Thursday, March 24, 2022

तिमी त मान्छे पो रहिछौ ।

 मेरा हरेक झुठलाई

तिमी सत्य ठान्छौ,

म तिमीलाई जुन भन्छु

तिमीले आफैलाइ जुन ठान्छौ,

तिम्रा ओठलाई गुलाफ भन्छु

ओठलाई गुलाब मान्छौ,

हिँडाईलाई गजनी भन्छु,

आँखालाई मृगनयनी भन्छु,

बोलीलाई कोकीला भन्छु,

म जे भन्छु 

आफैलाई त्यही मान्छौ ।


एक दिन म भँमरा बन्छु

तिमीलाई पारिजात भन्छु 

त्यसैलाई माया ठान्छौ 

जब विहान भुँईमा झर्छयौ

सपनाबाट ब्युँझन्छौ

अनि थाहा पाउँछौ

तिमी त मान्छे पो रहिछौ ।


Wednesday, March 9, 2022

युद्ध लडिरहेका छौँ ।

युद्ध हुनुपूर्व

सँगै बाँच्नेमर्ने बाचा गरेर

सँगसँगै निस्किएका थियाैँ

बाटोमा मोड आयो,

विचारका उकाली ओराली आयो,

दाना पानीको सवाल आयो,

तिमी र म शत्रू भयाैँ ।


अनि युद्ध शुरु गर्याैँ

कि तँ छैनस् कि म छैन 

चिच्याउँदै मुठीहरु कस्यौँ

खुकु्री खुँडाहरु निकाल्यौँ 

ताक्दै अघिपछी गरि रहयौँ

प्रहारमाथि प्रहार गर्दै रहयौँ,

तन घाइते भयो

मन घाइत भयो

यता पछारियौँ

उता पछारियौँ

अनि थकित भयौँ 

युद्ध विराम गर्यौँ ।


युद्ध यसरी नै चलिरहेको छ,

कहिले मिले झैँ गर्छौँ,

कहिले लडे झैँ गर्छौँ,

कहिले रोकिए झैँ गर्छौँ,

तर 

हाम्रा पाईलामा पिल्सिएर

पहेँलिएका घाँसहरु, 

मरेका कमिलाहरु,

हाम्रा चित्कारले आत्तालिएका

भँगेरा, जुरेली र गौथलीहरु,

हाम्रा लाशहरु पर्खिरहेका

गीद्ध र चिलहरु,

देख्दै देखेनाैँ

किनकी 

हामी युद्धमा छौँ,

युद्ध लडिरहेका छौँ ।