Saturday, February 29, 2020

पिडाको कविता

म अहिले
कुनै युद्ध मैदानमा छैन
चिसो हिउँले कठांग्रिने
पृथ्वीधुरीमा छैन
सुर्यले तापपोखेको उजाड
मरुभुमिमा छैन
म आरामले घरमा बसेको छु
न हल्ला छ,
न चिसो छ ,
न तातो छ
र त
लेख्दछु, पिडाको कविता ।

यता उज्यालो भइरहँदा
धर्तिको अर्को पाखोमा
उडुस, उपियाँ, लामखुट्टेको टोकाईमा
कोल्टे फेरीरहेका छन् जिवनहरु,
पिल्सिएर मरेका उडुसको गन्द
छालामा स्पर्स गर्ने उपियाँको उफ्राई
घन्कीरहेको लामखुट्टेको संगीत
मैले भोग्नु परेको छैन ,
म उज्यालोमा छु
कतै बजीरहेको छ मधुर संगीत
यौटा चरा आएर बस्योे रुखमा
फेरी उडेर गयो कतै
टोलाएर हेरिरहेँ उतै
मन  हल्का भएको छ
र त
लेख्दैछु, पिडाको कविता ।

यसै बेला धर्तिमा कतै
प्राण त्याग्न छटपटिरहेको छ कोही
सतित्व रक्षामा हातपाउ बजार्दै छ कोही
भोकले छटपटिएर रुँदै छ कुनै अबोध्
म यता आरमले बसेर
प्राण त्याग्नुको पिडा कसरी लेखु
बलत्कृतको पिडा कुन शब्दमा पोखु
भोकको भाव कसरी देखाउँ
म दोधारमा छु
तर पनि
वाह वाह को आशमा
मन पराइने विश्वासमा
लेख्दैछु, पिडाको कविता ।

No comments:

Post a Comment