Sunday, December 29, 2019

आरनको संगीत

खलाँतीको हावाले
गोलमा गूलाफ फूलाउँछ,
भरभराउँदो गोलमा
चिसो मन तताउँछ,
आगोले डढेको मन
सनासोले च्याप्प समाउँछ,
अनि ठोक्छ, ठोकिया
ठवाक्क।  ठवाक्क । ठवाक्क ।
आरने आफनो आरनमा ।

देवता र दानब भन्दा अघि
गुफाहरुबाट हुर्केर आएको
यो आरनेको आरन
बर्बबरताको चित्कारहरुमा
सा रे गा मा को लेपले टालेर
आरने फलामे मन फकाइरहेछ,
पख !
एक दिन
मेरा सुनौला लप्काहरुले
पधेराका काँडाहरु जलाउने छ,
भोटे ताल्चा पगालेर
मन्दिरका ढोका स्वचालीत बनाउने छ,
तेरो टोपी र कछाडको मैलो
अत्तर बनाएर उडाउने छ
बस्तीका तुवाँलाहरु
सुनका जलपले चम्काउने छ
अनि
तेरा स्वतन्त्र हातहरु
खुल्ला आकाशमा नचाउनु
तेरा मुक्त खुट्टाहरु
नयाँ बाटोमा दौडाउनु ।
आफनै धुनमा डुबेको आरने
चोटैचोटले कुरुप भएको मनलाइ
रेती र खाक्सी दल्छ
स्याँईं । स्याँईं । स्याँई
आरने आफनो आरनमा ।

बराजूहरु व्युझनु भन्दा अघि
दिनै नविराई व्युझनेआरन
भोक  तिर्खा  विर्सेर
घिन्तांग र मुच्र्छानाहरु जोडेर
आरनेको दिल बहलाइरहेछ
पख !
त्यो दिन
मेरा सुनौला लप्काहरुले
फलामे धुलोलाई सुन बनाउनेछ,
आँसु  पसिनाका अतित गालेर
शालिक बनाई चौबाटामा उभ्यानेछ,
सम्मान र जिबनको घाउहरुमा
जुनको शितलता लगाउने छ
बस्तीका तुसारो पगालेर
समानताको समुद्र बनाउनेछ
अनि
तेरा स्वतन्त्र हातहरु
गहिरो सागरमा घुसाउनु
तेरा मुक्त खुट्टाहरु
न्याँनो पानीमा डुबाउनु ।
आफनै धुनमा डुबेको आरने
घिस्सींदा घिस्सींदा
खिइएको मनमा
कडा पाइन हाल्छ,
च्वाँई ..च्वाँई.. च्वाँई
आरने आफनो आरनमा ।

फेरी त्यसै गरी
आर्को पाइन हाल्न,
खलाँतीको हावाले
गोलमा गूलाफ फूलाउँछ,
भरभराउँदो गोलमा
चिसो मन तताउँछ,
आगोले डढेको मन
सनासोले च्याप्प समाउँछ,
अनि ठोक्छ, ठोकिया
ठवाक्क।  ठवाक्क । ठवाक्क ।
आरने आफनो आरनमा ।

No comments:

Post a Comment