Tuesday, September 20, 2022

म ध्यानमा छु

ढाड र शिर सोझो राखी

कोमलताले आँखा बन्द गरेर

पलेटी कसेर बसेको छु 

म अहिले ध्यानमा छु ।


चोरी र बुढी औला जोडेर

खुम्चिएको घुँडा माथि 

हत्केला राखेको छु

लामो स्वास तानेर फोक्सो भरेँ 

एक पल रोकिएँ, 

उकुमुकुस भयो

विस्तारै मुखबाट स्वास फालेँ 

फेरी लामो स्वास नाकबाट ताने

विस्तारै मुखबाट स्वास फालेँ

शरिर विस्तारै शिथिल बनाउँदै लगेको छु

मलाई ध्यान गर्न सिकाउनेले 

यस्तै गरि सिकाएको छ

जस्तो सिकायो त्यस्तै गर्दैछु

म अहिले ध्यानमा छु ।


म शिथिल हुँदै गएको छु

मन शान्त हुँदै गएको छ 

श्वास प्रश्वासमा ध्यान केन्द्रीत गरेको  छु

नाथ्रोबाट भित्रिरहेको श्वास

श्वास नलि चिस्याउँदै फोक्सोमा भरिएको छ

छाती पेट माथि उठेकोछ 

विस्तारै छाती पेट तल झर्यो

नाकाबाट तातो श्वास विस्तारै बाहिरियो

भित्र बाहिर गरिरहेको श्वास

ध्यान लगाउँदै छु 

म अहिले ध्यानमा छु ।


ओशो सम्झीएँ, 

तपोबनमा  नाँचिरहेको छु

बुद्ध सम्झीएँ

पिपल बोट मुनी

शिर वरीपरी आभामण्डल

कोमलताले आँखा चिम्लिएका

वरीपरी बाघहरु बसिरहेका ।

बाघको जनसंख्या बढेको छ

संरक्षकहरु खुसी छन्

गाउँलेहरु दुखी छन्

दुखको कारण छ बुद्ध भन्छन्

छिमेकीले बुद्ध माथि दावी गरेको छ

बुद्ध वर्न इन नेपाल 

हामी हक जताई रहेका छौ

अहो, 

म अहिले ध्यानमा छु ।

मन श्वास तिरै फर्काएँ

नाकाबाट तातो हावा 

विस्तारै बाहिरियो

भित्र बाहिर गरिरहेको श्वास

ध्यान लगाउँदै छु ।


विचारहरु नरोक

विचारहरुको छाल हेर

उसले सिकाएको थियो

मन चञ्चल छ

भित्र बाहिर गरिरहेको श्वासमा

अडिनै सकिरहेको छैन

विचारको छालहरु हेर्दाहेर्दै

समुद्रको तटमा उभिए

पत्रपत्र पानीको लहर

पाइतला भिजाएर गयो

परपर सम्म छाल बग्दै गएको छ

क्षितिजमा समुद्र र आकास जोडिएको छ

निलो आकाश र सागरको मिलन

प्रेमि प्रेमीका

श्रीमान श्रीमति

तरकारी ल्याउनु उनले भनेकी छन्

कतै तरकारी कुहेको विक्री नभएर

यता मुल्य अचाक्ली बढेको छ

किसानले मुल्य पाएका छैनन्

के ल्याउने होला ?

कालिमाटी तरकारी बजार

भिडभाड छ

भिडमा हराएँ 

अहो, 

म अहिले ध्यानमा छु ।

मन श्वास तिरै फर्काएँ

नाकाबाट तातो हावा 

विस्तारै बाहिरियो

भित्र बाहिर गरिरहेको श्वास

ध्यान लगाउँदै छु ।


Thursday, September 8, 2022

साँझको पर्खाईमा छु

ताप सेलाउँदै गएको

उज्यालो हराउँदै गएको

चराहरु बास बस्न गएको

त्यो मधुर साँझको पर्खाईमा छु ।


कतै बजेको मधुर धुन झै

बेरिदै आएको अँध्यारो

आँखाले नियाँल्नुपर्ने

अपरिचीत आकृती

आफु सँगै बोकेर आउने

त्यो अनजान साँझको पर्खाईमा छु ।