Monday, November 2, 2020

नौलो यात्रा

 यो नौलो यात्रामा 

भोक लागे पनि

भोक लाग्यो भन्नुहुन्न,

पेटमा पटुका कसेर

हिँड्नु पर्छ चुपचाप,

भोको पेटको अवाज 

कसैलाइ सुनाउनु हुन्न,

अघाएकाहरु निद्रामा छन्

सपना विथोलिन सक्छ

यो नौलो यात्रामा 

भोक लागे पनि

भोक लाग्यो भन्नुहुन्न ।

Saturday, October 31, 2020

जुन

मनकाे अकाश  भरिएकाे छ

जुनकाे  चमकमा चम्किएकाे छ ।

ताराहरु हराएका छन्

सायद जुन देखि डराएका छन्

यति माेहक जुन 

कसरी डर लाग्दाे हुन सक्छ

यति  शितल जुन

कसरी अप्रीय हुन सक्छ ।

मनकाे अकाश चम्किएकाे छ

चाैतर्फि जुन भरिएकाे छ।

Monday, September 7, 2020

साेह्र श्राद्ध

 ए पितृ हो !

हाम्रो विगत 

रक्त रञ्जीत

त्रासदीपुर्ण थियो,

फोहर थुप्रिएको

घिन लाग्दो थियो,

लाज नछोपिएको 

जंगली थियो,

तर पनि जे जस्तो थियो

विगत हाम्रो थियो ।


ए मेरा प्रिय पुर्खाहरू !

चारपाटे मुँडिएर डाँडा काटदा

पाइतलाका रगतका धारो

च्वाँच्वाँ गर्ने सुगुरको पाठो

जिजु बाले बोकेको डोको

आँसु पसिनाको नुनिलाे खोलो

हिउँको सुस्केरा

तिर्खाले सुकेको घाँटी

एक घुटको पानीको तड्पन्

टुलुटुलु हेर्ने निर्दाेष पँधेरो

हो सारै आततायी थियो

तर पनि जे जस्तो थियो

विगत हाम्रो थियो ।


ए मेरा पुर्वजहरू !

खालीपेटको दमाहा बजाएर

नरसिंहा र सहनाई घनकाएर

जिउँदै चितामा सुताईएकीको

चित्कार लुकाउइदिनेहरु

सारंगीमा रेटिएर प्राण त्यागेकाहरु

हर रात सपनीमा 

चिहानबाट निस्किएर

विगतको त्रासदीपुर्ण

चलायमान तस्वीर देखाउँछन

हो सारै आततायी थियो विगत

तर पनि जे जस्तो थियो

विगत हाम्रो थियो ।


ए मेरा श्रदेयहरू !

मन्दीरमा गजुर राख्दाराख्दै

खसेर मरेकाहरु

हातले देवता कुँदनेहरु

नागै बस्त्र सिलाउनेहरु

आफ्नै गर्दन छिन्ने

खुकुरीमा साँध लाउनेहरु

मन्दिरको देवी देखाउँदै रुँदै सुनाउँछन्

त्यो नदेखिएको, नलेखिएको

लाज नछोपिएको जंगली कथा

हो सारै आततायी थियो

तर पनि जे जस्तो थियो

विगत हाम्रो थियो ।


जब साेह्र श्राद्ध शुरु हुन्छ

जिउँदै जलाईए ति आमाहरु

अंगभंगभइ नरक पुगेकाहरू

अल्पायुमै खुकुरीका प्रिय भएका

हजारौहजार अतृप्त पितृहरु

धर्तिमा ओर्लिन्छन् 

सोह्रै दिन धिक्कार छन् 

ए किन सम्झिन्छस 

तँ विगतहरुलाई

ए किन दलछस नुनचुक 

तँ खाटाहरुमा

भो चाहिएन पिण्ड र तर्पण

जानु छैन त्यो कथित स्वर्ग

तर पनि

अस्वीकृत अस्तित्वलाइ 

बागमतीको घाट उम्भ्याएर

पिण्ड दान र तर्पण दिइदैछु

हे मेरा पितृहरु हो !

हे मेरा पुर्वजहरू हो !

मलाई न तर्साओ

मलाई न थर्काओ

अब त तिमीहरु स्वर्ग जाओ ।


रिस

 रिसाएको छु

रिसाउनु हुन्न थाहा छ,

तर पनि रिसाउँछु ।

किन रिसाउँछु

कारण थाहा हुँदैन ।

कहिले काहीँ किन रिसाएँ ?

सम्झेर मुर्छा पर्ने गरी हाँस्छु

कहिले

तरकारीमा नुन पुगेन भनेर रिसाएँ,

कहिले नुन बढी भयो भनेर रिसाएँ,

घाम लाग्दा पोल्यो भनेर रिसाँए, 

नलाग्द किन लागेन भनेर रिसाएँ,

यसो सोच्छु

मैले सोचे जस्तो नहुँदा म रिसाउँछु

कहिले त सोचे जस्तो मात्र किन भयो ?

झन राम्रो हुनु पर्ने भनेर रिसाउँछु ।

यो भावनात्मक आवेग

घोडा झै उफ्रीदै आउँछ,

लगाम लगाउँ नै विर्सन्छु,

आँखा राता पार्छु

स्वास बढ्छ

जिउ तातिन्छ

मुठी कस्छु

खुट्टा बजार्छु 

बेस्सरी चिच्याउँछु

रिस थामिदै जान्छ 

अनि थाहा पाउँछु

भावनामा भुकम्प आएको 

तन्तुतन्तु क्षतविक्षत पारेर

भौतिक संसार अस्तव्यस्त पारेर

उ छोडेर गएकोछ ।

टाउको दुखेकोछ,

तरंगीत नशा शिथिल हुँदैछ, 

बढेको मुटुको गति सुस्ताउँदैछ

स्वास लयमा आउँदैछ

अनि

नरिसाउने प्रण गर्छु,

तर पनि 

फेरी फेरी रिसाउँछु

जसरी अहिले 

रिसको कविता नलेख्न सकेर

रिसाएको छु ।


Thursday, September 3, 2020

बा

बा

बाटो हो

कुल्चेर सन्तान गन्तब्य पुग्छन्

विर्सछन् यात्राकामार्मिक चित्रहरु 

खाल्डाेहरु

उकालोहरु

ओरालोहरु

समथर फाँट

कलकल बग्ने खोला

थकान मेट्ने चौतारी ।


बा

समाउने औला हो,

आड दिने काँध हो,

टेक्ने पाइतला हो,

संसार देखाउने आँखा हो,

स्वाभिमानी शिर हो,

अदम्य सहाशी मुटु हो

यती मात्र कहाँ हो र?

