Monday, March 4, 2013

चिरको रौ भेटीएको र मान्छेको रौ काटिएको


काम देखाउन केही गर्नै पर्ने । प्रहरी पनि कम्मर कसेर लागेको छ । प्रहरीलाई पनि गुण्डा बदमास, फटाहा, चोर, लुच्छा लफंगा समात्ने काममा दिक्दारी लाग्दो हो । पिडा बुझिदिने कसले । कालो बजारी देखि भ्रष्टचारी, चमत्कारी देखि बलत्कारीसम्म ठिक पार्ने जिम्मा प्रहरी कै हो । अनसनकारी, प्रदर्शनकारी र तिनका दर्शनार्थीहरुलाई अनुसाशीत बनाउने पनि त प्रहरी नै हो । यी त भए हामीलाई थाहा हुने र देखिने काम । न देखिने त कती होला कती । 

विचरा प्रहरी । दिक्दारी हटाउन केही हट्के कामहरु गर्नै पर्यो । कहीले उनीहरु तराई तिर गएर गाँजा फाँड्छन्, कहिले बाग्मतीको किनारका जंगल फाँडछन् । कहिले रक्तचन्दन समात्छन् । कहिले डलर समात्छन । कहिले चिरको रौ ।  चिरको रौ फेला पारेको केही दिन वित्न नपाउँदै प्रहरीलाई दिक्दारी मेट्ने नयाँ उपाय सुझ्यो । मान्छे कै रौ काट्ने ।

गोयबल्स शैलीमा सुचना प्रवाह गरियोः  झ्यामुटा ठिक पार्ने अभियानमा प्रहरी दत्तचीत्त छ रे । झ्यामुटा अर्थात झ्यापले, मुन्द्रे र ट्यापे । देशमा झ्यामुटाहरुले निम्त्याएको आर्थीक क्षती, समाजिक खती, राजनैतिक अस्थीरताको मुल्य कति हो प्रहरीलाई मात्र थाहा छ । लामा कपाल पाल्नेहरु, भरखरै दश हजार धरौटी छुट्ने सुधीर बस्नेत, अकुत सम्पत्ती कमाएर जेलबास पश्चात ससम्मान बाहिरीने चिरञ्जीवीहरु भन्दा भयानक अपराधी हुन् । समाती समाती कपाल काट्नै पर्ने अभियानमा त्यसैले प्रहरी छ ।

सबै विषयलाई नकरात्मक दृष्टीले मात्र हेररे हुँदैन । प्रहरीको यो अभियान सफल भएमा देश आर्थिकरुपमा अग्रगमनमा लाग्ने पक्कै छ । किनकी लामा कपाल पालेर कानमा मुन्द्रा झुण्डायाएहरु आर्थिक विकासका मुख्य अवरोधक हुन् । देश बचेखुचेका युबाहरुले जुल्फी लरकाएर हिडे भने देशको काम कल्ले गर्ने । युबा जोश जाँगर कपाल कोर्न र मुन्द्रा लाउन मै खर्चिएमा उत्पादन स्वात्तै घट्ने भन्ने केही विश्लेषकहरुको राय पनि छ । त्यसैले पनि प्रहरीको अभियान समर्थनयोग्य छ । 

समाज घटीरहेका सबै नराम्रा घटनाका जिम्मेवार लामो कपाल पाल्नेहरु नै हुन । लामा कपाल पाल्नेहरुको संख्या र समाजीक स्वच्छताको सम्बन्ध विपरित छ । लामो कपाल पाल्नेहरुको संख्या घट्दै जाँदा समाजिक स्वच्छताको मात्र पनि बढ्दै जाने प्रहरीको विश्वास छ । जय होस् सगरमाथा जस्तो अटल विश्वासको । यस्तो विश्वास र अभियानले अकुपाई बालुवाटार जस्ता अभियानको आवश्यकता नपर्ने पक्कै छ । भ्रष्टाचारको विरोधमा रत्न पार्कमा लड्नु पनि पर्दैन । लामा कपाल पाल्ने साधुहरु पशुपती आउँदा पशुपतिको समाजिक थिती विग्रेको समाचार नआएको पनि त होइन । यस पाली शिवरात्री आउने सबै साधु शन्तलाई मुडुलो बनाउने अभियानमा प्रहरी लागेको छ ।  अली अली आशंका पनि छ । कतै यो विदेशीहरुको चाल त होइन । त्यसैले मलाई के पनि लागिरहेको भने चिरको रौ भेटिनु र मान्छेको रौ काटीनु संयोग मात्र होइन ।

देश राजनैतिक रुपमा अस्थिर छ । लामो कपाल पाल्ने र कानमा मुन्द्रा लाउनेहरुको बढोत्तरी कै कारण राजनैतिक अराजकता छाएको प्रहरीको दृढ वीश्वास रहेको छ । बर्तमान राजनीतिका मुख्य पात्र प्रचण्ड उर्फ पुष्पकमल दाहालको कपालले नीकै प्रसीद्धी कमाएको छ । उनको कपाललाई जोडेर उखानै जन्मेको छ प्रचण्डको कपाल जती इञ्चले बढ्छ त्यही अनुपातमा राजनैतिक अस्थिरता बढ्छ । प्रहरी राजनैतिक अस्थिरता चाहन्न । त्यसैले त उ न प्रचण्डको न त अन्य मान्छेको कपाल बढेको देख्नै चाहन्छ । कठै प्रहरी प्रचण्डको त कपाल खौरीन के सकोस जनता कै रौ खौरेर भए नी राजनैतिक स्थीरता ल्याउन चाहन्छ । यो शुभ कार्यमा सबैले साथ दिँदा राम्रै होला । त्यसैले मेरो पुर्ण समर्थन छ ।

चिरको रौ भेटीनु र मान्छेको रौ काटिनु संयोग मात्र होइन । यसमा पक्कै रहस्य छ ।

No comments:

Post a Comment