Monday, August 22, 2011

परिचय

डष्टविनमा फालिएका
करेसाको मलखाल्डोमा गाडिएका 
बाटो छेउ आगो बालिएका
इतिहासको कुँडाकक्ड 
मेरा पुर्खाहरु  ।


अक्षर अक्षर मा पढछु
विजय र पराजयको कथा,
चापलुसी प्रश्रस्तिको कथा,
अक्षरहरु मौन छन्,
निशब्द छन्,
को थिए,  कहांबाट आए
किन आए, मेरा पुर्खाहरु 
हावामा  कोरिएको धर्को झै
खुल्ला अकाशमा हाराए
मेरा पुर्खाहरु ।

हूडकेहरुको हुडक्याहामा
हुडकेको गान छैन,
सारंगीको ¥याँई¥याँईमा
सारंगीको बयान छैन,
दमाहा, ट्यामकेमा उत्सव बज्छ
बजाउनेको इतिहास बज्दैन ,
बंशावलीको पात्रोमा
म जन्माउने 
डिम्ब र सुक्रकिट हराएको छ 
कस्का थिए डिम्ब र शुक्रकिट
प्रश्न छ इतिहासलाई
पानीमा हानेको लाठी झै
देखिदा देखिदै किन हराए
मेरा पुर्खाहरु ।

डष्टविनमा फालिएका
करेसाको मलखाल्डोमा गाडिएका 
बाटो छेउ आगो बालिएका
इतिहासको कुँडाकक्ड 
मेरा पुर्खाहरु  ।



No comments:

Post a Comment