Sunday, December 29, 2019

आरनको संगीत

खलाँतीको हावाले
गोलमा गूलाफ फूलाउँछ,
भरभराउँदो गोलमा
चिसो मन तताउँछ,
आगोले डढेको मन
सनासोले च्याप्प समाउँछ,
अनि ठोक्छ, ठोकिया
ठवाक्क।  ठवाक्क । ठवाक्क ।
आरने आफनो आरनमा ।

देवता र दानब भन्दा अघि
गुफाहरुबाट हुर्केर आएको
यो आरनेको आरन
बर्बबरताको चित्कारहरुमा
सा रे गा मा को लेपले टालेर
आरने फलामे मन फकाइरहेछ,
पख !
एक दिन
मेरा सुनौला लप्काहरुले
पधेराका काँडाहरु जलाउने छ,
भोटे ताल्चा पगालेर
मन्दिरका ढोका स्वचालीत बनाउने छ,
तेरो टोपी र कछाडको मैलो
अत्तर बनाएर उडाउने छ
बस्तीका तुवाँलाहरु
सुनका जलपले चम्काउने छ
अनि
तेरा स्वतन्त्र हातहरु
खुल्ला आकाशमा नचाउनु
तेरा मुक्त खुट्टाहरु
नयाँ बाटोमा दौडाउनु ।
आफनै धुनमा डुबेको आरने
चोटैचोटले कुरुप भएको मनलाइ
रेती र खाक्सी दल्छ
स्याँईं । स्याँईं । स्याँई
आरने आफनो आरनमा ।

बराजूहरु व्युझनु भन्दा अघि
दिनै नविराई व्युझनेआरन
भोक  तिर्खा  विर्सेर
घिन्तांग र मुच्र्छानाहरु जोडेर
आरनेको दिल बहलाइरहेछ
पख !
त्यो दिन
मेरा सुनौला लप्काहरुले
फलामे धुलोलाई सुन बनाउनेछ,
आँसु  पसिनाका अतित गालेर
शालिक बनाई चौबाटामा उभ्यानेछ,
सम्मान र जिबनको घाउहरुमा
जुनको शितलता लगाउने छ
बस्तीका तुसारो पगालेर
समानताको समुद्र बनाउनेछ
अनि
तेरा स्वतन्त्र हातहरु
गहिरो सागरमा घुसाउनु
तेरा मुक्त खुट्टाहरु
न्याँनो पानीमा डुबाउनु ।
आफनै धुनमा डुबेको आरने
घिस्सींदा घिस्सींदा
खिइएको मनमा
कडा पाइन हाल्छ,
च्वाँई ..च्वाँई.. च्वाँई
आरने आफनो आरनमा ।

फेरी त्यसै गरी
आर्को पाइन हाल्न,
खलाँतीको हावाले
गोलमा गूलाफ फूलाउँछ,
भरभराउँदो गोलमा
चिसो मन तताउँछ,
आगोले डढेको मन
सनासोले च्याप्प समाउँछ,
अनि ठोक्छ, ठोकिया
ठवाक्क।  ठवाक्क । ठवाक्क ।
आरने आफनो आरनमा ।

