रिसाउनु हुन्न थाहा छ,
तर पनि रिसाउँछु ।
किन रिसाउँछु
कारण थाहा हुँदैन ।
कहिले काहीँ किन रिसाएँ ?
सम्झेर मुर्छा पर्ने गरी हाँस्छु
कहिले
तरकारीमा नुन पुगेन भनेर रिसाएँ,
कहिले नुन बढी भयो भनेर रिसाएँ,
घाम लाग्दा पोल्यो भनेर रिसाँए,
नलाग्द किन लागेन भनेर रिसाएँ,
यसो सोच्छु
मैले सोचे जस्तो नहुँदा म रिसाउँछु
कहिले त सोचे जस्तो मात्र किन भयो ?
झन राम्रो हुनु पर्ने भनेर रिसाउँछु ।
यो भावनात्मक आवेग
घोडा झै उफ्रीदै आउँछ,
लगाम लगाउँ नै विर्सन्छु,
आँखा राता पार्छु
स्वास बढ्छ
जिउ तातिन्छ
मुठी कस्छु
खुट्टा बजार्छु
बेस्सरी चिच्याउँछु
रिस थामिदै जान्छ
अनि थाहा पाउँछु
भावनामा भुकम्प आएको
तन्तुतन्तु क्षतविक्षत पारेर
भौतिक संसार अस्तव्यस्त पारेर
उ छोडेर गएकोछ ।
टाउको दुखेकोछ,
तरंगीत नशा शिथिल हुँदैछ,
बढेको मुटुको गति सुस्ताउँदैछ
स्वास लयमा आउँदैछ
अनि
नरिसाउने प्रण गर्छु,
तर पनि
फेरी फेरी रिसाउँछु
जसरी अहिले
रिसको कविता नलेख्न सकेर
रिसाएको छु ।
No comments:
Post a Comment