बा

ओत दिने छानो हो

तातो नाना हो

भोकको गास हो

संघर्षको पसिना हो

गल्तीमा सजाय हो

आँसु लुकाउने माया हो

साँच्चै बा भनेकेा

बा मात्रै हो

बा को पर्याय केही छैन

Thursday, August 27, 2020

तिमी नहुँदा

 ए प्रीय !
मुटुमै सजाएको छु 
भन्नु त झुठ हो ।
स्पन्दनमा धडकिन्छौ 
भन्नु पनि भ्रम हो ।
मलाई सामिप्यता चाहिन्छ,
मलाई कोमल स्पर्स चाहिन्छ, 
निकट बसेर बोलिरहु,
स्वर सुनेर गमिरहन्छु ।
आँखा जुदाएर हेरिरहु,
यसै गरी बसीरहन्छु ।
यताउता गरिरहु
पदचाप सुन्दै लेखिरहन्छु ।
तिमी काम गर्दैछौ
र मलाई सोच्दै छौ
म पनि त काम गर्दैछु
तिमीलाई नै सोच्दै छु
ए प्रीय !
टाडीने कुरा गर्दै नगर
तिमी नहुँदा
म भएर पनि म हुँदैन ।

Monday, June 1, 2020

२०५९ जेष्ठ १९ गते शुक्रबार

डायरी लेख्ने बानी राम्रेा हेा । यसले विगतमा कुनै विषयमा वा घटनामा के सेाचिन्थ्येा भन्ने जानकारी लिन आफैलाई मद्दत पुग्छ । २०५९ जेष्ठ १९ गते शुक्रबारका दिन नेपालकेा ईतिहासमा निकै दर्दनाक घटना घटयेा । यस घटनाले नेपाली ईतिहासलाई नयाँ मेाड दियेा । म त्यस समयमा सानेपा ललितपुरमा बस्थेँ । एमविए सकेर जागीरकेा खेाजीमा थिएँ । दिनभरी हल्लियेा । वेलुका हेाम टियुसन पढायेा । ज्यान पाल्ने र किताब किन्ने जेाहेा चलायेा । अनि विहान र राती लेाक सेवाकेा तयारी गर्येा ।
द्वन्दकालकेा समय थियेा । सञ्चार माध्यम भरि मृत्यु हाँस्थ्येा मृत्यु नाँच्थ्येा मृत्यु नै बज्थ्येा । यस्तेा समयमा हाम्रै छातीमा घटेकेा यैाटा नैालेा मृत्युकेा समाचार अन्तराष्ट्रिय सञ्चार माध्यम बजिरहेका थिए । हाम्रा रेडियेा र टेलिभिजन एकेाहेारेा शेाक धुन फुकिरहेका थिए । मेरेा पनि कलम रेाकिएकेा थियेा । डायरीकेा पानामा करिव एक हप्ता केही लेखेकेा थिएन । जेष्ठ २५ गते यस घटनाका विषयमा निलेा अक्षरमा केही पेज लेखेकेा रहेछु । निलेा मसि समय वित्दै जाँदा मधुरेा र धमिलेा हुँदेा रहेछ । त्यसैले डायरीकेा पानाकेा इडिट गरेर कालेा बनाएकेा फेाटेा तल राखेकेा छु ।




Tuesday, May 26, 2020

जेष्ठ १३ शनिबार २०६९ डायरी

इतिहासमा आजकेा दिन पनि रमाइलेा भएकेा रहेछ । पुरानेा डायरी पल्टाउँदै जाँदा येा पाना भेटियेा ।


Saturday, May 16, 2020

कठै ! कमरेड...

कठै ! कमरेडलाई आजभोलि
पटक्कै निद्रा लाग्दैन ।

सुतेका तल्लाहरुलाई
अन्तराष्ट्रिय गीतले ब्युँझाइयो,
सारा मानिसको यौटै जाती
गाउँठाउँमा झ्याली पीटाइयो,
अब उनिहरु ब्युँझिसके
त्यसैले 
कठै ! कमरेडलाई आजभोलि 
पटक्कै निद्रा लाग्दैन ।

प्रथा परम्परा के हो ?
भरखर बुझ्दैछन् कमरेड,
धर्म संस्कृत संस्कार के हो ?
ब्यवहारिक बन्दैछन् कमरेड,
अल्लारेमा उरालेको समानताको नारा
पचासपछी गलपासो बन्दैछ कमरेड,
ननिदाएको धेरै भयो
निदाउँने प्रयासमा छन् कमरेड,
कोल्टे फेर्छन पढेको दर्शन भेट्छन्
भित्तो हेर्छन मार्क्स लेनिन  देख्छन्
खै के भो ? के भो ?
कठै ! कमरेडलाई आजभोलि 
पटक्कै निद्रा लाग्दैन ।

छोरी विहे गर्ने भएकी छ
प्रेम विबाह गर्छु भन्छे,
कुल जात मिल्ला नमिल्ला
चिन्तीत छन् कमरेड,
छोरो गर्लफ्रेण्ड लिएर हिँडछ
गोत्र र जात भन्दैभन्दैन
दिक्दार छन् कमरेड,
बुढयौलीले छोपेर हो की ?
हिजोका गलत, 
सबै ठिक लाग्न थालेको छ
रामनामी ओडेर 
राम भज्न मन लागेको छ
उनलाई औडाहाले छाेपेको छ 
मनको शान्ति खोज्न
के गरौ कसो गरौ भएको छ
त्यसैले 
कठै ! कमरेडलाई आजभोलि 
पटक्कै निद्रा लाग्दैन ।


Friday, April 24, 2020

शब्दको अत्याचार

शब्दहरु कति धारिला थिए
फुर्सदमा जब म
हत्केला हेर्छु,
पुर्खाको संघर्षको ठेला देख्छु,
पिठयु छुन्छु
अत्याचारको सुम्ला भेट्छु,
निधार छाम्मु
डामिएको खत भेट्छु,
मलाई थाहा छ
इतिहासमा जालझेल गरी
लेखिएका कठोर शब्दहरु
धमिराले मक्किसकेका छन्,
तर पनि समय साँक्षी छ,
मेरा बा र बाका पनि बाहरु
मेरा आमा र आमाका पनि आमाहरु
काँडे शब्दहरुका कोर्रा सहँदै
काब्यका फिलुंगा टेक्दै
अपमान र घृणाका पहाड नाघेर
मलाई समथर भुमिमा ल्याएका छन्
यो उन्मुक्त धर्तिमा
म दौडिएको रिस गर्नेहरु
नयाँ ब्यन्जना रच्दै गरुन
म हिँडेकोमा जल्नेहरु
नयाँ काब्य जलाउँदै गरुन
म हाँसेकोमा मुरमुरिनेहरु
शोक गित गाउँदै गरुन
किन की
योगी य र ऋषि ऋ
क्षेत्रिय क्ष र ज्ञानी ज्ञ
यातना दिँदा दिँदा थाकेका छन
यी सुन्दर अक्षरहरु
घोच्ने शब्दहरु बनाउने छैनन् ।
उखान र टुक्काहरु,
आरोह र अवरोहहरु,
छन्द र अनुप्रासहरु,
विम्ब र प्रतिकहरु,
निष्प्रभावी छन्
मलाई दुखाउने भावहरु
अव काब्यहरुमा भेटिने छैनन् ।

