Saturday, September 10, 2011

टाइम पास

      भदौरे घाम चर्किएको छ । क्वाटरको पुर्बी झ्यालबाट निलो आकासमा सेता बादल पहाडहरु  देखिएको छन् । ठिंग उभिएको एक तले पहेलो गेष्टहाउसले आकाश र बस्तीलाई छेकेको छ । गेष्टहाउसदेखि क्वाटर अगाडिसम्म लमतन्न बगैचा फैलिएको छ । फूलका बोटहरु चारैतिर छन् । झयाम्म परेका बोट हल्का रातो रंगका लालीगुराँसका थुंगा झै फुलहरु फूलेका छन् ।

"मुसुन्डा हो, सर"  टेकु अर्थात बगैचेले बेलाबेला सम्झाइरहन्छ । यो फुल मैले पहिलो पटक देखेको र सुनेको हुँ । फागुन र चैत्र बाहेक प्रायः बर्ष भरि फुलिरहन्छ । बगैचाको विचमा पैयु जस्तै रुख छ । यस्तो गर्मीमा पैयु नहुनु पर्ने हो । तर पैयू जस्तै छ । केही बर्ष अघि म दामन गएको थिएँ । त्यहाँ प्रसस्तै पैयूका रुखहरु थिए । दामन चिसो ठाउँ हो । हिउँदमा सधै बाक्तलो तुषारो पर्छ । कहिले काँही हिउँ समेत पर्छ । त्यसैले त्यो रुख पैयु होला भन्नेमा मलाई शंका छ । रुखको नाम के रहेछ  टेकु सँग सोधौला । 

 छाहारी नदिए पनि ब्याडमिन्टन खेल्ने साथीहरुलाई उपयोगी भएको छ रुख । विहान खेल्न आउँदा व्याटमीन्टनको व्याग झूण्डयाउँछन् । सगैको कोर्टमा खेल्छन् । नखेलेकाहरु रुख सँगै टाँसिएको बेन्चमा बसेचर खेल हेर्छन् । हार्नेले जित्नेलाई जलेबी किनेर खुवाउँछन् । झ्यालबाट हेर्दा पैयुको रुखलाई सुरीलो अशोक रुखले ओझेलमा पारेको छ । यो अशोकको रुखले गाउँको सम्झना साउनेभेल सरी मन भरि छाउँछ ।

हाम्रो बारीको छेवैमा अशोकको रुख थियो । प्रत्येक विहान दतिवन गर्दै म रुख मुनी पुग्थे । दक्षिण तर्फको सबै भन्दा तल्लो हाँगोमा झुण्डिएर कसरत गर्थे । एक दिन विम खिच्दा खिच्दै हाँगो भाँचियो । म भूँइमा पछारिएँ । केहि समय मैले कसरत गर्न छाडे । कसरत गर्न छाडेको चोट लागेर या डराएर होइन । भाँचिएको हाँगो भन्दा माथिल्लो हाँगो अली माथि थियो । म उफ्रेर पनि पुग्न सक्दैनथे । केही विहानहरु हाँगो समाउने प्रयासमा, बल गरेर धेरै पटक उफ्रिएँ तर सफल भएन । टाइम पास हुँदै गयो ।

सायद बर्षातकै समय थियो । दतिवन गर्दै म रुख मुनी पुगे । दतिवन मुखैमा राखेर दुबैहात माथि लगेर बुरुक्क उफ्रिएँ । दुबै हातले हाँगो समातेर, म हावामा झुण्डिरहेको थिएं । मेरो शरिरको भारले हाँगो हल्लियो । बरर गर्दै निला फल भूई भरी खसे । मैले हाँगाबाट हात छोडे । फेरी हाँगो हल्लीयो । फलहरु फेरी झरे । मुखको दतिवन एकतिर मिल्काएँ । यौट दाना टिपे टोके । स्विमीको फल चाखे पनि अशोक फल चाखेको थिएन । नमिठो रहेछ थुके । नमिठो गन्द अझ पनि मुखैमा बसे झै लाग्छ । अशोकको रुख सँगै शिरिष र बकाइनो लहरै थिए । शिरिषको निलो फूल, अशोकको फल र भदौ असोजको सफा निलो आकाश मलाई अति मनपथ्र्यो । भो छोडौं यी सारा कुरा ।

आज शनिबार । नेपालगञ्जबाट प्रकाशित हुने कान्तीपुर र नागरिक ढिलो गरी आइपुग्छ । ढिलो पुगेका पत्रीका साथीहरु सगैै क्वाटरमा बसेरै पढ्दै थिएं ।

"कसरी टाइम पास गर्ने यार, विदा भनेसी दिक्दार लाग्छ ।" एक जना साथीले कान्तिपूर एकातिर राख्दै भने ।

"बेष्ट टाइम पासका लागि पढ्ने ।" नागरिकदैनिकमा छापिएको इश्वर बुढाथाकीको पाठक बयानबाट आँखा हटाउँदै बोले ।
   
"बहियात" उनले नाक खुम्चायाएर भने । "पढ्ने जस्तो झुर काम केही हुन्न । कोर्सको किताब त मुस्कीलले पढियो । जाँचमा लेख्न नपर्ने भए त्यो पनि पढिदैनथ्यो ।"

"किताब जस्तो राम्रो साथी समय विताउन केही हुदैन ।"  स्वरमा 'पाठक बयान' को प्रभाव ल्याउँदै भने ।

"मलाई यस्तो भन्नेहरुले नाटक गरे जस्तो मात्र लाग्छ ।"

मलाई नमिठो लाग्यो तर पनि बोलिन ।

"टाइम पास त गर्नै परयो, लौ गेम खेल्न जाउँ ।" साथीहरु कोठाबाट निस्किए ।

आफु परियो सिप नभएको । न तास खेल्न जान्ने, न त खेलेको हेर्न नै सक्ने ।  त्यसैले त्यता तिर जाँदैन । अहिले मध्यन्ह छ । दिन पनि, रात जस्तै चकमन्न र शान्त छ । म क्वाटरमा एक्लै छु । केही अघि सम्म साथीहरु थिए । अहिले छैनन् । उनीहरु टाइम पास गर्न गएका छन । विदाको दिन दिउँसो देखि साँझसम्म एक्लै हुन्छु । उनीहरु टाइमपास गरी साँझ फर्कने छन् । म पनि टाइम पासमा व्यस्त छु । ल्यापटपमा औलाहरु चालिरहेको छु । मेरो औलाहरुको गति भन्दा घडीको काँट छिटो चलिरहेको छ । टक. टक. टक.......

उनीहरुलाई तास खेल्न र हेर्न मन लागे झै मलाई पढ्न र लेख्न मन लाग्छ । उनीहरुको पनि टाइम पास हो, मेरो पनि टाइम पास नै हो । जसरी टाइम पास गरे पनि जीवन कै टाइम पास गरीरहेकाछौ । बास्तवमा यो लेखाई फगत टाइमपास थियो ।  





No comments:

Post a Comment