Tuesday, March 20, 2012

हराएको गोधुली साँझ



हिजो साँझ बाँगदेलजीलाई नयाँ सडकमा भेटेँ ।...........

 एब्सटयाक्ट चिन्तन: प्याज को पहिलो वाक्य । शंकर लामिछानेले भनेको हिजोको साँझ  कुन साँझलाई भनेका होलान ? बाँगदेल जी भनेको त पक्कै पनि लैनसिंग बाँगदेललाई नै भनेका होलान् । त्यो साँझ, हालको न्युरोडमा  चहलपहल कस्तो थियो होला ? म पनि त आज साँझ न्युरोड पुगेको थिएँ । 

"ल्याम्प -पोस्टबाट  खसेको जून" मा मनु मन्जिलले ओरालेको "साँझ" जस्तै थियो कि,  शंकर लामिछानेले भनेको हिजोको साँझ ?  वा अन्य कुनै साँझ जस्तो थियो उनको त्यो साँझ ?

२०२४ सालमा मदनपुरस्कारबाट सम्मानित निबन्धसंग्रह  एब्सटयाक्ट चिन्तन: प्याज  । त्यसै निबन्ध संग्रहको शिर्षक निबन्ध  पढ्दै छु । धेरै पटक पढिसकेको छु । फेरी पढ्न मन लाग्यो । मलाई मन पर्ने निबन्ध हो यो । खै के छ यस मा ? 

शंकर लामिछानेका निबन्धहरु सबै मलाई मिठा लाग्छन् । यथार्थपरक लाग्छन् । सलल बग्छन् । आफनै मनको भाव उतारिए जस्तो लाग्छ । जस्तो माथि उल्लेखित निबन्ध कै यौटा अंस

............म स्पुतनिकको उडानमा खुसी पनि हुन्छु, चन्द्रमाको धुलोमा रुसको हँसिया हतौडा अंकित चिन्ह उतारेको सुन्दा मलाई यस्तो गौरब हुन्छ मानौ हँसिया हतौडा मेरै घरबाट खुस्चेभले मागेर लगेका थिए । र अर्कोतिर, चन्द्रममा ग्रहण लागेको बेला पेटमा कुनै गर्भिणीले छोइदिन्छे कि भन्ने म पीर पनि मान्दछु च्यामे पोडेलाई दान पनि दिन्छु , मानौ महाराज मनु मेरा लामिछाने परिवारकै बाजे हुन । ...........

लामिछानेको "गोधुली संसार" का निबन्धहरु पनि मलाई साह्रै मनपर्छन्, भूपी शेरचनको "घुम्ने मेचमाथि अन्धो मान्छे" मा भएका कविताहरु जत्तिकै  । तर उदेक लाग्दो कुरा गोधुली संसार मेरो संग्रह संसारबाट हराएको छ । कसलाई दिएँ वा कसैले लगेर फर्काएन वा कसैले थाहै नदिई लग्यो । निकै दुःख लागिरहेको छ । 

No comments:

Post a Comment