Tuesday, April 21, 2020

शिल्पी

शुन्य थियो,
अन्धकार थियो,
शिल्पी शुन्यतामा ठिङ्ग उभियो,
मयललाई डल्लो पार्याे,
ज्वरोले ततायो,
चलायो ज्याबलहरु
टुक्राटुक्रा पार्याे,
फेरी जाेडजाड गर्याे,
अनि रच्यो  ब्रह्माण्ड
घाम जुन र ताराहरु
अनी बचेको सानो टुक्रा नचाउँदै
कतै खाल्डो खन्याे,
कतै थुम्को उठायो,
अनि जन्मायो जीवन्त पृथ्वी ।

पसीनाको नदी थप्यो,
आँसुको समुद्र जमायाे,
थकानकाे चिसाे सुस्केराले
पहाडमा हिउँ जमायो,
रंगविरंग बनस्पती
केस रोपेर उमार्यो,
टुक्राटुक्रा पारेर हाडछाला
प्राणी जगत जन्मायो,
अनि आफै टुक्रिदै खिईदै
थप्यो ढुकढुकी र जीवनको हुटहुटी
अनि आफै मान्छे बन्यो ।
उ मान्छे बने पछी टेक्यो
पहिलो पाइला धर्तिमा
चाउरिएको निदार खुम्चयाँउदै
बन्द आँखाहरु विस्तारै खोल्यो,
क्षितिज हेर्यो
आफनाे श्रृष्टि देख्यो
चराहरुले उज्यालो फिँजाएको
हिमश्रृखंलाहरुबाट प्रेमधारा वगेको
समुद्र बोकेको हावाले विश्वासको बर्षा गरेको
उ खुसी हुँदै नाच्न थाल्याे
नाच्दा नाच्दै देख्याे
विग्राएका आकृतीहरु
चुँडिएको सपनाका लहराहरु
च्यातिएका विश्वासहरु
आफैलाई देवता  घोषणा गरेका आदेशहरु
उ दिक्दार भयाे
अनि अलप भयो शुन्यतामा
सायद
उ सुन्दर श्रृष्टि गर्दै छ ।

Monday, April 13, 2020

मेराे छिमेकी

मेरो घरको अगाडि
यौटा अपांग बस्छ
दाहिने खुट्टा खोच्याउँदै
कहिले गोडा लतारदै
आँखै अगाडि ओहरदोहर गर्छ
हरेक साँझ उ मलाई गाली गर्छ
आ.... थु.....
मैले चियाउने झयालमा थुक्छ
उसको घर अगाडि बसेकोमा
उ पिडीत छ,
पिँडीमा नवसि घरभित्र बसेकोमा
उसलाई ठुलै रिस छ
टाउको निहुँराएर हिँड्नु पर्नेमा
शिर ठाडो पारेर हिँडेकोमा
उ चिन्तीत छ ।

पहिले पहिले मलाई रिस उठथ्यो
इटाको जवाफ ढुंगाले दिन्थे
हरेक साँझ टोलमा तमासा हुन्थ्यो
कोही मेरा पक्षम हुन्थे
कोही उसका पक्षमा हुन्थे
मेरा पक्षमा नलाग्ने सबै दुस्मन देख्थे
एक पटक म प्रहरी चौकी पनि गएँ
उसलाई नाँगेझार बनाएँ
तर आर्को साँझ फेरी उस्तै भयो
सधै झै फेरी तथानाम गाली गर्यो
गर्नुपर्ने सबथोक गर्यो
खै किन हो ?
आज एक शब्द बोलिन्
उ प्रति साह्रै माया लागेर आयो
उ भित्र कुहिएर बसेको विचार
पिलो फुटेर पीप बाहिर आयो
गाली गर्दागर्दा उ थाक्यो
ए किन बौल्दैनस् मलाई डाक्यो
अब उ शान्त छ
मलाई गाली गरेको सुन्दैन ।

Tuesday, April 7, 2020

नलेखिएकाे कविता

नलेखेको धेरै भो,
आज त कविता लेख्छु,
दुःख लेख्छु,
सुख लेख्छु,
माया लेख्छु,
घुणा लेख्छु,
मिलन/विछोड लेख्छु
हो, म
आज कविता लेख्छु ।

तर कवितामा के लेख्ने ?
जिवन लेखौं
कि मृत्यु लेखौं
हाँसो लेखौं
कि आँसु लेखौं
फूल लेखाैँ
काँडा लेखौं
सोच्दै छु
कवितामा के लेखौं ?

अहाे कठिन पाे रहेछ,
लेख्छु भनेर लेखिँदो रहेनछ कविता
सोच्छु भनेर सोचिँदो रहेनछ कविता
भरियाको सुस्केरामा सुसेलिन्छ कविता
भोका नानीहरुको पेटमा चिच्याउँछ कविता
आमाका आँखाबाट  बर्सिन्छ कविता
अहो सहजै
नलेखिदो रहेछ कविता ।

कविता  लेख्न
आमा बन्नु पर्छ,
भरिया बन्नु पर्छ,
बालक बन्नु पर्छ,
हावा बन्नु पर्छ,
पानी बन्नु पर्छ,
पूmल बन्नु पर्छ,
काँडा बन्नु पर्छ,
आगो बन्नु पर्छ,
खरानी बन्नु पर्छ,
अनि पो लेखिन्छ कविता ।

