Sunday, January 8, 2012

सन् २०१२ को पहिलो दिन

" कंहा थियौ तिमी  रंगमंच उठे पछि आयौं
समयले जवानी लुटे पछि आयौं "
समयले सन् २०११ को रंगमंच उठाएको छ   ।  धेरै नाटकहरु मन्चन भए यो संसारको रंगमन्चमा  ।  केहि राम्रा थिए, केहि  नराम्रा पनि     जे थिए, जस्ता थिए, हाम्रा लागि इतिहास भए   किनकी  समयले सन् २०११ लाई हामी बाट लुटेर लागिसकेकोछ । सन् २०११ को क्यालेन्डर भित्ताहरुबाट हराएको छ  । 

नयाँ बर्ष शुरु हुनु भन्दा केहि समय अघि देखी,  म पनि हराएको थिएँ   सुदुर पश्चिमका पहाडी
भाग चाहर्दै थिएँ  जनवरी १, २०१२ को बिहान, डोटीको  सिलगुडीमा, हिउदे मनसूनको चिसो स्याँठमा रमाउंदै माथि माथि उक्लिरहेको थिएँ  । सन् २०११ लाई कुल्चेर, सन् २०१२ मा उक्लिएको जोश थियो सायद, झरीमा भिच्दै हिडदा पनि शरीर कापिरहेको थिएन  
मानिसहरु डांडाहरु हिउँले ढाक्ने आसंका गरिरहेका थिए  । सेताम्य पहाड हेर्ने रहर म मा पनि जागेको थियो     तर आकाश बिस्तारै खुल्दै गयो   चिसो बायुं को गति धिमा हुँदै गयो  । हिउँ पर्ने सम्भावाना जिरो डिग्रीमा झर्यो  ।  निराशा साँझ बनेर आयो  । हिउँ भन्दा नि चिसो  मन सिरक भित्र छिराएँ । सन् २०१२ लाई अंगालेर, मिठो सपना देख्दै, म भुसुक्क निदाएँ   
              

No comments:

Post a Comment