Sunday, November 6, 2011

सम्झिल्याउँछु मेरो देश, मै हुँ जस्तो लाग्छ


रमाईलो लागिरहेको छ । कवि मञ्जुललाई पढिरहेको छु । उनको बाल्यकाल सँगै हुर्कर्दैछु । दोडिदैछु । उफ्रदैछु । हाँस्दैछु । नाच्दैछु ।  उनले गरेका, के के मैले पनि गरेँ ?, सम्झदैछु । अहो! बाल्यकाल । कस्तो अचम्मको हुन्छ  है ? निकै रमाइलो गरेका रहेछन मञ्जुलले बाल्यकालमा । मलाई यस्तै लाग्यो । 

उनको लेखाई मलाई ज्यादै मन पर्यो । मैले पनि त्यस्तै लेख्न पाए कस्तो हुन्थ्यो । उनले त लेख्दा रहेनछन्, अक्षरसँग कुरा गर्दारहेछन् । आफै शब्द बन्दा रहेछन्, वाक्य, परिच्छेद अनि सिंगै पाठ पनि बन्दा रहेछन् । प्रत्येक हरफमा मज्जा सँग गफिदा रहेछन् । शब्दहरुमा मुसुक्क हाँस्दारहेछन् । हाँसी हाँसी बोल्दा रहेछन् । उसै गरी, जसरी जमलमा उनी बोलेका थिए ।

यी हरप टाइप गरिहँदा मैले मञ्जुल सँगै गायक रामेशलाई
चिनी सकेको छु । उनको गीतमा पहिलो पटक सँगीत भरिदिने, मञ्जुलको साथी रामेश ।

                                                  सैलुड. जाने पहिलो घाम मेरै रुप ताक्छ
सम्झिल्याउँछु मेरो देश, मै हुँ जस्तो लाग्छ
                                                 .............................

नढाँटी भन्नु पर्छ, मैले यो गीत कतै बजेको सुनेको छैन । तर शब्दले मलाई खुत्रुकै पार्यो । भाव गजबको छ । त्यसै भनेनन् होला बालकृष्ण समले मञ्जुललाई दार्शनिक जस्तो । त्यसै युगकबि पनि मञ्जुल सँग लठ्ठिएका रहेनछन् । 

देबघाटमा डुंगाहरु जोडेर नदिमाथी उनले गाए, यो गीत । आहा! कस्तो मिठो । पढ्दा त यती मिठो छ । गाउँदा कस्तो सुनियो होला ?

कस्तो मेरो कोठा बोल्दै नबोल्ने
मनको कुरा के हो, खोल्दे न खोल्ने

गाएर बस्छु म, सुनी मात्र र'न्छ यो
नाचेर बस्छु म हेरी मात्र र'न्छ यो

विछ्यौनालाई हेर्छु म, सुती मात्र दिन्छ ऊ
भित्तालाई हेर्छु म, उठी मात्र दिन्छ ऊ

दुःख बोकी पस्छु म, नानी भन्न सक्दैन
सुख बोकी पस्छु म, बाबु भन्न सक्दैन

(पहाडजस्तो म – बाटोजस्तो म, पेज १८२)

म कोठामा छु । मैले आमालाई सम्झे । घरलाई सम्झे । हाँसो र खुसी । आँसु र दुःख । तितो मिठो सबै सम्झे । सबै सबै सम्झे । यो गीत पढ्दा । पटक पटक पढिरहेको छु । यसैले मञ्जुलको यो संस्मरण मैले ढिलो पढिरहेछु । मलाई छिटो पढ्दा छिटै सकिन्छ भन्ने डर लागि रा छ । एक हप्ता हुन लाग्यो, मैले चपाई चपाई पढीराछु  ।

खेल लेखेका छन्, घर भित्रका पीडा र झेल पनि लेखेका छन् । सबै भन्दा बढी मञ्जुलले सबै सबैको, धेरैधेरै माया लेखेका छन् । पहाडजस्तो म – बाटोजस्तो म भित्र ।  

No comments:

Post a Comment