Friday, January 31, 2020

तिमीलाई बिर्सिएँ भने

मलाई केही भन्नु छ,
कुनै दिन मैले तिमीलाई बिर्सिएँ भने
मेराे हत्केला छोएर
सम्झाउनु ति पलहरु,
हात समातेर हिँडदा
देखिएका मायालु ढुकुरका जोडीहरु,
आफु अघि बढेर
तिमीलाई पार गराएका नालीहरु,
हाम्रा नाम खोपिएका
ति अजंगका रुखका फेदहरु ,
तिमीलाइ उचालेर
समाउन लगाएका रूखका हाँगाहरू,
तिम्राे कपालमा सिउँरीदिएका
मगमगाउँदा रंगिविरंगी बनफूलहरू।

अझ पनि सम्झिएन भने
मेरा आँखामा हेरेर
सम्झाउनु ति साँझहरु,
अकास कालो बादलले ढाकिएर
झमझम पानी परिरहेको,
सँगसँगै टाँसिएर
आत्तिदै बासस्थानतिर फर्किदै गरेको,
भोकले पेट मडारिएको बेला
एक दाना चामाल,
एक मुठी पिठो,
एक ढिको नुन नभएको,
नुनिलो आसु सँगै
पानी पिएर सुतेको
कुनै साँझ रायोको झोलसँग
सपनाका मिठा गासहरु निलेकाे ।

अझ पनि तिमीलाई नसम्झिए
तिमी मलाई झकझकाउनु,
मेराे नाम काडेर बोलाउनु,
मेराआँखा, पछाडिबाट हत्केलाले छोप्नु,
म को हो भन्दै सुस्केराले सोध्नु,
जाेडजाेडले चिच्याउनु,
पाउहरू बजार्दै  रिसाउनु,
सबै आक्रोशहरु पोख्नु
तर विन्ती प्रिय
आँसु नझार्नु  ।

मैले नसम्झे पनि,
ए प्रिय
तिमी अन्तरमनमा गडेर बसेकी छाै,
म निशब्द टोलाइ रहे पनि
मैले शब्दले नसभ्झे पनि
म अन्तरमनले सम्झीरहने छु ।
म अन्तरमनले सम्झीरहने छु ।

No comments:

Post a Comment