Friday, January 17, 2020

यात्रा

यो यात्रामा
सुस्केरा हाल्नै पर्ने उकाली थियो,
टेको लाउनै पर्ने ओराली थियो,
पहाड बदल्ने भञ्ज्यांग अनि
थकाई मार्न चौतारी पनि त थियो,
हाे, याे यात्रा
साह्रै अविश्मरणीय  थियाे।

हिड्दाहिँड्दै
कतै उज्यालो हुन्थ्यो,
अनि कतै रात पर्थ्याे,
कहिले सुनौलो जुनेली
कहिले निष्पट अन्धकार हुन्थ्याे,
हिँडदै रहे, भिडदै रहे
लड्दै उठदै अगाडि बढदै रहेँ,
हाे, याे यात्रा
साह्रै राेमाञ्चक  थियाे।

यो यात्रामा
नदी भएर आएकासँग बग्दै गए,
कतै छाँगा भएँ, कतै छहरा भएँ
बनबुट्यानमा कुर्लदै वगरमा उर्लदै,
समथरमा सलसलाउँदै सागरमा मिसिएँ।

हाे, यो यात्रामा
कतिलाई हँसाए,
कतिलाई रूवाएँ
कति हाँसो दिएर गए
कति आँसु दिएर गए
सबैको यात्रा आफ्नै हुन्छ
मेरो जस्तै
अरुको कहाँ हुन्छ ?

No comments:

Post a Comment