Friday, December 27, 2019

मंसिर १४,२०७४ विहिबारकाे डायरी

प्रभात फेरीमा छु । शंखमुल युएनपार्क भित्र छु । कालो ट्रयाक सुटमा बोल्ड युवती बरबराउँदै अघि अघि हिडिरहेकी छ । एयरफोनमा कुरा गर्दैछे । 
कतै कनिका पो हो की ? संसकित भए । 
को कनिका ? किसोर नेपालकी छोरी । पत्रकार । वनली पत्रकार । नो डियर, सि इज नट वनली पत्रकार । सि इज अव्योलुट बोल्ड पत्रकार । भर्चुएल जगत की सुन्दरी, इन किसोर नेपालस् क्रिएसन । 
कतै विहानै मर्निग वाकमा पो आई की ?
सेक्सी छ यार । यो यौवना पक्कै कनिका नै हुनु पर्छ । यसको बारेमा जति पढेको छु, वर्णन सुनेको छु, हुबहु कनिका जस्तै छे । हिँडाई उस्तै छ । फिजीकली मेनटेन गर्न रुचाउँदिरैछ । सेप एण्ड साइज इज गुड । 
हाउ ओल्ड इज सी । जिउले त अभभ् ट्वान्टी फाइभ आइ मिन पच्चीस नाघेको भन्छ । येसो अनुहार हेरौ न त । म पनि स्पीडमै छु । उछन्ने प्रयास । दायाँबाट आगडि बढे । कर्के नजर उ तिर फालेँ । उ बाँयातिर फर्कि । कपाल खुलै छ  । कपालले दायाँ गाला छोप्यो । 
उफ !, हाउ स्याड । अनुहार देखिन । अब पछाडि फर्केर हेर्ने कुरा पनि भएन । मुहार देख्न नपाउँदा थकथक लाग्यो । उमेर अनुमान लाउने आधार गुम्यो । 
मनको ब्याक ग्राउण्डमा किशोर कुमार गुञ्जीए “दिलको देखो चेहरा नदेखो...” 
But, I missed most beautiful curve of her body- a smile. हो, कुमार नगरकोटी म पछुताईरहेछु । उनको मुहारको विहानको उज्यालो देख्नै पाईएन । विहान त्यसै खेर जाने हो की ? युवतीे मुस्कान सुर्य उदयको पूर्वी आकास झै लाग्छ ।
उसको मुस्काउँदो मुहार नदेखे पनि आकाशमा सुर्य झुल्केको देखे । सयौ प्राभत हिँडालुहरुलाई छोडेरे गेट तिर सोझिएँ । सेतोपाटीमा छापिएका लामिछाने भाईले घीउकुमारीको जुस तयार पारिरहेका छन् । घिउकुमारीको चिप्लो बोक्रा डिब्बाबाट झिकेर तालु र अनुहारमा दले । 
किन दलेको ? अरुले दलेको देखेर । एक गिलास घीउकुमारीको घुट्काँए र बाहिरीएँ । 
मनै भरी कनिका झलमलाई रहीके छ, जसरी कालोपत्रे बाटोभरी, घरका भित्ताभरी, रुखका हाँगाभरी, कागको जीउ भरी, भगेराको चिरविरभरी घाम झलमलाई रहेछ । 
कसरी भेट्न सकिएला । अक्षर सुन्दरीलाई । कतै च्याटमा पो भेटिन्छ की ? अहो च्याट नगरेको नी धेरै भए छ । कुनै बेला हटमेलमा च्याट गरियो, अनि याहु म्यासेञ्जरमा, अनि फेसबुकमा अव त के के? म्यासेञ्जर, भाइबर, च्याट स्नयाप, ह्वाट्स एप, ..... ओ थ्री डी साइट्स, भर्चुअल वल्र्ड । 
उँसँग च्याटीन मन लाग्यो । मेण्टल च्याट साइट । इन साइड माइ वोन माइण्ड । निक नेम कनक, च्याट वीथ किसोर नेपालस क्यारेक्टर डटर, कनिका ।

कनक : हाय कनिका

नो रिप्लाई । कति भाउ खोजेकी हो केटीले । हुन पनि चानचुने हो र । किसोर नेपालकी सृजना पो । बुढाको जुँगा नै दामी । यीनको किताब “मेरो समय” । पढ्छु भनेको पढिएन । यो भनेको, त्यो भनेको, उसो भनेको, सब मेरा अुपुरा र अधुरा कुरा हुन् ।
अगेन नो रिप्लाई यार । नो मोर वेटींग । लेट्स सेण्ड अनोदर म्यासेज । कि बोर्ड टक टकटक टक टक  क्लिक । 
कनक :

ह्वाट्स अप् बेब्स ?