Saturday, April 4, 2020

लकडाउन काेराेना डायरी १

शनिवार, चैत्र २२, २०७६

लकडाउनको आज बाह्रौं दिन । लेख्न र पढ्न पटक्कै मन लागेको छैन ।  विहान छ बजे ब्युँझिएँ । उज्यालो नेटवर्कको काया कैरन लगाएँ । कोरोनाको कहर विश्व भरी फैलिएको समचार सुनाउँदै थियो, खासै ध्यान दिएन । तथ्यांक पनि सुनिन । औषधि र मेडीकल उपकरण खरिदको भ्रष्टाचारको खबर पनि बजिरहयो । नेपाली सेनालाई सरकारसरकारमार्फत खरिद गर्न दिने विषय पनि थियो । सायद, म विचार सुन्य थिएँ  । मनमा कुनै प्रतिक्रिया नै थिएन । काया कैरन सकियो । श्रीमतिले कान्तिपुर डायरी लगाउन भनिन् । रोवट झै मोबाइल रेडीयोमा कान्तिपुर डायरी लगाएँ ।  

यसमा पनि कोरोनाको प्रकोप, एसियाली विकास बैकको आर्थिक वृद्धि घट्ने प्रक्षेपण, सेनाले खरिद गर्ने विषय, नेपाल भारत सिमामा विचल्ली परेका नेपालीका विषयमा समाचार थिए । म विचार शुन्य नै थिएँ । समाचारमा ध्यान थिएन ।

म उँठे । नित्यकर्म सके । कान्तिपुर हेड लाइनर बोल्नेको स्वर चिने झै लाग्यो । नेकपा सभासद रामकुमारी झाँक्री बोलिरहनु भएको रहेछ । खासै ध्यान दिएन । मनमनै सोँचे सबैले यौटै कुरा त भन्ने हुन नि । सवै विग्रीयो, खत्तम भयो । सरकारले केही गरेन । गर्नै सकेन । 

रेडियो सानै देखि सुन्दै आएको हुँ । घरमा ठुलो पानासोनिक रेडियो थियो । बाले विहान पाँच बजे नै रेडियो खोल्थे । निकै मिठो धुन बजथ्यो । त्यस पछि यौटा भजन, अनि दिनभरिको कायक्रमको रुपरेखा । पहिलो कार्यक्रम हुन्थ्यो, धार्मिक कार्यक्रम । छ बजे संस्कृतमा समाचार,  त्यसपछि कुन कार्यक्रम हुन्थ्यो विर्सिएँ । सात बजे समाचार । यो समय मुना चियाको हो भन्ने विज्ञापन अझै पनि कानैमा बजे झै लाग्छ । बालाई कहिले काहीँ उही समाचार सुन्दासुन्दा दिक्दार लाग्थ्यो । आ.....कति सुन्नु आची गरीबक्स्यो र सुसु गरीबक्स्यो, नयाँ केही भन्ने हाेइन  भन्दै रेडियो बन्द गरिदिन्थे । हामी काम गर्न लाग्थ्यौं ।

मलाई रेडियो नेपालमा शनिबार दिउँसो बज्ने नाटक मनपथ्र्यो । नाटक सुनेर धेरै पटक रोएको पनि छु । दशै शुरू भएपछी घटास्थापनाबाट  विहान एघार बजेसम्म मात्र बज्ने रेडियो नेपाल दिनभरी नै बज्थ्यो । बाह्र बजेतिर दुर्गासम्बन्धी नाटक प्रसारण  हुन्थ्याे । दशैभरी प्रत्येक दिन सुन्थे । माघ महिनाभरी बेलुका स्वस्थानी ब्रतकथा नाटक पनि आमासँगै नियमित सुन्थे । प्रत्येक शुक्रबार वेलुका रोदी भन्ने कार्यक्रम बज्थ्यो । मथिल्लो घरे कान्छाबालाई साह्रै मनपर्ने । उनीसँगै सुन्थे । कार्यक्रममा लोक दोहोरीहरु बज्थे । त्यसै गरी हरेक शनिबार बेलुका चौतारी कार्यक्रम सबैजना रेडियो वरीपरी झम्मिएर सुन्थ्यौ । मैले एक्लै सुन्ने कार्यक्रम पनि थियो । त्यो कसैले बुझ्दैन थियो । म आफैले पनि बुझ्दैनथे । तर पनि मैले सुन्थे । म्युजिकमेनिया । अँग्रेजी गीतहरुको कार्यक्रम थियो । दिउँसो बज्थ्यो । रविन शर्माले चलाउँथे । त्यो कार्यक्रम बज्ने क्न्ट्री रोड टेक मी होम भन्ने गीत मलाई मजा लाग्थ्यो । सुनीरहन मन लाग्ने । धेरै पछि मात्र थाहा युटियुवमा फेरी त्यो गीत सुन्न पाएँ ।

काठमाण्डौ छिरेपछि रेडियो सुन्ने भन्दा पनि पत्रपत्रिका पढ्न थाले । एफएम चल्न थालेपछि सुरुवाती समयमा रेडियो सगरमाथा निकै सुनियो । तर अहिले रेडियो त्यती सुन्दैन । झन समाचारहरु पनि त्यती सुन्न मन लाग्दैन । 
थाहा पाए देखिनै समाचारहरुले देश विग्रीएको कुरा मात्र गरे । सकारात्मकता त्यती विक्दैन । समाचार पनि नकारात्मक नै विक्छ । 

समाचार सुचनाको व्यपार हो । यसमा मुनाफा हुन्छ । जती बढी विक्री हुन्छ उती नै बढी मुनाफा । अझ खत्तमै भयो, विग्रियो भयो, ध्वस्त भयो भनेर समाचार लेख्ने र पढ्नेहरु सबैभन्दा सप्रिएका छन् । गजब त के छ भने देश खत्तम छ भनेर भन्नेहरु याे देशमा मस्तीका साथ बाँचीरहेका छन् । देश खत्तम छ भनेर काना ठाडा पार्नेहरु घर्सिएर बाँचीरहेका छन् । खत्तम छ, खत्तम हुँदैछ, ध्वस्त भयो भन्ने विज्ञहरु, विशेषज्ञहरु प्रति चनाखो हुनु पर्छ । समाचारपत्रमा, रेडियोमा, टेलिभिजनमा, समाजिक सञ्जालहरुमा यीनीहरु कै विगविगी छ । यीनीहरु श्यालहरु हुन् । चिल आयो.... चिल आयो भनेर कुखुरा चोर्नेहरु हुन् । सबै खराबै छन् भन्ने पनि होइन तर बहुमत उनीहरुकै छ । उनीहरुले भनेक कठिनाइहरू नभएको पनि होइनन् तर भन्ने तरिका नमिलेकै हो ।

