Thursday, December 22, 2011

म र भूस्याहा

टोलको यौटा भूस्याहा मर्यो
किन मर्यो
सोधखोज भयो,
कारण भेटिएन
मृत्युको जाहेरी भयो
नगरपालीकाले झेल गरयो
धेरैले भने,
त्यसैले विचरा मरयो ।

मलाई हाइ सञ्चो भयो,
हिड्दा भुक्ने
गास खोस्ने
मेरो पेटमारा मर्यो
साले ! भूस्याहा
मर्यो  ।

जुलूस निस्क्यो
टायर जल्यो
ढुंगा धूवाँ बर्स्यो
आश्रुग्याँस  पड्क्यो
आँखा पोल्यो
गोली चल्यो
गाडी जल्यो
सरकार गल्यो
अन्तमा,
भूस्याहा शहिद घोषीत भयो
सबैले भने
आहा ! कस्तो राम्रो भयो ।

मलाई हाइ सञ्चो भयो,
गल्ली र टोलमा हिड्न रोक्ने
फोहोरको बोरा लुछ्ने
आततायी,
अत्याचारी,
फटाहा मर्यो
साले! भूस्याहा शहिद भयो ।

बाँच्दासम्मको शत्रु,
साले ! भूस्याहा
मरे पछि पनि
भन्नु परिरहेछ,
भूस्याहा जिन्दाबाद!
भूस्याहा अमर रहोस!!

No comments:

Post a Comment