Monday, September 7, 2020

साेह्र श्राद्ध

 ए पितृ हो !

हाम्रो विगत 

रक्त रञ्जीत

त्रासदीपुर्ण थियो,

फोहर थुप्रिएको

घिन लाग्दो थियो,

लाज नछोपिएको 

जंगली थियो,

तर पनि जे जस्तो थियो

विगत हाम्रो थियो ।


ए मेरा प्रिय पुर्खाहरू !

चारपाटे मुँडिएर डाँडा काटदा

पाइतलाका रगतका धारो

च्वाँच्वाँ गर्ने सुगुरको पाठो

जिजु बाले बोकेको डोको

आँसु पसिनाको नुनिलाे खोलो

हिउँको सुस्केरा

तिर्खाले सुकेको घाँटी

एक घुटको पानीको तड्पन्

टुलुटुलु हेर्ने निर्दाेष पँधेरो

हो सारै आततायी थियो

तर पनि जे जस्तो थियो

विगत हाम्रो थियो ।


ए मेरा पुर्वजहरू !

खालीपेटको दमाहा बजाएर

नरसिंहा र सहनाई घनकाएर

जिउँदै चितामा सुताईएकीको

चित्कार लुकाउइदिनेहरु

सारंगीमा रेटिएर प्राण त्यागेकाहरु

हर रात सपनीमा 

चिहानबाट निस्किएर

विगतको त्रासदीपुर्ण

चलायमान तस्वीर देखाउँछन

हो सारै आततायी थियो विगत

तर पनि जे जस्तो थियो

विगत हाम्रो थियो ।


ए मेरा श्रदेयहरू !

मन्दीरमा गजुर राख्दाराख्दै

खसेर मरेकाहरु

हातले देवता कुँदनेहरु

नागै बस्त्र सिलाउनेहरु

आफ्नै गर्दन छिन्ने

खुकुरीमा साँध लाउनेहरु

मन्दिरको देवी देखाउँदै रुँदै सुनाउँछन्

त्यो नदेखिएको, नलेखिएको

लाज नछोपिएको जंगली कथा

हो सारै आततायी थियो

तर पनि जे जस्तो थियो

विगत हाम्रो थियो ।


जब साेह्र श्राद्ध शुरु हुन्छ

जिउँदै जलाईए ति आमाहरु

अंगभंगभइ नरक पुगेकाहरू

अल्पायुमै खुकुरीका प्रिय भएका

हजारौहजार अतृप्त पितृहरु

धर्तिमा ओर्लिन्छन् 

सोह्रै दिन धिक्कार छन् 

ए किन सम्झिन्छस 

तँ विगतहरुलाई

ए किन दलछस नुनचुक 

तँ खाटाहरुमा

भो चाहिएन पिण्ड र तर्पण

जानु छैन त्यो कथित स्वर्ग

तर पनि

अस्वीकृत अस्तित्वलाइ 

बागमतीको घाट उम्भ्याएर

पिण्ड दान र तर्पण दिइदैछु

हे मेरा पितृहरु हो !

हे मेरा पुर्वजहरू हो !

मलाई न तर्साओ

मलाई न थर्काओ

अब त तिमीहरु स्वर्ग जाओ ।


रिस

 रिसाएको छु

रिसाउनु हुन्न थाहा छ,

तर पनि रिसाउँछु ।

किन रिसाउँछु

कारण थाहा हुँदैन ।

कहिले काहीँ किन रिसाएँ ?

सम्झेर मुर्छा पर्ने गरी हाँस्छु

कहिले

तरकारीमा नुन पुगेन भनेर रिसाएँ,

कहिले नुन बढी भयो भनेर रिसाएँ,

घाम लाग्दा पोल्यो भनेर रिसाँए, 

नलाग्द किन लागेन भनेर रिसाएँ,

यसो सोच्छु

मैले सोचे जस्तो नहुँदा म रिसाउँछु

कहिले त सोचे जस्तो मात्र किन भयो ?

झन राम्रो हुनु पर्ने भनेर रिसाउँछु ।

यो भावनात्मक आवेग

घोडा झै उफ्रीदै आउँछ,

लगाम लगाउँ नै विर्सन्छु,

आँखा राता पार्छु

स्वास बढ्छ

जिउ तातिन्छ

मुठी कस्छु

खुट्टा बजार्छु 

बेस्सरी चिच्याउँछु

रिस थामिदै जान्छ 

अनि थाहा पाउँछु

भावनामा भुकम्प आएको 

तन्तुतन्तु क्षतविक्षत पारेर

भौतिक संसार अस्तव्यस्त पारेर

उ छोडेर गएकोछ ।

टाउको दुखेकोछ,

तरंगीत नशा शिथिल हुँदैछ, 

बढेको मुटुको गति सुस्ताउँदैछ

स्वास लयमा आउँदैछ

अनि

नरिसाउने प्रण गर्छु,

तर पनि 

फेरी फेरी रिसाउँछु

जसरी अहिले 

रिसको कविता नलेख्न सकेर

रिसाएको छु ।


Thursday, September 3, 2020

बा

बा

बाटो हो

कुल्चेर सन्तान गन्तब्य पुग्छन्

विर्सछन् यात्राकामार्मिक चित्रहरु 

खाल्डाेहरु

उकालोहरु

ओरालोहरु

समथर फाँट

कलकल बग्ने खोला

थकान मेट्ने चौतारी ।


बा

समाउने औला हो,

आड दिने काँध हो,

टेक्ने पाइतला हो,

संसार देखाउने आँखा हो,

स्वाभिमानी शिर हो,

अदम्य सहाशी मुटु हो

यती मात्र कहाँ हो र?

बा

ओत दिने छानो हो

तातो नाना हो

भोकको गास हो

संघर्षको पसिना हो

गल्तीमा सजाय हो

आँसु लुकाउने माया हो

साँच्चै बा भनेकेा

बा मात्रै हो

बा को पर्याय केही छैन