Sunday, September 11, 2011

नेपालीमा टाइप


सन २००१ देखि २००४ सम्म
म राम्रो जागीरमा खोजीमा थिएं । स्नाक्तोत्तरको अध्ययन सकिए पछिको चक डस्टर हल्लाउने कामले दिक्दार भई सकेको थिए । पढाउने पेशा नराम्रो होइन तर पनि मेरो मन लाग्दै लागेन ।

बोलीराख्नुपर्ने, कापी जाँच्नु पर्ने, विद्यार्थीहरु सँग कचकच गरीराख्नु पर्ने । यो सब मेरोे स्वभाव सँग मेल खादै खाँदैन्थ्यो । मैले यसो भनि राख्दा तपाईलाई चोट पर्न सक्छ ।

 गाउँघरबाट आउने आफन्त सोध्थे, “के गर्छस, ठूला ? ”

“क्याम्पस पढाउँछु ।” सुरुवाती दिनमा छाती फुलाउँदै भन्थे । 

समय वित्दै जाँदा यो जवाफ सुन्नेहरुले नाक खुम्च्याउँदै भन्न थाले, “ए.......................”

मलाई नमज्जा लाग्थ्यो । 

“के गरिन्छ ?” कसैले सोधे,मैले कुरा घुमाउँथे ।  कुरा चपाएको थाहा पाए पछि सोध्नेहरुले आगोमा ध्यु थप्थे, “यो चालाले भएन ठूले, अव सरकारी जागिर खानु पर्छ, गोभरमेन्ट भनेको गोभरमेन्टै हो, सिभिल भन्दा कता हो कता ।” 

जागीरको बारेमा भन्नु पर्दा मुटुमा गाँठो पथ्र्यो खै किन हो । माडको व्यवस्था माष्टर साबकै पेसा बाट भएको पुगीरहेको थियो । राजधानीको घरपट्टीको मुखमा समय मै बुझो लाउने आधार पनि त्यही थियो । तर पनि सुत्ने बेला सधै म मास्टर साहव आफैलाई धिक्कारथें । "साला, मास्टरी कहिले छाडेन"


उमेर पनि भै सकेको थियो । मनमा पनि पञ्चे बाजा बज्न थालेको थियो । झन बाआमालाई हुटहुटी किन नजागोस । खेतबारीको काम सकिएको फुर्सदिलो दिन थियो । बुढाबढी सँगसगै नडुलेको पनि धेरै भएको थियो । बाआमाले पनि मौका छोपे।  बुहारी भित्र्याउने सुरले झोला भिरेर हिडे ।

 कुल गोत्र उमेर शिक्षा रुप मिलेकी भेटे पछि साइनो गाँस्ने प्रस्ताव राखे । बाआमाका सम्भावित सम्दी पनि के कम । उनले पनि मेरो नालीबेली सोधे । छोरी जिम्मा लाउनु पर्ने, त्यत्तीकै कहाँ छोड्थे र । मेरा बाआमा पनि के कम, फुलबुट्टा भरि भरी मेरो बखान लाए ।  सबै मिलिसकेको थियो रे । कुरा विग्रिएछ मेरो जागिरले । 

“अनि छोरा के काम गर्दैहुनुहन्छ, कुन्नी ?” बाआमाका सम्भावित सम्दीले सोधे ।

“काठमाण्डुमा क्याम्पस पढाउँछ ।” बाले भ्यागुतो फुले झै फूल्दै भने ।

“ए......हो र ।” बुढाले मुख अमिल्याउँदै मनको अमिलो पोखे,  “उसो भए मास्टरी पो गर्नुहुन्छ ।”

“हैन, हैन, लेक्चरर ।” मेरा बाले सम्भावित सम्दीलाई सच्याउँदै भने ।

“होला, होला, हाम्रा तिन्टै जवाईहरु सरकारी अफिसर हुन् ।”, बुढाले सच्चीदै कुरो अन्त गरे, “छोरीले अझै पढ्छु भनेकी छ, दुई तिन वर्ष त पख्नै पर्ला, पढाई विगार्न त भएन ।” 

राम्री बधु फुत्किँदा बाआमा दिक्दार भए । छोराले मास्टरी छाडेर सरकारी जागिर खाको भए कुलकी छोरी नफुत्किने । मनको औडाहा पोख्न घर नगइर्,  काठमाण्डौं ओर्लिए । आमाका आसुले दिक्दारी माथि दिक्दरी थप्यो । बाका तर्कले मास्टरी प्रति झनै वितृष्ण भयो । अनि सुरु भयो सरकारी जागिर खाइछोड्ने अभियान । 

सरकारी भन्ने कुनै पनि संस्थामा जागिर खुल्योकी, निबेदन हाल्न विराईएन । कति ठाउँमा पढेर, कति ठाउँमा नपढेरै जाँच दिइयो । असफलताको बर्षा नै भयो । सोर्सफोर्स पुगेन भन्नेहरुले भनिरहे । तर पनि मैले मेरो सरकारी जागिर अभियान त्यागेन । मनको भित्री कुनामा पढाई नपुगे कै हो भन्ने परेको थियो । 

