Saturday, August 20, 2011

टिका

निधारको त्यो रातो अक्षता
धर्मको पहिचान
मानव हुनुको शंका
अछुत भनेर लखेटिरहन्छ
त्यो रातो टिका,
मेरो निधारको टिका 
मेरै लागि विरानो छ 

कहिले धर्म बनेर 
टिका टाँसिन्छ मेरो निधारमा
धेरैले भने,आहा कति राम्रो
अझ राम्रो देखिन
सखारै मन्दिर पुग्छु 
मुर्तिमा टांसिएको टिका
उप्काएर निधारमा टांस्छु 
अनि मख्ख परेर हांस्छु
एैना हेर्छु
निधार टिकामा वा
टिका निधारमा टाँसिएको छ 
अन्यौलमा पर्छु
मेरो निधारको टिका
मेरै लागि विरानो छ ।

कहिले राजनीति  बनेर
टिका टाँसिन्छ मेरो निधारमा
कित्ता नखुलेको राजनैतिक टिका
भकुन्डो बनेर 
म मैदानमा ओर्लिन्छु
पक्ष र विपक्ष पोष्टमा ठोकिन्छु
अलि पर गुडकेर, म
खेलाडी विहीन भै रोकिन्छु
पक्ष हेर्छु, विपक्ष हेर्छु
मलाई खेलाउने खेलाडीहरु
तिरष्कृत नजरले हेर्छन्
मानौ मेरा निधारको टिका
चिन्दै चिन्दैनन्
म अन्यौलमा पर्छु
मेरो राजनैतिक टिका 
मेरै लागि विरानो  छ । 

सदियौं देखि निधारमा टांसिएको
अछुतको कालो टिका
रातो अक्षताले छोप्न खोज्छु
हलिया भै खेत बारी जोत्छु
आरनमा  घन ठोक्छु
थोत्रा जुत्तामा सुइरो रोप्छु
थागना टाल्छु
कुहिएका सीनो फाल्छु
म थाक्छु, 
निधारको रातो टिका
पसिना सगै वग्छ
बांकी बच्छ 
अछुतको कालो टिका

No comments:

Post a Comment