Thursday, February 28, 2013

मात्र बाँच्नु पर्छ, के के देख्न पाइन्छ के के


मात्र बाँच्नु पर्छ 
के के देख्न पाइन्छ के के
घाम उदाउँदाको रक्तीम आकास
घाम अस्ताउँदाको गोधुली साँझ
चराहरु उडेको, 
जनावरहरु कुँदेको
रुखमा पालुवा पलाएको
जीवन हाँसेको 
के के देख्न पाइन्छ के के
मात्र बाँच्नु पर्छ ।


नयाँ घटनाहरु घटिरहेका हुन्छन् । अर्को नयाँ घटना पछि पहिलेको बासी भै सक्छ । नेपाली समाज झण्डै एक दशकको अवधिमा घटना र परिघटनाहरुले भरिपूर्ण छन् । ती घटनाहरु मन परे नि नपरे नि हामीले भोग्नै पर्छ र सम्झनै पर्छ । 

पहिलो घटना बाह्र बुँदे सम्झौता ।  नीकै अनौठौ घटना हो जस्तो लाग्छ । किनकी २०५२ सालमा  जनयुद्ध थाल्ने माओबादी र २०५८ सालमा संकटकाल लागु गर्ने एमाले र काँग्रेस यसै सम्झौताबाट अंकमाल गरेर हिड्न थाले  । केही समय अघीसम्म एक अर्काका रगतका भोकाहरुको यो मिलन आठौ अश्चार्य थियो ।

दोश्रो घटना राजतन्त्रको अन्त । भगवान मानी पुजिएका जिउँदा मान्छेहरुको २४० वर्षे पुस्तैनी अधिकार यती सहजै खोसिएला भन्ने कल्पनै गर्न सकिदैनथ्यो केही बर्ष अघीसम्म । त्यही मान्छेहरुको जयजयकार गर्न विद्यालय छँदा तराईको बैसाखे टन्टलापुरे घाममा घण्टौं उभिएको थिएँ, म पनि । आमाले मान्छे होइनन् तिनीहरु भगवान भनेर चिनाएकी थिइन्, त्यती बेला । त्यस्ता भगवान ठानिएका र मानिएकाहरु केही एक आपसमै मारामार गरेर नासिए र केही बाह्र बुँदे सम्झौता बाट हटाईए । ठिक थियो या बेठीक इतिहासले पक्कै भन्ला । तर घटना निकै अनौठो हो ।

तेश्रो । प्रधानन्यायधीस प्रधानमन्त्री । केही दिन अघि मात्र दलहरु फेरी अनौठो सहमतीमा पुगे । धेरैले कल्पनै गरेका थिएनन् । यो देशमा प्रधानमन्त्री बन्ने प्रस्ताव प्रधानन्यायधीसलाई गर्नु पर्ला भन्ने बाह्र बुँदे सम्झौताका साझेदारहरुले समेत कल्पना गरेका थिएनन् सायद । यो दिन पनि देख्न पाइयो । सम्भवतः प्रधानन्यायधीस प्रधानमन्त्री बनी हाले भने महा अनौठो हुनेछ । तर प्रधानन्यायधीसलाई प्रधानमन्त्री बनाउने प्रस्ताव नै कम्ताको अनौठो छैन । अचम्मै होइन त ।

मात्र बाँच्नु पर्छ 
के के देख्न पाइन्छ के के













No comments:

Post a Comment