वेटींग... 
वेटींग... 
वेटींग ....
नो रिप्लाई यार । अरु सँगै पो व्यस्त छे की मोरी ? विजी इन नाठ्ठी च्याट वीथ अदर गाइज । उसले कस्तो च्याट गर्छी होला ? सिम्पल अर नाठ्ठी । उ सँग स्मार्टफोन भएको कुरा बाउबुढाले खुसक्क भनिसकेका छन् । कनीकाको स्मार्ट फोन कुन ब्राण्डको होला ? पुरानै छ की अप्पो क्यामेरा फोन किनी । अली मोडर्न छे । बेलाबेला म्यासेजहरु आउछन् । उ रिप्लाई गर्छे आफना सुन्दर औलाहरु स्क्रिनमा नचाउँदै । फिंगर विथ पर्पल नेल पोलिस । 
तर उ त अली जेण्टल छे । राजनीति, कला, सहित्य बातावरण आदि उसका रिपोटींगका विषय हुन । कसरी म जस्तो कुनै ब्याकग्राउण्ड नै नभएकोसँग, अपरिचीतसँग च्याटमा गफिन सक्छे । उसका बाउ पो  सल्बाटर्नहरुको दिमाग चाट्न गाउँठाउँ पुग्छ्न । अनि
पर्पलाको यादआयो । कनिकाको पर्पल नेल पोलिस र पर्पला । बेचिएकी पर्पला । विचरी कता होली यस बेला ? सि हयाड एभरी थिंग पर्पल । चेली बेचुवा कुमार नगरकोटीले भुपेन्द खड्कालाई दशहजारमा बेचेको खबर छ । दोचामा । दोचामा बेचिएकी कता भेटिएली । बम्बैमा, साउदी, अफ्रीकी देशमा, मलेसीयामा, 
मन कति चञ्चल छ । कता कता भाग छ । कता उड्छ । हावा झै पानी झै । कनिकाबाट मन पर्पला माथि जम्प गर्यो । अनि चेलीबेटी बेचविखनमा । यो त एन्टामनी लाउँडरीगको केश हो ? फस्यो ब्रो नगरकोटी ?
हे कृष्ण बचाउ यार, यस पार्थलाई ।
“बाबा, भगवानले हिन्दी बोल्छन कि नेपाली ?” एक दिन छोराले सोध्यो । 
“कुन भगवनाले, छोरो?” 
“कृष्ण भगवानले? ” 
“तिमीलाई के बोल्छन् जस्तो लाग्छ ?” मैले जिज्ञास राखे ।
“मलाई त हिन्दी बोल्छन् जस्तो लाग्यो । ”
“मलाई पनि त्यस्तै लाग्छ, बाबु ।” सहमती जनाएँ ।
गीता प्रेस गोरखपुरले छापेको भागवत गीता अध्याय ६ स्लोक ३५ मा श्री कृष्ण र अर्जुनले संस्कृतमा यस्तो संवाद गरेछन् । 
असंशयं महाबाहो मनः दुर्निग्रहम् चलं 
अभ्यासेन तु कौन्तय वैराग्येण च गुह्यते । 
स्कुल पढ्दा आलु र गोदाइ खाने विषय भनेकै संस्कृत । अव संस्कृत बुझेन भनेर कस्लाई गुनासो गर्नु । संस्कृत पढने बेला राहुल, समिर र बेदप्रकासका हिन्दी उपन्याँस पढेर मस्ती गरीयो । वाह, कर्णल रञ्जीतका रोमाञ्चक जाशुसी उपन्यासको कुरा नै बेग्लै । 
हे श्री कृष्ण तिमीले संस्कृत र नेपाली भन्दा हिन्दी बोलेकै जाती लाग्छ । मनको ब्याक ग्राउण्डमा हिन्दी माहाभारत सिरीयलको म्युजीक गुञ्जीयो.....
अर्जुनः मै आपनी मन की चंचलता के कारण आप के उपदेश को पकड्ने मे असमर्थ हो रहा हुँ, आप कृपया मुझे उचित राह दिखाएँ ।
कृष्णः हे महाबाहु कुंती पुत्र, निःसंदेह चंचल मनको बश मे करना अत्यंत कठिन है, किन्तु उपयुक्त अभ्यासद्वारा तथा विरक्तिद्वारा ऐसा संभव है ।
के गरम ओ तारनहार ? मन अति चञ्चल छ । अर्जुन र कृष्णको भर्चुअल च्याट कति सहजै भयो । तर कनकको म्यासेजको रिप्लाई गरिन कनिकाले । यो कनिकाले भाउ खाई यार । मन कनिकाबाट पर्पलामा जम्प गर्यो । घाटघाट दौडिने स्वामी कुमार त विरक्तिन सकेन्न । म कसरी विरक्तिएर एकाग्र होउँ । त्यो माथि पर्पला वेचिएकी छे । 
चेलीबेटी बेचविखानको इतिहास कति लामो छ । सायद माइती नेपालको लाइबे्ररीको कतै होला । अनुराधा कोइराला लामो समय देखि लागि परेकीछन् । अब प्रदेश नम्बर ३ को प्रदेश प्रमुख पनि । बम्बैका कोठीका नेपाली चेलीको चित्कारमाथि शाब्दिक बलत्कार गर्दै, ठेलीकाठेली गद्य, पद्य, काब्य र गितसंगित बने, नाटक र सिरियल बने । के यी सबै मध्ये कुनै एक पनि नगरकोटीले हेरेका रहेछन् कुमार नगरकोटीले र बेचे पर्पलालाई ? 
ओ चञ्चले मन केही स्थीर हो
स्थीरताको अभ्यास गर् ।
वैराग्यको अभ्यास गर
संसार क्षणभंगुर हो
सबै सबै नाशवान छ 
चञ्चलता पनि नाशवान छ 
परमात्मा मात्र सत्य हो 
तर पनि यी नगरकोटीले पर्पलालाई दश हजार रुपीयाँमा किन बेचे हँ। यो अपराध किन गरे ।

