Friday, April 24, 2020

शब्दको अत्याचार

शब्दहरु कति धारिला थिए
फुर्सदमा जब म
हत्केला हेर्छु,
पुर्खाको संघर्षको ठेला देख्छु,
पिठयु छुन्छु
अत्याचारको सुम्ला भेट्छु,
निधार छाम्मु
डामिएको खत भेट्छु,
मलाई थाहा छ
इतिहासमा जालझेल गरी
लेखिएका कठोर शब्दहरु
धमिराले मक्किसकेका छन्,
तर पनि समय साँक्षी छ,
मेरा बा र बाका पनि बाहरु
मेरा आमा र आमाका पनि आमाहरु
काँडे शब्दहरुका कोर्रा सहँदै
काब्यका फिलुंगा टेक्दै
अपमान र घृणाका पहाड नाघेर
मलाई समथर भुमिमा ल्याएका छन्
यो उन्मुक्त धर्तिमा
म दौडिएको रिस गर्नेहरु
नयाँ ब्यन्जना रच्दै गरुन
म हिँडेकोमा जल्नेहरु
नयाँ काब्य जलाउँदै गरुन
म हाँसेकोमा मुरमुरिनेहरु
शोक गित गाउँदै गरुन
किन की
योगी य र ऋषि ऋ
क्षेत्रिय क्ष र ज्ञानी ज्ञ
यातना दिँदा दिँदा थाकेका छन
यी सुन्दर अक्षरहरु
घोच्ने शब्दहरु बनाउने छैनन् ।
उखान र टुक्काहरु,
आरोह र अवरोहहरु,
छन्द र अनुप्रासहरु,
विम्ब र प्रतिकहरु,
निष्प्रभावी छन्
मलाई दुखाउने भावहरु
अव काब्यहरुमा भेटिने छैनन् ।

No comments:

Post a Comment