Tuesday, April 7, 2020

नलेखिएकाे कविता

नलेखेको धेरै भो,
आज त कविता लेख्छु,
दुःख लेख्छु,
सुख लेख्छु,
माया लेख्छु,
घुणा लेख्छु,
मिलन/विछोड लेख्छु
हो, म
आज कविता लेख्छु ।

तर कवितामा के लेख्ने ?
जिवन लेखौं
कि मृत्यु लेखौं
हाँसो लेखौं
कि आँसु लेखौं
फूल लेखाैँ
काँडा लेखौं
सोच्दै छु
कवितामा के लेखौं ?

अहाे कठिन पाे रहेछ,
लेख्छु भनेर लेखिँदो रहेनछ कविता
सोच्छु भनेर सोचिँदो रहेनछ कविता
भरियाको सुस्केरामा सुसेलिन्छ कविता
भोका नानीहरुको पेटमा चिच्याउँछ कविता
आमाका आँखाबाट  बर्सिन्छ कविता
अहो सहजै
नलेखिदो रहेछ कविता ।

कविता  लेख्न
आमा बन्नु पर्छ,
भरिया बन्नु पर्छ,
बालक बन्नु पर्छ,
हावा बन्नु पर्छ,
पानी बन्नु पर्छ,
पूmल बन्नु पर्छ,
काँडा बन्नु पर्छ,
आगो बन्नु पर्छ,
खरानी बन्नु पर्छ,
अनि पो लेखिन्छ कविता ।

No comments:

Post a Comment