Thursday, December 26, 2019

रातो टिकी

पछि सार्दै कालो कपाल
चौडा निधार झनै फराकिलो पार्छिन,
उनी विछट्टै राम्री देखिन्छिन्
जब रातो टिकी
फराकिलो निधारमा लउँछिन ।

त्यो निधारको रातो थोप्लो
मन झै चञ्चले छ,
कहिले बस्दैन एकै ठाउँमा
यता उता सरीरहन्छ,
नाक,आँखा गालामा
बेलाबेलामा पुगिरहन्छ,
रातो टिकी टपक्क टिप्छु,
उनको निधारमा टाँस्न खोज्छुु,
आँखा चिम्ली थाप्छीन्
पहिलेकै ठाउँमा टाँसिदिन्छु,
एक टकले हेरीरहन्छु
के हेरेको ? कहिले नदेखे झै
उनि लाली  छर्दै  लजाउँछिन्
प्रत्येक पटक नयाँ देख्छु
र त तिमीलाई हेरिरन्छु,
उनी झनै रातो हुन्छीन् ।

कुनै विहान त्याे चञ्चले
मेरो निधार, गाला, छातीमा बँसाइ सर्छ,
यताउता खोजेर जब ममा भेट्छिन्,
पछि सार्दै कालो कपाल
चौडा निधार झनै फराकिलो पार्छिन,
अनि टकप्क टिपेर मबाट
जब रातो टिकी
फराकिलो निधारमा लउँछिन ।
आँखाले मौन समर्थन खोज्छिन
म आखै समर्थन दिन्छु
तिमी विछट्टै राम्री देखिन्छ्याै
जब रातो टिकी
फराकिलो निधारमा लउँछ्याै ।
pic Source https://www.artpal.com/gargisalaskar?i=79917-1

Sunday, December 22, 2019

तिमी नमुस्कुराएको साँझ

तिमी नमुस्कुराएको साँझ
मेरो घाम अस्ताउँदैन,
त्यसैले
मुस्कुराइदेउन प्रीयसी ।
घामलाई पृथ्वीको
अर्कै गोलार्धमा जानुछ,
लालीमा छर्दै क्षितीजमा
नौलो विहान जन्माउँनुछ,
विछौनामा लम्पसार परेकाहरु
मायालु अँगालोमा बाँधिएकाहरु
सपनामा डुलिरहेका स्वप्नदर्शीहरु
तिम्रो मुस्कानले अस्ताएको
घामको न्यानो स्पर्समा छाेइएर
सबैसबैलाई व्युँझनु छ,
हामी प्रेमपासमा बाँधिएर
यता निदाई रहँदा
उताको संसार चलाउनु छ,
तिमी नमुस्कुराएको साँझ
मेरो घाम अस्ताउँदैन
त्यसैले
मुस्कुराइदेउन प्रीयसी ।

उफ् !