हो हाम्रा केही समस्याहरु पक्कै छन् । हामीमा गरीवी छ । पछौटेपन छ । अन्धविश्वास छ । हामीले भिषण विपत्ती भोगरै आएका छौ । स्रोत र साधनको प्रचुरताका वावजुद भरपुर उपयोग गर्न सकिरहेका छैनौ । आफ्नाे पाखुरीमा, माटोमा, पसिनामा, श्रममा, सिपमा, प्रविधिमा विश्वास नै गर्न छोडेका छौ । हामीले आफैलाई विश्वास गर्न छाडेका छौ । यो महासंकटसँग जुध्ने साहस हामी सँग छ । यो विश्वास हामीले हामी भित्र ब्युँझाउनु छ । अरुको मुख ताक्न छोडाैँ। हामीले नै गर्ने हो । हामीलाई सहयोग गर्छु भन्नेहरुको हालत कस्तो छ ? विश्वतिर फर्केर हेरौं त ।

सकरात्मक सन्देश दिने वेला हो । विदेशबाट फर्किरहेका हाम्रा दाजुभाई दिदी बहिनीलाई हौसला दिउँ । देश हाम्रो हो । यो देशका फाँट र पाखा पखेरामा नयाँ नेपाल जन्माउनु छ । यो अवसर हो । 


Tuesday, March 31, 2020

मलाई घर जानुछ

मलाई घर जानुछ
कसरी जाने निकै गाह्रो छ
पहाड चड्न सक्छु
पौडेर नदी तर्न सक्छु
तर पनि के गर्नु
जीवाणु बोकेको हुन सक्छु रे,
अरुलाई सार्न सक्छु रे,
त्यसैले  सिमाना बन्दछ
जता छस्, उतै बस भन्छ
तर पनि मलाई घर जानुछ ।

मलाई घर जानुछ
छोरा बोलाइरा छ
छोरी टोलाइरा छ
श्रीमती कराउँदै छिन्
आमालाई दम बढेको छ रे
बालाई चिसोे गडेको छ रे
मुसा पेटमा मात्र हैन
दिउँसै घर बाहिर दौडदै छ रे
अहो ! कस्ता दिन आए
जब प्रेमले उनीहरुलाई छुन्छु रे
प्याराहरुकै बैरी हुन्छु रे
आफ्नै धर्तिका लागि विरानाे भएँ
को होस् तँ ? उतै बस भन्छ
तर पनि मलाई घर जानुछ ।


हाे, मलाई छिट्टै घर जानुछ
सिमानामै पसिना गन्दैछु
एक बोरा चामल
एक किलो दाल
एक प्याकेट नुन
एक लिटर तेल
आउँछ कि आउँदैन गम्दैछु
ल्याएको छु
छोराको खेलौना
छोरीलाई रातो रिबन
घरवालीलाई रातो चुराटीका
आमालाई दमको दवाई
बालाई तातो खुराक
उनिहरूसम्म पुग्छ पुग्दैन हाेला
घरी खल्ती छाम्छु घरी झाेला
ए देश, म  तिम्रै हुँ
मलाइ  भित्रीन देउन
मेरी बुढी आमा भेट्न
मलाई घर जानुछ ।


विन्ती छ
सिमानाकाे, त्यो ढोका खोलिदेउन
तिम्रो मुग्लानेलाई भित्रीन देउन
के सुन्थ्यो चित्कार
के देख्थ्यो आँसु
के बोल्थ्यो शब्द
सिमाना आखा कान मुख बन्द गरेर
गजधम्म बसेको छ
देश भित्रिन पाउँदैनस्,  उतै बस भन्छ
तर पनि मलाई घर जानुछ
जसरी हुन्छ
मलाई छिट्टै घर जानु छ ।

Monday, March 30, 2020

सिमल र गुराँस

यसपाली बुढो सिमलको भुवा
उडयो कि उडेन होला ?
बनभरि मगमगाउँदो चैत
फुल्यो कि फुलेन होला ?
सिमलको भुवा भेट्नेहरू हो
सिरनी बनाइ पठाइदिनु
गुराँस फुलेको देख्नेहरू हो
एक थुँगा पठाइदिनु
रातो गुराँस पहरिएर
सिरानी अँगालेर
याे मसान शहरमा
एक निमेष निदाउने मन छ  ।



Monday, March 23, 2020

धड्कनकाे कुरा

तिम्रो र मेरो
छाती भित्र धड्कीरहेको मुटु
एक दिन टक्क रूक्ने छ,
त्यो तिमीलाई पनि थाहा छ
त्यो मलाई पनि थाहा छ ।
तर पनि तिमी र म
मुटु साटासाट गर्ने कुरा गर्छौ,
मुटु भित्र बाँचीरहने कुरा गर्छौं,
के तिमी र म पागल हौँ ?
न चाहिँदो बकबास गर्छौं,
असम्भव कुरा गर्छाैँ।
मुटुकाे गति कुन दिन रूक्छ ?
न तिमीलाई थाहा छ,
न मलाई नै थाहा छ ।
तिमी अलि स्वार्थी छौ
मेरो भन्दा अघि
आफ्नै रूकोस भन्छौ
म पनि त्यस्तै छु
तिम्रो भन्द अघि
मेरै रूकोस भन्छु ।
के हामी पागल हाैं ?
एक दिन रूकिजाने
धड्कनकाे कुरा गर्छौं ।

Thursday, March 5, 2020

तिमी आयौ

तिमी आयौ हृदयमा चमक आयो
तिमी सँगै जीवनको महक आयो ।

भुल्नै लागेको थिएँ हाँसोको स्वाद
जानै लागेको थिएँ विना तिम्रो साथ
कहाँ गएकी थियौ निकै ढिलो आयौ
उजाड आँखामा मोहक वहार ल्यायौ

तिमी आयौ हृदयमा चमक आयो
तिमी सँगै जीवनको महक आयो ।

पागल हँदैे थिएँ नविर्सिएर याद
भौतारिदै थिएँ नलागेको मात
विर्सिएकी थियौ कि निकै ढिलो आयौ
बगर मुटुमा  ढुकढुकी ल्यायौ

तिमी आयौ हृदयमा चमक आयो
तिमी सँगै जीवनको महक आयो ।

Sunday, March 1, 2020

छोपि कहाँ छोपिन्छ र लाली जोवन

फुलफुल मयालु गुराँसै फुल,
खुलखुल मयालु अकासै खुल,
लुकाइ कहाँ लुक्छ र
फुलै वासना,
छोपि कहाँ छोपिन्छ र
लाली जोवन,

हात दिम्ला उकालीमा
भर दिम्ला ओरालीमा
जीवनभरी साथसाथै
विताइ दिउँला बात मार्दै
आँसुआँसु मयालु हाँसो खोजौँला
मनमनमा मयालु दुःख साटौँला

