Saturday, April 4, 2020

लकडाउन काेराेना डायरी १

शनिवार, चैत्र २२, २०७६

लकडाउनको आज बाह्रौं दिन । लेख्न र पढ्न पटक्कै मन लागेको छैन ।  विहान छ बजे ब्युँझिएँ । उज्यालो नेटवर्कको काया कैरन लगाएँ । कोरोनाको कहर विश्व भरी फैलिएको समचार सुनाउँदै थियो, खासै ध्यान दिएन । तथ्यांक पनि सुनिन । औषधि र मेडीकल उपकरण खरिदको भ्रष्टाचारको खबर पनि बजिरहयो । नेपाली सेनालाई सरकारसरकारमार्फत खरिद गर्न दिने विषय पनि थियो । सायद, म विचार सुन्य थिएँ  । मनमा कुनै प्रतिक्रिया नै थिएन । काया कैरन सकियो । श्रीमतिले कान्तिपुर डायरी लगाउन भनिन् । रोवट झै मोबाइल रेडीयोमा कान्तिपुर डायरी लगाएँ ।  

यसमा पनि कोरोनाको प्रकोप, एसियाली विकास बैकको आर्थिक वृद्धि घट्ने प्रक्षेपण, सेनाले खरिद गर्ने विषय, नेपाल भारत सिमामा विचल्ली परेका नेपालीका विषयमा समाचार थिए । म विचार शुन्य नै थिएँ । समाचारमा ध्यान थिएन ।

म उँठे । नित्यकर्म सके । कान्तिपुर हेड लाइनर बोल्नेको स्वर चिने झै लाग्यो । नेकपा सभासद रामकुमारी झाँक्री बोलिरहनु भएको रहेछ । खासै ध्यान दिएन । मनमनै सोँचे सबैले यौटै कुरा त भन्ने हुन नि । सवै विग्रीयो, खत्तम भयो । सरकारले केही गरेन । गर्नै सकेन । 

रेडियो सानै देखि सुन्दै आएको हुँ । घरमा ठुलो पानासोनिक रेडियो थियो । बाले विहान पाँच बजे नै रेडियो खोल्थे । निकै मिठो धुन बजथ्यो । त्यस पछि यौटा भजन, अनि दिनभरिको कायक्रमको रुपरेखा । पहिलो कार्यक्रम हुन्थ्यो, धार्मिक कार्यक्रम । छ बजे संस्कृतमा समाचार,  त्यसपछि कुन कार्यक्रम हुन्थ्यो विर्सिएँ । सात बजे समाचार । यो समय मुना चियाको हो भन्ने विज्ञापन अझै पनि कानैमा बजे झै लाग्छ । बालाई कहिले काहीँ उही समाचार सुन्दासुन्दा दिक्दार लाग्थ्यो । आ.....कति सुन्नु आची गरीबक्स्यो र सुसु गरीबक्स्यो, नयाँ केही भन्ने हाेइन  भन्दै रेडियो बन्द गरिदिन्थे । हामी काम गर्न लाग्थ्यौं ।

मलाई रेडियो नेपालमा शनिबार दिउँसो बज्ने नाटक मनपथ्र्यो । नाटक सुनेर धेरै पटक रोएको पनि छु । दशै शुरू भएपछी घटास्थापनाबाट  विहान एघार बजेसम्म मात्र बज्ने रेडियो नेपाल दिनभरी नै बज्थ्यो । बाह्र बजेतिर दुर्गासम्बन्धी नाटक प्रसारण  हुन्थ्याे । दशैभरी प्रत्येक दिन सुन्थे । माघ महिनाभरी बेलुका स्वस्थानी ब्रतकथा नाटक पनि आमासँगै नियमित सुन्थे । प्रत्येक शुक्रबार वेलुका रोदी भन्ने कार्यक्रम बज्थ्यो । मथिल्लो घरे कान्छाबालाई साह्रै मनपर्ने । उनीसँगै सुन्थे । कार्यक्रममा लोक दोहोरीहरु बज्थे । त्यसै गरी हरेक शनिबार बेलुका चौतारी कार्यक्रम सबैजना रेडियो वरीपरी झम्मिएर सुन्थ्यौ । मैले एक्लै सुन्ने कार्यक्रम पनि थियो । त्यो कसैले बुझ्दैन थियो । म आफैले पनि बुझ्दैनथे । तर पनि मैले सुन्थे । म्युजिकमेनिया । अँग्रेजी गीतहरुको कार्यक्रम थियो । दिउँसो बज्थ्यो । रविन शर्माले चलाउँथे । त्यो कार्यक्रम बज्ने क्न्ट्री रोड टेक मी होम भन्ने गीत मलाई मजा लाग्थ्यो । सुनीरहन मन लाग्ने । धेरै पछि मात्र थाहा युटियुवमा फेरी त्यो गीत सुन्न पाएँ ।