उफ् !
आज फेरी तिमी ढिलो भयौ ।
थाहा छ तिमीले
के के गुमायौ ?
उदाउँदो सुर्य
हेर्न पाएनौ,
उडिरहेका चराहरु
देख्न पाएनौ,
चिसो चिसो बतासकाे
अनुभुति पाएनौ,
विहानीको आवाज
सुन्न पाएनौ,
उफ् !
आज फेरी तिमी ढिलो भयौ ।
जिवनको यो विहान
भोग्न पाएनौ ।

Thursday, September 5, 2019

राइफलम्यान ११२३७७


राइफलम्यानले संसार त्यागेको एक बर्ष हुनै लाग्यो । उनकाे यादले मनमा एक तमासकाे उकुसमुकुस पारिरहेकाे थियाे ।डायरीकाे पानाहरु पल्टाउँदै गएँ । उनी काठामाण्डाै उपत्यकामा रहँदा डायरीमा यस्तो विवरण टिपेको रहेछु ।

मंसिर १३,२०७४ मंगलबार
कुपण्डाेल ललितपुर 
थापाथली कुपण्डोलको पुलको भित्तैमा टाउको जोतेर को ढलेछ ?
एक छिन घोरिएर हेरेँ ।
भेडाको उनको टोपीबाट कनपट्टीका तिलचामल कपाल झुस्स बाहिर निस्किएको, निधारमा बुढयौलीका धर्काहरु, आँखी भाँै पनि छयासमिस फुलेका, खोपल्टिएका बन्द आँखा, चाउरिएर मुज्जा परेका गाला सेता विच मसिनो काला दाह्री, उमेरले अलि फक्रिएको नाक मुनि पातलो जुँगा, कलेटी परेका ओठ । खैरो गलबन्दी, बाक्लो खैरो कोट, पछाडि भिरेका कालो झोलो आधा जमीनमा र आधा भित्तामा टाँसिएको, घुँडा टालेको पल्तुन मुनी कालो गोल्डस्टार जुत्तामा ढलेको मान्छे अलि नौलो छ । को होला, हँ ? मैले राइफलम्यान एघार तेइस सतहत्तरलाई झल्याँस्स सम्झिएँ । फोनमा नभएको एक हप्ता जति भयो ।
कुपण्डोल र थापाथली जोडने जुम्लयाहा पुल । यौटा धेरै अघि जन्मिएको हो । यो भुपीको स्ट्रेमा म पदार्पण गरे पछी अर्को अवतरण गरेको ।  हालसम्म कति पाइला टेके हुँला यी पुलहरुमा । कहिलेकाँही पाइला गन्दै पनि हिँडे । यही पुलमा कहीले भेँटे, कहिले अपरीचितसँग परिचीत भएँ, कति सँग आँखा जुदाएर बाटो पार गरे । बाँदरहरुले लखेटेका आइमाई र बाच्चाहरुलाई साहार दिएँ । वास्तवमा यो दुई पुलसँग नजानीदो सम्बन्ध विकास भएको । सपनामा समेत कतिपटक यो पुल देख्छु ।
एक दृष्टिविहीन महिला, पुलको स्थायी बासिन्दा, कहिले कुपण्डोल तर्फको त कहिले थापाथली तर्फको छेउ, प्राय पुलको माझ । टुक्रुक्क बसिरहेकी । विहानी यात्रामा, अफिस आउँदा, खाजा खाना जाँदा, अफिसबाट फर्किदा, यही पुलमा ओहोर दोहर गर्छु र उनलाई देख्छु । शान्त तर अनुहारमा कलेश पोतिएको ।
अँ म कुरा गर्दै थिएँ नौलो ढलेको मानिसको । को होला हँ ? मनमा प्रश्न जन्मियो । लवाई हेर्दा बौलाहा र जँडयाहा जस्तो त हैन । कुनै रोगले ढलेको हो की । कसैको बा होलान, छोराछोरी पर्खी राछन् कि घरमा । फर्केर जाउँजाउँ लाग्यो, सोधौसोधौ लाग्यो के भो बा ?–