लुकाइ कहाँ लुक्छ र
फुलै वासना,
छोपि कहाँ छोपिन्छ र
लाली जोवन,

औला दिँदा हातै निल्ने
मान्छ नै त हो नि
माया दिँदा शिरै टिक्ने
मान्छ नै त हो नि
हाँसहाँस मायालु दन्तै खोलन
नाँचनाँच मायालु मनै खोलन

लुकाइ कहाँ लुक्छ र
फुलै वासना,
छोपि कहाँ छोपिन्छ र
लाली जोवन,

Saturday, February 29, 2020

पिडाको कविता

म अहिले
कुनै युद्ध मैदानमा छैन
चिसो हिउँले कठांग्रिने
पृथ्वीधुरीमा छैन
सुर्यले तापपोखेको उजाड
मरुभुमिमा छैन
म आरामले घरमा बसेको छु
न हल्ला छ,
न चिसो छ ,
न तातो छ
र त
लेख्दछु, पिडाको कविता ।

यता उज्यालो भइरहँदा
धर्तिको अर्को पाखोमा
उडुस, उपियाँ, लामखुट्टेको टोकाईमा
कोल्टे फेरीरहेका छन् जिवनहरु,
पिल्सिएर मरेका उडुसको गन्द
छालामा स्पर्स गर्ने उपियाँको उफ्राई
घन्कीरहेको लामखुट्टेको संगीत
मैले भोग्नु परेको छैन ,
म उज्यालोमा छु
कतै बजीरहेको छ मधुर संगीत
यौटा चरा आएर बस्योे रुखमा
फेरी उडेर गयो कतै
टोलाएर हेरिरहेँ उतै
मन  हल्का भएको छ
र त
लेख्दैछु, पिडाको कविता ।

यसै बेला धर्तिमा कतै
प्राण त्याग्न छटपटिरहेको छ कोही
सतित्व रक्षामा हातपाउ बजार्दै छ कोही
भोकले छटपटिएर रुँदै छ कुनै अबोध्
म यता आरमले बसेर
प्राण त्याग्नुको पिडा कसरी लेखु
बलत्कृतको पिडा कुन शब्दमा पोखु
भोकको भाव कसरी देखाउँ
म दोधारमा छु
तर पनि
वाह वाह को आशमा
मन पराइने विश्वासमा
लेख्दैछु, पिडाको कविता ।

Friday, February 28, 2020

तिम्रो आगमनले

एक्लो एक्लो थिएँ
विरानो विरानो थिएँ
अनुभुति थिएन रंगउमंग थिएन
म बाँचिरहेको सपनामा
तिम्रो आगमनले जिवन थपेको छ ।
म बाँचिरहेको अँध्यारोमा
तिम्रो आगमनले प्रकाश थपेको छ ।

उदास उदास थिएँ
उजाड उजाड थिएँ
मन भरी आँधी हुरी थियो
प्यासी जीवनमा दिर्घ खडेरी थियो
म बाँचिरहेको शिशिरमा
तिम्रो आगमनले बसन्त थपेको छ । 
म बाँचिरहेको खडेरीमा
तिम्रो आगमनले झरी थपेको छ । 

पवन हो तिम्रा याद

पवन हो तिम्रा याद
सरर उडेर आउँछ,
आगो हो तिम्रा याद
मनमा डडेलो लाउँछ ।

चौतारीमा सुस्ताउँदै थिएँ,
तिम्रै याद गुनगुनाउँदै थिएँ
शितल झोका भएर आयौ
तनमा ज्वाला बालेर गयौ ।
पवन हो तिम्रा........
सरर उडेर.........

उकाली एक्लै चढ्दै थिएँ,
तिम्रै स्वास फेर्दै थिए
पसिना थोपा भएर बग्यौ
मनमा बाढी ल्याए गयौ ।
पवन हो तिम्रा........
सरर उडेर.........


Art Source: https://www.singulart.com/en/artworks/viktoria-lapteva-you-are-the-wind-for-my-wings-277899

Monday, February 3, 2020

पहाड

म ढलेको छैन,
म लडेको छैन,
ढाल्न नखोजेका होइनन्
लडाउन नखोजेका होइनन्
जराहरु सतही छैनन्
फेद त्यती कमजोर छैन
न्वारनदेखिको बल लगाउन
पसीनको नदी नै वगाउन
अझसम्म ढलेको छैन
अझसम्म लडेको छैन
भोलि पनि
म ढल्ने छैन
म लड्ने छैन ।

Friday, January 31, 2020

तिमीलाई बिर्सिएँ भने

मलाई केही भन्नु छ,
कुनै दिन मैले तिमीलाई बिर्सिएँ भने
मेराे हत्केला छोएर
सम्झाउनु ति पलहरु,
हात समातेर हिँडदा
देखिएका मायालु ढुकुरका जोडीहरु,
आफु अघि बढेर
तिमीलाई पार गराएका नालीहरु,
हाम्रा नाम खोपिएका
ति अजंगका रुखका फेदहरु ,
तिमीलाइ उचालेर
समाउन लगाएका रूखका हाँगाहरू,
तिम्राे कपालमा सिउँरीदिएका
मगमगाउँदा रंगिविरंगी बनफूलहरू।

अझ पनि सम्झिएन भने
मेरा आँखामा हेरेर
सम्झाउनु ति साँझहरु,
अकास कालो बादलले ढाकिएर
झमझम पानी परिरहेको,
सँगसँगै टाँसिएर
आत्तिदै बासस्थानतिर फर्किदै गरेको,
भोकले पेट मडारिएको बेला
एक दाना चामाल,
एक मुठी पिठो,
एक ढिको नुन नभएको,
नुनिलो आसु सँगै
पानी पिएर सुतेको
कुनै साँझ रायोको झोलसँग
सपनाका मिठा गासहरु निलेकाे ।

अझ पनि तिमीलाई नसम्झिए
तिमी मलाई झकझकाउनु,
मेराे नाम काडेर बोलाउनु,
मेराआँखा, पछाडिबाट हत्केलाले छोप्नु,
म को हो भन्दै सुस्केराले सोध्नु,
जाेडजाेडले चिच्याउनु,
पाउहरू बजार्दै  रिसाउनु,
सबै आक्रोशहरु पोख्नु
तर विन्ती प्रिय
आँसु नझार्नु  ।

मैले नसम्झे पनि,
ए प्रिय
तिमी अन्तरमनमा गडेर बसेकी छाै,
म निशब्द टोलाइ रहे पनि
मैले शब्दले नसभ्झे पनि
म अन्तरमनले सम्झीरहने छु ।
म अन्तरमनले सम्झीरहने छु ।