काठमाण्डौ छिरेपछि रेडियो सुन्ने भन्दा पनि पत्रपत्रिका पढ्न थाले । एफएम चल्न थालेपछि सुरुवाती समयमा रेडियो सगरमाथा निकै सुनियो । तर अहिले रेडियो त्यती सुन्दैन । झन समाचारहरु पनि त्यती सुन्न मन लाग्दैन । 
थाहा पाए देखिनै समाचारहरुले देश विग्रीएको कुरा मात्र गरे । सकारात्मकता त्यती विक्दैन । समाचार पनि नकारात्मक नै विक्छ । 

समाचार सुचनाको व्यपार हो । यसमा मुनाफा हुन्छ । जती बढी विक्री हुन्छ उती नै बढी मुनाफा । अझ खत्तमै भयो, विग्रियो भयो, ध्वस्त भयो भनेर समाचार लेख्ने र पढ्नेहरु सबैभन्दा सप्रिएका छन् । गजब त के छ भने देश खत्तम छ भनेर भन्नेहरु याे देशमा मस्तीका साथ बाँचीरहेका छन् । देश खत्तम छ भनेर काना ठाडा पार्नेहरु घर्सिएर बाँचीरहेका छन् । खत्तम छ, खत्तम हुँदैछ, ध्वस्त भयो भन्ने विज्ञहरु, विशेषज्ञहरु प्रति चनाखो हुनु पर्छ । समाचारपत्रमा, रेडियोमा, टेलिभिजनमा, समाजिक सञ्जालहरुमा यीनीहरु कै विगविगी छ । यीनीहरु श्यालहरु हुन् । चिल आयो.... चिल आयो भनेर कुखुरा चोर्नेहरु हुन् । सबै खराबै छन् भन्ने पनि होइन तर बहुमत उनीहरुकै छ । उनीहरुले भनेक कठिनाइहरू नभएको पनि होइनन् तर भन्ने तरिका नमिलेकै हो ।

हो हाम्रा केही समस्याहरु पक्कै छन् । हामीमा गरीवी छ । पछौटेपन छ । अन्धविश्वास छ । हामीले भिषण विपत्ती भोगरै आएका छौ । स्रोत र साधनको प्रचुरताका वावजुद भरपुर उपयोग गर्न सकिरहेका छैनौ । आफ्नाे पाखुरीमा, माटोमा, पसिनामा, श्रममा, सिपमा, प्रविधिमा विश्वास नै गर्न छोडेका छौ । हामीले आफैलाई विश्वास गर्न छाडेका छौ । यो महासंकटसँग जुध्ने साहस हामी सँग छ । यो विश्वास हामीले हामी भित्र ब्युँझाउनु छ । अरुको मुख ताक्न छोडाैँ। हामीले नै गर्ने हो । हामीलाई सहयोग गर्छु भन्नेहरुको हालत कस्तो छ ? विश्वतिर फर्केर हेरौं त ।

सकरात्मक सन्देश दिने वेला हो । विदेशबाट फर्किरहेका हाम्रा दाजुभाई दिदी बहिनीलाई हौसला दिउँ । देश हाम्रो हो । यो देशका फाँट र पाखा पखेरामा नयाँ नेपाल जन्माउनु छ । यो अवसर हो । 


No comments:

Post a Comment