काठमाण्डौका बाटाका छेउँहरुमा कतै कतै शिरिषका बोटहरु अझै पनि छन् । त्रिपुरेश्वरबाट दशरथ रंगसालाको छेवैछेवै खुड्कीलो उक्लेर आर्मि अफिसर्स क्लबको गेट नपुग्दासम्म लहरे पिपल र शिरिषको बोटहरु ठिंग उभिएका छन् । फुल फुल्ने बेला हो, शिरिषका बोटहरुमा । म त्यतैबाट हिडिरहेको थिएं ।
हेर्दै हिडिरहेको थिएं निला फूलहरु । हाँगाहरुमा झुण्डिएका छन् । हावा चलेको छैन । निला थुंगाहरु बररर झरे । अघि अघि हिडेकी युवतीका कालो कपाल निलै पारेर । लाज पचेका निला फूल ।
शिरिषको फूलले रंगिएको निलो कपाल । म फल्यास ब्याकमा पुगें ।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय । अगाडिको लहरे पिपलको रुख । म र उनि छेवैको सिमन्टे बेन्चमा बसेका थियौ ।
"कस्तो रंग मन पर्छ ?" उनले सोधिन ।
"किन ?" मैले जवाफ दिएन
"त्यसै । भनन.... भन्न हुन् र ?"
"निलो ।"
"कस्तो निलो ? आकाश जस्तो, समुद्र जस्तो, ऐश्वर्या रायको आँखा जस्तो ।"
"शिरिषको फूल जस्तो ।" मैलै पारी पट्टी पाखामा फुलेको शिरिषका बोटहरु हेर्दै भनें ।
दोश्रो दृष्य
म तिनकुनेमा किर्तीपुर यातयाताबाट ओर्लिए । मैले सोझै बस जाने उकालो तिर हेरें उनि आउँदै थिइन । शिरिष बनेर । नीलो रेशमी कुर्तासुरुवाल खुबै जमेको थियो, गारो जिउमा । जिउमा लपक्कै बेरिएको निलो सल पछिल्तिर फरफराईरहे थियो । लठ्ठै परे । विश्वविद्यालयका कक्षाहरुमा, चमेना गृहमा, चौरमा, पुस्तकालयमा मन भरि निलो शिरिष फूलिरहयो ।
तेश्रो दृष्य
"उहाँ मेरो श्रीमान......" उनी सगै आएका एक भलादमी लाई देखाउँदै परिचय गराईन । म झसँग भए ।
"नमस्कार "हडबडाउँदै मैले दुबै हात जोडे ।
"तपाईको बारेमा यीनी सधै कुरा गर्थिन ......" उनी बोलीरहेका थिए । खै के के बोले । उनको पछिल्तीर नांगिएका शिरिषका बोटहरु हेरिरहे । मेरो मन भरि फुलेका निला फूलहरु पनि झरिसकेका थिए ।
मुसुक्क हाँसे, क्या थिए, ति दिनहरु ।
अकासे पुल तर्दै थिए गोश्वारा हुलाक निर । टुँडिखेलको मञ्च पछाडि उभिएका शान्ति सेनाको लहर झै शिरिषका बोटहरु देखिए । देश निलो कहिले होला । मन अत्तालियो । टुडिखेलको छेवैछेउँ महांकाल मन्दिर तिर लागे । दुई तिनवटा बोट पर्खाल भित्र बाहिर भेटिए । मन बुझे जस्तो लाग्यो । निला फूल मेरो शिर भरि झारे । मन हलुंगो भयो ।
मन्दिर भित्र छिरें । राता सेता हरिया फूल र पातहरु थुप्रिएको थियो । रातो तातो हुन्छ । रातोले सहास खोज्छ । शक्ति रोज्छ । आफनै रंग खोज्छ, रगत । हामीलाई र हाम्रा देउतालाई पनि रातो चाहिएर होला त्यसैले देश रक्तिम छ । आँखाले शितलता खोजीरहयो, निलो खोजीरहयो फुलपातहरुको विचमा । निला फूलहरु थिएनन्, त्यो पनि शिरिषको ।
मनले शितल खोज्छ । शितलता निलोमा छ । हामीले र हाम्रा देवताले निलो रंग निलो फूल मन पराई दिएको भए , सायद देश पनि शितल हुन्थ्यो की । फुलिरहेका निला शिरिष, मन्दिरहरु भित्र भेटिन्थ्यो कि । महाकाल पछिल्तिरका निला शिरिषको यौबन त्यसै झरिरहेछ । त्यसै ओइलिरहेछ । मन्दिरमा नचढीकनै । शिरमा नशिउँरीकनै । कुनै फूल किन यति अभागि हुन्छन् ?
शिरिष फुलेका थिए ।
पलभर
चित्कार र क्रन्दनहरु
हल्का कोमल
शिरिषका फूल भएका थिए ।
बाटा भरि शिरिषका फुलेका थिए ।
मैले पलक झप्के
हावा चलेछ, पत्तै भएन
अर्को पल निला फूलहरु
पाइतला मुनिबाट चिच्याईरहे ।
शिरिष झरिसके छ
उस्तै रहे
घृणा र क्रोधहरु
चित्कार र क्रन्दनहरु ।
No comments:
Post a Comment