Friday, January 17, 2020

यात्रा

यो यात्रामा
सुस्केरा हाल्नै पर्ने उकाली थियो,
टेको लाउनै पर्ने ओराली थियो,
पहाड बदल्ने भञ्ज्यांग अनि
थकाई मार्न चौतारी पनि त थियो,
हाे, याे यात्रा
साह्रै अविश्मरणीय  थियाे।

हिड्दाहिँड्दै
कतै उज्यालो हुन्थ्यो,
अनि कतै रात पर्थ्याे,
कहिले सुनौलो जुनेली
कहिले निष्पट अन्धकार हुन्थ्याे,
हिँडदै रहे, भिडदै रहे
लड्दै उठदै अगाडि बढदै रहेँ,
हाे, याे यात्रा
साह्रै राेमाञ्चक  थियाे।

यो यात्रामा
नदी भएर आएकासँग बग्दै गए,
कतै छाँगा भएँ, कतै छहरा भएँ
बनबुट्यानमा कुर्लदै वगरमा उर्लदै,
समथरमा सलसलाउँदै सागरमा मिसिएँ।

हाे, यो यात्रामा
कतिलाई हँसाए,
कतिलाई रूवाएँ
कति हाँसो दिएर गए
कति आँसु दिएर गए
सबैको यात्रा आफ्नै हुन्छ
मेरो जस्तै
अरुको कहाँ हुन्छ ?

Monday, January 6, 2020

छाेरीका कुरा

मंसिर १०, २०७४ आइतबार
नेपाल ल क्याम्पसमा पढ्ने दुई यौवनाहरु कोरीयन पैसा वन साट्न आएका थिए । वान लिने भौचर लिएर बाहिरिए । कानुन सम्बन्धी प्रतिस्पर्धाका लागि कोरीया जान लागेका रे । मैले छोरीलाई सम्झिएँ । छोरी अहिले स्कुलमा पढदैछिन् ।
अनि सोचेँ छोरीलाई कानुन पो पढाउनु पर्छ की ? वकिलको बाउ बन्न पाए, अहँ होइन न्यायधिसको बाउ पने बनिहालिन्छ की, सुशिला कार्की नेपालकै पहिलो प्रधानन्यायधीस । भरखरै अवकास पाइन । सपना मल्ल प्रधानन्यायधीस क्रममा छिन । म उनलाई पनि त्यही रोलक्रममा उभिएको देख्छु । होइन कतै विदेश तिर गइ भने बरीष्ठरसरीष्ठर पनि त बन्न सक्छीन, आ... म पनि । हुन त मैले साँेचेर मात्र के हुने हो र  ?
अहिले कक्षा सातमा पढ्दैछिन् । आजभोलि उनलाई धेरैथरी बन्न मन लाग्छ । कहिले गायीका, कहिले नर्तकी, कहिले कवि, कहिले के, कहिले के ? बेला बेला उनलाई सोध्छु पनि । हैन सँच्चै तिमी ठूलो भएर के बन्ने छोरी ? खै के बन्ने बन्ने ? उनको जवाफ यस्तै हुन्छ । 
समय वित्न के बेर । भरखरै जन्मिएकी जस्तै लाग्छ । उनी जन्मिए पछी अमेरीकामा बराकओबामाले दुई कार्यकाल विताएर गए । देशमा शस्त्र विद्रोह समाप्त भयो, शान्ति स्थापना भएर दुइटा संविधानसभा चुनियो र संविधान पनि जारी भयो । महाभुकम्प बहत्तर बैसाख बाह्रमा गयो । साथीको बर्थडे मनाउन नखीपोट गएका वेला त्यही भोगिन धर्तिको कम्पन । अविभावक भएर भाईलाई सम्हालीन सम्पुर्ण जमिन हल्लिँदा । हो, छोरी ठुली भई सकिन ।
केही दिन अघि डाबर च्यवनप्रासको विज्ञापनकर्ताहरु स्कुलमा आएका रहेछन् । उँचाई र तौल लिएछन् । म त पाँच फिट पाँच इन्च अग्लो र त्रिपन्न किलोको भएँ नि, मलाई सुनाईँन । ए, तौल उचाई त ठिकै रहेछ भनेँ । कहिले काँही मैले अलि मोटी भयौ विचार गर है भन्छु । के हुन्छ त मुख विगारेर जवाफ दिन्छिन् । पहिलेको तुलनामा खाना अहिले अलि घटेको छ । पौष्टिक खाना खानुपर्छ उनले, उनी बढ्दैछिन् । 
मेरो स्कर्ट त लुज भयो नि बाबा । अस्ती अस्ती कस्तो टाइट थियो । अनि मख्ख पर्छीन । कति ठुला पाइतला जुत्ता नै नपाउने हो की आमा चिन्तीत हुन्छीन । पाइतला मेरा जस्तै छन् । आखिर मेरी छोरी न हुन् ।
दशै र तिहारको विदामा उनको मिल्ने साथी आर्या लुईटेल घर गएकी थिइन । म्यासेञ्जरमा उनले कपाल काटेको फोटो अपलोड गरीछन् । यती भए पछी उनलाई कपाल काट्ने हुटहुटीले छोइहाल्यो । दशै र तिहारको विचमा लामो कालो कपाल छोटो पारेर काटीन । कस्तो देखियो बाबा भनेर सोधिन् । राम्रै छ तर अझै छोटो बनाएको भए हुने, ब्वाईज कट झनै राम्रो देखिन्थ्यो । कस्तो होला बाबा पनि जहिले नि ब्वाइजकट मात्र भन्ने । नाँइ म काटदैन । उनले पनि आप्mनो काटेको कपाल सेल्फि लिएर अष्टे«लीया बसेकी ठुली आमा र विराटनगर साथी आर्यालाई पठाईन । भेटेको जति सबैलाई आप्mनो कटिएको कपालको प्रतिक्रिया मागिन् । सबैले कस्तो सुहाएको राम्रो देखिएको भने । विराटनगरबाट आर्याले अझै कति लामो राखेको तिमीले, मेरो जस्तै छोटो बनाउन भनिछन् । उनलाई कपाल अझ छोटो बनाउने रन्को लागि हाल्यो । दुई दिन पछि मामाघर गएर माइजुले कपाल अझ छोटो हुने गरी काटिदिनु भएछ । मैले अझ छोटो बनाउँ भन्दा नाँइ भन्नेल्े साथीको एकै भनाइ अझ छोटो पारिन् । फर्के पछि कस्तो देखिएको छ भनेर फेरी सोधिन् । मैले मेरो रेडीमेड जवाफ ब्वाइजकट कस्तो राम्रो देखिन्थ्यो । बाबा पनि जही ले नि त्यस्तै भन्ने के भनेर आर्को तिर लागिन् । आजभोलि छोटो कपालमा सेतो रिवन बाँधेर स्कुल जान्छीन ।
कपाल लामो हुँदा कोर्ने विषयमा नै आमाछोरीको बादविवाद भैरहने । स्कुल जाने बेला कहिले सिउँदो मिलेन, कहिले चुल्ठो मिलेन भनेर उनको गुँनासो  हुन्थ्यो । अहिले चुल्ठोको गुनाँसो भने सकिएको छ तर सिउँदो बाँगो भएन र भनेर मलाई सोधिरहन्छीन् । आजभोलि सिउँदो बाँगो बनाउने, तिनचारओटा सिउँदो बनाउने फेसनै आएको छ भनेर मैल भन्छु । खुबै होला नि भनेर उनले पत्याउँदिनन् । अफीसमा थरीथरीका सिउँदो बनाएर आउने कति छन् कति भन्दै उनलाई विश्वास दिलाउने प्रयास गर्दछु ।