फेरी ह्वास्स रक्सी पो गनाउने हो की ? रक्सीको जादुमयी संसारमा रमाइरहेकाहरु यतै भटेको छु । रक्सीको स्वादले मातेकाहरु बाटो नै कब्जा गरेको नि देखेको छु । बाटो छेकेर बसेको नन्दीसँग लरबराउँदै दोहोरी खेलेको भेटेको छु ओए शम्भोको बहान, बाटो छोड, के मैले गाँजा र भाँग खाको ठान्छस ? बाटो छोडछस कि दिउँ । सोमरस खाको सोमरस ।
हातमा झुण्डाईरहेको पोकालाई थापाथली का हनुमानहरु खोस्छन्, पर्खालमा बसेर खोतालखुतुल, च्यातचुत पार्छन । सोमपान गरेका ब्रो र हनुमानजीहरु घुराघुरा हुन्छन् ।
ह्या.... छोडदे यार । पाइतलाले अफिस तिर लतार्यो । प्रहरीलाई खवर गरौं की ? फेरी मनको कमलोपाटो उघ्रीयो । गाडीहरु रोकिए । जेब्राक्रस, हतार हतार दोडिएँ, हुँइकिदै आएका बसको बेवास्ता गर्दै पल्लोछेउँ पुगे । आइफोन फोर अस । क्लासिक भैसक्यो । उपाहार पाउँदा तरुनी थिइ । बटन थिच्दा नचल्ने भएको छ । अनअफ बटन थिँचे । दश बज्न पाँच मिनेट मात्र बाँकी देखियो स्क्रीनमा ।
पाइला झनै छिट्छिटो चालेँ । समयमै हाजिर हुनुछ । ल्याप्चे समयमै ठोक्नु छ । नत्र लेटकमर हुनेछु । लेटकमर बन्नु छैन । म निर्दयी बन्न सक्छु तर लेटकमर बन्न सक्दैन । अफिसको नियम यस्तै छ । अफिस हिँडेको मान्छे । मानवीय हैन अनुसाशित बन्नु छ । लोकसेवा आयोगले नैतिक शिक्षा पाठयक्रममा राख्यो रे । कर्मचारी भ्रष्ट भएर । कुनै दिन मानव धर्म सम्बन्धी पाठ पनि समाबेश होला । परोपकारी कसरी बन्नु । जाँच दिदा पाठयक्रमा थिएन । साला अफिसले मानिसलाई रोबट नै बानाउँछ ।
पुलमा तेर्सिएका बुढाको फेरी दिमाग भित्र चलमलाए । झलझली आँखामा... झलझली आँखामा... भैरहयो । मेरो पनि त मुटु छ तिम्रो जस्तै । मेरो पनि त सम्बन्ध छन् तिम्रो जस्तै ।
याद आयो, राइफलम्यान ११२३७७
राइफलम्यान भारत र चिनको, भारत र पाकिस्तानको बोर्डरमा, तुम्लेट र खुकुरी भिरेर, क्यामाफोलेग भएर, हजारौ पुस्ता भन्दा अघि देखि बैरी नभएका सँग, खाली पेट र तक्माका लागि जीवनसँग सिगौरी खेले । अहिले बड्डा भएका छन् । पचहत्तर वर्षका भए । नाम र रासीबाट जन्म मिति र समय मैले नै पत्ता लगाएँ १९९९ साल चैत ७ गते विहान ४ र ५ बजेको मध्ये तिर । राइफलम्यान धर्तीमा पहिलो पटक च्याँ.‍ गरे ।
चालिस बर्षे यौवनमा मै पनि ज्योतिष भै गएँ । त्यो पनि आफनै बाउको । अनि त के, बड्डाको नाममा जीवनकै पहिलो केकमा फुलझरी गाडीयो २०७३ चैत्र ७ गते । राइफलम्यानले सलाई कोरे र बाले फुलझरीको टुप्पो ।
ह्यापी बर्थ डे टु यु
ह्यापी बर्थ डे टु यु
ह्यापी बर्थ डे टु यु
डियर बाबा
गडगड ताली, फुलझरीको झिलिमिली, नातीहरु वारीपरी । ल ल अव काट्ने । राइफलम्यान एघार तेइस सतहत्तरले जिवनमै पहिलो पटकका बर्थ डे केकमा छुरी रोपे । वाह रे कर्म । गीताले के भन्छ  यस सम्बन्धमा । तेश्रो र चौथो अध्याय दोहोराई दोहराई पढिरहेकोछु ।  मजा आइरहेको छ ।