सन २००५ मा 
सरकारी जागिर अभियानको चौथो वर्ष । लोक सेवा आयोगले मलाई सेवा गर्न कहिल्यै बोलाएन । निराश भएन । मास्टरी चपाउँदै, सरकारी जागिर अभियानमा डटिरहे । एक दिन गोरखापत्रमा यौटा सरकारी जागिरको विज्ञापन देखे । सरकारी जागिरेहरुसँग विज्ञापनको बारे चर्चा गरें ।

“पाए त गजबै हुने  तर गाह्रो छ ।” धेरैले ओठ लेप्रयाउँदै भने ।

 भनाईमा काँडा थियो । मन चस्क घोच्यो । नाम निकालेरै देखाउने अठोट लिएँ । जागिरको फारम बुझाएँ । पेटमा पटुका कसेर पढ्न बसे । तयारी राम्रै भयो । लिखित परिक्षा पनि राम्रै भयो ।

 सरकारी जागिरको मुना मनको हाँगामा टुस्स पलायो । अरुले आफु भन्दा राम्रो गरेका रहेछन् भने त............. मन अलिअलि डरायो । रिजल्ट पर्खन थाले । परिणाम आउन आठ महिना लाग्यो ।

काम विशेषले बुटवलमा थिएं ।  राम मन्दिर नजिकै होटेलमा बास थियो । दाहिने हातको भाग्य रेखा हत्केलाको फेदबाट बढेर, माझी औलाको फेदै सम्म पुगेको देखे । झल्याँस व्युझिएं । सपना रहेछ ।  विहानको साडे चार बज्दै थियो । राम मन्दिरबाट विष्णु सहश्रनाम गञ्जीरहेको थियो । सँगै सुतेका साथी उठिसकेका रहेछन् । सपनाका बारेमा भने । राम्रो भन्लान भन्ने सोचेको थिएं । उनले उल्टै गाली गरे । किन गाली गरे मैले बुझिन ।

विहान  दश बजे तिर पत्रीक हातमा पर्यो । धेरै नम्बरहरुको विचमा मेरो रोलनम्बर पनि रहेछ ं । गाली गर्ने साथीले बधाई दिए । कम्प्युटर प्रयोगात्मक परिक्षा एक महिना पछि रहेछ । प्रयोगात्मक परिक्षामा के गर्ने हो थाहा थिएन । कम्प्युटरमा राम्रै ज्ञान छ भन्ने कता कता अहंम थियो क्यारे । निर्धक्क थिए । 

आखिरमा प्रयोगात्मक परिक्षाको दिन पनि आयो । परिक्षा हल भित्र थुप्रै प्र्रतिस्पर्धीहरु थिए । हल भित्र कसैलाई नहेरी अघि बढें । तोकिएको कम्प्युटर अगाडि बसें । मेरो हातमा प्रश्न पत्र पर्यो । प्रस्न पत्र पढेर चिटचिट पसिना आयो । जिउ शिथिल भयो । आँखा अगाडि अध्याँरो छायो । मानौ म छाँगाबाट खस्दै थिएं । म केही सोच्न नसक्ने भएको थिएं ।

मुखमा हाल्न लागेको गाँस कसैले जबरजस्ती खोसे झै लाग्यो । त्यो खोस्न कोही थिएन । मेरो अज्ञानता थियो । अहंमता थियो । नेपालीलाई महत्व नदिने मेरो लाछीपन थियो । किनकी प्रस्न पत्रको शिरैमा लेखिएको थियोः
  
'नेपालीमा टाइप गर्नु होस् ।'

म जरुक्क उठे । कतै नहेरी परिक्षा हलबाट बाहिरिएं ।

सन् २००९ 
अर्थात असफलताको पाचौं बर्ष । आज म खुसी छु । म सरकारी जागिरे भएको छु । पद र कार्यालयमा जहाँ आज भन्दा पाँच वर्ष अघि असफल भएको थिएं । नेपाली टाइप नजानेर झण्डै मुर्छित भएको थिएं।  म नेपाली अक्षरलाई माया गर्छु । म नेपाली टाइप गर्न जान्ने भएको छु । 

असफलताले दिने ज्ञान अविस्मरणीय हुँदोरहेछ । नेपालीमा टाइप फटाफट गर्छु । यो असफलताले सिकाएको हो । असफल नहँदा सम्म नेपाली टाइप मलाई किन आवश्यक पर्ला र भनि सोच्थे । अनि अग्रेजीमा स्पीड बढाउन मात्र लाग्थे । मेरो मातृभाषा नेपाली तर्फ वास्तै गरिन । कहाँ सम्म भने नेपालीमा टाइप गर्नेहरुलाई पनि वेवस्ता गर्थें । परिणाम, अविस्मरणीय असफलता भोग्नु पर्यो । असफताले मेरो जीवनलाई नयां मोड दियो र यौटा कथा बन्यो ।


No comments:

Post a Comment