Saturday, February 29, 2020

पिडाको कविता

म अहिले
कुनै युद्ध मैदानमा छैन
चिसो हिउँले कठांग्रिने
पृथ्वीधुरीमा छैन
सुर्यले तापपोखेको उजाड
मरुभुमिमा छैन
म आरामले घरमा बसेको छु
न हल्ला छ,
न चिसो छ ,
न तातो छ
र त
लेख्दछु, पिडाको कविता ।

यता उज्यालो भइरहँदा
धर्तिको अर्को पाखोमा
उडुस, उपियाँ, लामखुट्टेको टोकाईमा
कोल्टे फेरीरहेका छन् जिवनहरु,
पिल्सिएर मरेका उडुसको गन्द
छालामा स्पर्स गर्ने उपियाँको उफ्राई
घन्कीरहेको लामखुट्टेको संगीत
मैले भोग्नु परेको छैन ,
म उज्यालोमा छु
कतै बजीरहेको छ मधुर संगीत
यौटा चरा आएर बस्योे रुखमा
फेरी उडेर गयो कतै
टोलाएर हेरिरहेँ उतै
मन  हल्का भएको छ
र त
लेख्दैछु, पिडाको कविता ।

यसै बेला धर्तिमा कतै
प्राण त्याग्न छटपटिरहेको छ कोही
सतित्व रक्षामा हातपाउ बजार्दै छ कोही
भोकले छटपटिएर रुँदै छ कुनै अबोध्
म यता आरमले बसेर
प्राण त्याग्नुको पिडा कसरी लेखु
बलत्कृतको पिडा कुन शब्दमा पोखु
भोकको भाव कसरी देखाउँ
म दोधारमा छु
तर पनि
वाह वाह को आशमा
मन पराइने विश्वासमा
लेख्दैछु, पिडाको कविता ।

Friday, February 28, 2020

तिम्रो आगमनले

एक्लो एक्लो थिएँ
विरानो विरानो थिएँ
अनुभुति थिएन रंगउमंग थिएन
म बाँचिरहेको सपनामा
तिम्रो आगमनले जिवन थपेको छ ।
म बाँचिरहेको अँध्यारोमा
तिम्रो आगमनले प्रकाश थपेको छ ।

उदास उदास थिएँ
उजाड उजाड थिएँ
मन भरी आँधी हुरी थियो
प्यासी जीवनमा दिर्घ खडेरी थियो
म बाँचिरहेको शिशिरमा
तिम्रो आगमनले बसन्त थपेको छ । 
म बाँचिरहेको खडेरीमा
तिम्रो आगमनले झरी थपेको छ । 

पवन हो तिम्रा याद

पवन हो तिम्रा याद
सरर उडेर आउँछ,
आगो हो तिम्रा याद
मनमा डडेलो लाउँछ ।

चौतारीमा सुस्ताउँदै थिएँ,
तिम्रै याद गुनगुनाउँदै थिएँ
शितल झोका भएर आयौ
तनमा ज्वाला बालेर गयौ ।
पवन हो तिम्रा........
सरर उडेर.........

उकाली एक्लै चढ्दै थिएँ,
तिम्रै स्वास फेर्दै थिए
पसिना थोपा भएर बग्यौ
मनमा बाढी ल्याए गयौ ।
पवन हो तिम्रा........
सरर उडेर.........


Art Source: https://www.singulart.com/en/artworks/viktoria-lapteva-you-are-the-wind-for-my-wings-277899

Monday, February 3, 2020

पहाड

म ढलेको छैन,
म लडेको छैन,
ढाल्न नखोजेका होइनन्
लडाउन नखोजेका होइनन्
जराहरु सतही छैनन्
फेद त्यती कमजोर छैन
न्वारनदेखिको बल लगाउन
पसीनको नदी नै वगाउन
अझसम्म ढलेको छैन
अझसम्म लडेको छैन
भोलि पनि
म ढल्ने छैन
म लड्ने छैन ।