बुहारी सरोजाले उपहारमा ल्याएको ढाका टोपी र नयाँ लुगामा सजिएका छन् राइफल म्यान । उमा कुस्मेली फुफुले चम्कीलो हरियो खादा लगाईदिनु भयो । राइफलम्यान गजक्क परेका छन् । चाउरिएको अनुहारको छाला खुसीले तनक्क तन्किए ।
सबैको अतित हुन्छ । मेरो डिएन दाता राइफलम्यान पनि आफ्नो अतित सुनाउनछन् । एघारा भाना त थियौ, के को बर्थ डे मनाउनु, हामी त मलखातामा र गग्रेटमा जन्मिएकाहरुको ।
राइफलम्यान विरामी भएर काठमाण्डौ आएका हुन् । पाटान हस्पतालमा एक रात । त्यहाँ भएन । गांगालालको इमरजेन्सीमा एक रात अनि सात रात जनरल वार्डमा । अनि प्रतिदिन आठ थान ट्याब्लेटले जिउ सिधा पारेका छन् । सहजै स्वास फेरेका छन् ।
तिन बर्ष अघि दमको जाँच गराउन अल्का अस्पताल जाउलाखेल लगेको थिएँ । राइफलम्यानलाई दम त होइन रहेछ । बरु मुटुको समस्या देखियो । रिपोर्टले माइनर हर्ट अट्याक भएको देखायो ।
भग्यमानी हुनुहँदो रै छ  बाच्नु भयो त्यसबेला ।डाक्टरले भने ।
नियमित सेवन गर्ने भन्दै सात थान औषधि लेखिदिए । बम्बै छँदा हार्ट अटयाक भएको थिया रे । आफै सम्झिए । राइफलम्यान गेटम्यान बन्न त्यता गएका थिए ।
 साना तिनो हार्ट अटयाक्क त्यतिकै पचाइन्छ । बड्डा जोसिए राइफलम्यानको पारामा ।
 गाउँ पुगे पछि औषधी छोडेर निमको पात खाना थाले । निमको पात खान थाले पछि खाना पनि हुँदै गयो । फेरी समस्या दोहोरियो । दमकै जस्तो समस्या देखियो ।
साडेसातको दशा लागिरहेको छ । यस्तै हो यस बेला म सम्झाउँछु । सम्झाउने बाटो । अलि धार्मिक छन् राइफलम्यान । शंख फुकेर, घण्टा बजाएर, विहान बेलुका पुजा गर्नुपर्ने ।
अस्ती बेलुका गाउँबाट फुर्किएका छन् । चुनावी जाममा परे । काठमाण्डौ आइपुग्ने अठचालिस घण्टा लाग्यो । हिजो वेलुका किर्तीपुर गएँ । राइफलम्यान सिरकमा गुटमुटिएर बसेका । राइफल म्यान हिउँद भरी यतै बस्ने संम्भावाना छ । 
मेरा राइफलम्यान त सुतिराछन् किर्तीपुरकाे टहरामा । थापथलीकाे पुलमा ढलेका बुढा यस बेला के गर्दै हाेलान । पुलबाट उठेर हिँडे की त्यही लडिरहेका हाेलान् । 

Friday, July 5, 2019

बेचिएकीको कथा

हामी त यौट कथा न हौ
कसैले लेखेको,
कसैले भोगेको,
कसैले देखेको,
कसैले सुनेको
हामी त यौट कथा न हौ ।
कसैको कथामा,
सुनकेसरी परी हुन्छन्,
बायुपंखी घोडामा राजकुमार आउँछन,
सपनाको संसारमा उडाएर लैजान्छन ।
कसैको कथामा,
अल्लारे नानीहरु हुन्छन्
टाटाको गाडीमा रिकुटेहरु आउँछन,
बम्बैको कोठीमा फकाएर पु्र्याउँछन,
अनि त हामी
कथाबाट समाचार बन्छौ,
समाचारबाट मुद्दा बन्छौ,
पुलीस, वकील, न्यायधिस बन्छौ,
बहस, छलफल, दण्डसजाय बन्छौ,
बन्नुपर्ने सबै बन्छौ ।
अन्तमा
बर्षौ वितेपछी
कालोमसीले कागजमा लेखिएको,
अत्यन्त रोचक फैसला बन्छौ
यसरी हामी फगत यौटा कथा बन्छौ ।