Tuesday, April 21, 2020

शिल्पी

शुन्य थियो,
अन्धकार थियो,
शिल्पी शुन्यतामा ठिङ्ग उभियो,
मयललाई डल्लो पार्याे,
ज्वरोले ततायो,
चलायो ज्याबलहरु
टुक्राटुक्रा पार्याे,
फेरी जाेडजाड गर्याे,
अनि रच्यो  ब्रह्माण्ड
घाम जुन र ताराहरु
अनी बचेको सानो टुक्रा नचाउँदै
कतै खाल्डो खन्याे,
कतै थुम्को उठायो,
अनि जन्मायो जीवन्त पृथ्वी ।

पसीनाको नदी थप्यो,
आँसुको समुद्र जमायाे,
थकानकाे चिसाे सुस्केराले
पहाडमा हिउँ जमायो,
रंगविरंग बनस्पती
केस रोपेर उमार्यो,
टुक्राटुक्रा पारेर हाडछाला
प्राणी जगत जन्मायो,
अनि आफै टुक्रिदै खिईदै
थप्यो ढुकढुकी र जीवनको हुटहुटी
अनि आफै मान्छे बन्यो ।
उ मान्छे बने पछी टेक्यो
पहिलो पाइला धर्तिमा
चाउरिएको निदार खुम्चयाँउदै
बन्द आँखाहरु विस्तारै खोल्यो,
क्षितिज हेर्यो
आफनाे श्रृष्टि देख्यो
चराहरुले उज्यालो फिँजाएको
हिमश्रृखंलाहरुबाट प्रेमधारा वगेको
समुद्र बोकेको हावाले विश्वासको बर्षा गरेको
उ खुसी हुँदै नाच्न थाल्याे
नाच्दा नाच्दै देख्याे
विग्राएका आकृतीहरु
चुँडिएको सपनाका लहराहरु
च्यातिएका विश्वासहरु
आफैलाई देवता  घोषणा गरेका आदेशहरु
उ दिक्दार भयाे
अनि अलप भयो शुन्यतामा
सायद
उ सुन्दर श्रृष्टि गर्दै छ ।

No comments:

Post a Comment