Wednesday, December 14, 2011

कालीकोटका मनविर सुनारको सम्झना


हामी हाँसेकोमा
हामी नाँचेकोमा
हामी बाँचेकोमा
दुःखी छन् यी चोखा भनाउँदाहरु
र त
ओठबाट हाँसो खोस्छन्
पाउहरुमा नेल ठोक्छन्
जीउबाट प्राण थुत्छन् 
यी चोखा भनाउँदाहरु ।

यमराजका सन्तानहरु

आगो सल्काउँछन् हाम्रा जीउ भरी
हाँस्न भन्छन्, 
नाँच्न भन्छन्
बाँच्न भन्छन्
जब जलनले हामी तडपन्छौं
पेट मिचीमिची रमाउछन्,
यी चोखा भनाउँदाहरु ।

आँसुको संगीत सुनेर
रगतको मातमा झुमेर
आदेशहरु जारी गर्छन
यी चोखा भनाउँदाहरु, 
खबरदार ! 
"जिउमा आगो नसल्काई
तिमीहरु हाँस्न पाउँदैनौं,
सग्ला खुट्टाहरुमा
तिमीहरु नाँच्न पाउँदैनौ,
मुटु र स्वास चलाएर
तिमीहरु बाँच्न पाउँदैनौ,"

हामी इन्कार गर्छौै
मनुस्मृती आदेशहरु
चाणक्य कुटिल चालहरु
त्यसैले 
त्रशित छन यी चोखा भनाउँदाहरु
र त
ओठबाट हाँसो खोस्छन्
पाउहरुमा नेल ठोक्छन्
जीउबाट प्राण थुत्छन् 
यी चोखा भनाउँदाहरु 

No comments:

Post a Comment