्का अस्पताल जाउलाखेल लगेको थिएँ । राइफलम्यानलाई दम त होइन
रहेछ । बरु मुटुको समस्या देखियो । रिपोर्टले माइनर हर्ट अट्याक भएको देखायो ।
–भग्यमानी
हुनुहँदो रै छ बाच्नु भयो त्यसबेला ।–
डाक्टरले
भने ।
नियमित सेवन
गर्ने भन्दै सात थान औषधि लेखिदिए । बम्बै छँदा हार्ट अटयाक भएको थिया रे । आफै
सम्झिए । राइफलम्यान गेटम्यान बन्न त्यता गएका थिए ।
–साना तिनो हार्ट अटयाक्क त्यतिकै
पचाइन्छ । – बड्डा जोसिए राइफलम्यानको पारामा ।
गाउँ पुगे पछि औषधी छोडेर निमको पात खाना थाले ।
निमको पात खान थाले पछि खाना पनि हुँदै गयो । फेरी समस्या दोहोरियो । दमकै जस्तो
समस्या देखियो ।
साडेसातको दशा
लागिरहेको छ । यस्तै हो यस बेला म सम्झाउँछु । सम्झाउने बाटो । अलि धार्मिक छन्
राइफलम्यान । शंख फुकेर, घण्टा बजाएर, विहान बेलुका
पुजा गर्नुपर्ने ।
अस्ती बेलुका
गाउँबाट फुर्किएका छन् । चुनावी जाममा परे । काठमाण्डौ आइपुग्ने अठचालिस घण्टा लाग्यो
। हिजो वेलुका किर्तीपुर गएँ । राइफलम्यान सिरकमा गुटमुटिएर बसेका । राइफल म्यान
हिउँद भरी यतै बस्ने संम्भावाना छ ।
मेरा राइफलम्यान त सुतिराछन् किर्तीपुरकाे टहरामा । थापथलीकाे पुलमा ढलेका बुढा यस बेला के गर्दै हाेलान । पुलबाट उठेर हिँडे की त्यही लडिरहेका हाेलान् ।