आमाको जन्मदिन थियो । केक अडर दिन सधै मसँगै जान्थिन् । यसपाली पनि जाउँ भने जान मानिनन् । पढ्नु छ भनेर टारिन । बाबा कप केक दियो भने ल्याइदिनु है भनिन् । श्रीयाँन्ससँग गएँ । केक अर्डर दिए पछि श्रीयाँन्सले चकलेट क्रोसेन्ट रोज्यो, मैल छोरीलाई चिज क्रोसेन्ट छानी दिएँ । खाजा लैजाउ भनेको नाँई भरे आए खाने भनिन् । किन लैजाने सोधे । नाँइ के साथीहरुले खाइदिन्छन् भनिन् । अलि लोभि पनि छन् । मैले दिउँसो खाजा खाना जाँदा आधा काटेर खाइदिएँ । बेलुका बाबा कस्तो लोभी है क्रोसेन्ट किन खाएको भन्दै फतफताइन् । 

पहिलो संघिय र प्रदेशीयस चुनावी चहलपहलको माहोल थियो । चुनावको विरोधमा विपल्बको कम्युनिष्ट पार्टीले हिंसात्मक गतिविधी बढाएको थियो । ठाउँठाउँमा बम विष्फोटका समाचारहरु सुनिएको थियो । नेताहरुको गाडी तथा घरहरु लक्षित बम विष्फोट भइरहेका थिए । नेपाल बन्दका समाचार पनि आइरहेकै थिए ।

छोरीलाई नेपाल बन्द साह्रै मन पर्छ । नेपालबन्दको समाचार सुन्नासाथ कान ठाडा पार्छिन् । उसको ठुलो मम्मी अष्ट्रेलियाबाट आउने दिन किन कसैले नेपालबन्द नगरेको होलान् भनेर करकर गर्दै थिइन् । नेपाल बन्द गर्नेवालाहरु पनि कस्ता काम नलाग्ने, चाहिएको बेला कहिले बन्द गर्ने होइन भन्दै भुतभुताइरहीन । यदपी दिदी काठमाण्डौ रातीको एघार बजे उत्रदै हुनुहुन्थ्यो । केही विशेष हुनुपर्छ उनलाई स्कुल विदा भइदिए हुन्थ्यो भन्ने लाग्छ । विदा हुने यौटामात्र माध्यम छ नेपाल बन्द ।

बेलाबेला बन्दको हल्ला पनि चलिरहेको छ । शुक्रबार बन्दको हल्लाले समाजिक सञ्जालहरु रंगिएका थिए । विपल्बको पार्टीले बन्द गरेको भन्ने सुनिएको थियो । बेलुका देखी नै शुक्रबार विदा हुने म्यासेज मोबाइलमा आयो की आएन भनेर घरीघरी छोरीले सोधिरहेकी थिइन । विपल्बले बन्द नगरेको भन्ने विज्ञप्ती नै निकाले । मैल भोलि विदा छैन भनेर फेसबुकमा रखेको मोबाइलको समाचार देखाएँ । ए हो भन्दै निराश सुस्केरा सुसेलीन् । राती दश बजे मोबाइलमा म्यसोजको आयो । अबाञ्छीत कारणले शुक्रबार स्कुल विदा भएको म्यासेज आयो । दिदीभाई खुसी भए । तर उनीहरुको खुसी धेरै बेर टिकेन । शुक्रबार विहानै शनिबार विद्यालय लाग्ने सुचना मोबाइलमा आयो । मैले भोलि त स्कुल चल्छ है भने । हाम्रो स्कुल नि कस्तो काम नलाग्ने है । एक दिन विदा दिँदा पहाड नै खस्ला जस्तो गर्छ भन्दै भुनभुनाउन थालिन ।
साथीले आलुचप ल्याको कस्तो मिठो ढोकाबाट छिर्दै भनिन् । बाबा, हामी पनि आलु चप खाउँ न है उनले थपीन्।  आमाले असहमती जनाइन् । भात भुटेर खान सुझाइन् । छोराले रस हालेको चाउचाउ खान्छु भन्यो । उसो भए चाउचाउ खाउँ न त सरोजाले भनिन् । मेरो इच्छा त कसैले पुरा नै गर्दैन, उसले भन्नासाथ चाउचाउ पकाउने रे भनेर ठुस्किन् । ल ल हुन्छ आलुचप बनाउने भन्दै म उठे । सरोज पनि के गर्नु छोरीको इच्छा पुरा गरिदिनै पर्यो भनेर किचनमा गएर आलु चाना पार्न थालिन । बेसनको लेदोमा चोपेर आलु तार्यौ । आलुचप मिठै पाक्यो । 
हिजो बेलुका कविताका शिर्षकहरु ल्याएर कविता लेखिदिन भन्दै थिइन । मैले नसुनेझै गरिरहेँ । आँधीहुरीको लेख्दा कस्तो हुन्छ सोधिन । राम्रै हुन्छ भने । कसरी लेख्ने बाबा । मैले पनि लय मिलाएर एक हरफ यस्तो हुनसक्छ भनिदिएँ । 
एकछिन पछी श्रीयान्सले छिमेकी देशका मानिसहरुको बारेमा पचास  शब्दकाे लेख्न सिकाउन भन्यो । उ नेपाली त लेख्नै नपरे हुन्थ्यो भन्ने सोच्छ । उसलाई किचनमै बसेर सिकाइरहेको थिएँ । अँ मलाई कविता लेख्न नसिकाउने तर उसलाई भने सिकाउने भनेर उनले गुनाँसो गरीन् । मैले तिमीलाई पनि यसै गरी सिकाएको बिस्र्यौ है भनेँ । उनी चुपचाप पढ्ने कोठातिर लागिन् ।