Sunday, May 27, 2012

संविधान नजन्मिई नमरोस् संविधान सभा

लेखिरहँदा विगत सम्झँदैछु । संबिधान सभा जन्माउन धेरैले संघर्ष गरे । धेरैको रगत र पसिना बग्यो । संविधान सभाबाट संविधान बनाउने आसमा धेरैले जीबन बलिदान गरे । संविधान सभाबाट संविधान बन्ने भयो । संविधान सभाको निर्बाचन भयो । राजनैतिक पार्टी र जनताहरुले उत्साहजनक सहभागिता जनाए । र संविधान सभा जन्मियो ।

निर्बाचित प्रतिनिधीहरुको पहिलो सभा बसेको आज ठिक चार बर्ष वितेको छ । दुइ वर्षे चोलाको संविधान सभाले दोब्बर आयु आफै बडायो । अहिले चाही सर्बोच्च अदालतले आजका दिनसम्म आयु तोकिदिएकोछ । कुनै मृत्युञ्जय बुटी नपाए आजको मध्ये रातमा संविधान सभा मृत्यु शैयामा सुतिसकेको हुनेछ । भोलि विहान संविधान सभा इतिहास भैसक्ने छ ।

देश पिडामा छ । जनताहरु निराश छन् । चार बर्ष अघिको उत्साह, आक्रोशमा बदलिएको छ । मिठा तथा सुन्दर सपनाहरु झरयाम झुरुम फुटेका छन् । चार बर्ष अघि सभासदहरुलाई स्वागत गर्नेहरु तिता अलोचना गरिरहेका छन् । यो दिन, यो पल, उकुमुकु लाग्दो छ । भयंकर अनिष्ट आफनै अगाडि उभिए जस्तो त्राशपुर्ण छ । मिठो निद्रामा ऐठन जस्तो भइरहेको छ । जन जनलाई सकस भईरहेको छ ।

साँच्चै संविधान आउला त ? सवैले सोधिरहेका छन् । नसोधुन पनि किन ? सबैको भरोसा र आसाको केन्द्र संविधान सभा हो । त्यहाँ आफना अमुल्य भोट दिएर पठाएका मान्छे छन् । मतपत्र सँगै उनिहरुका अनुहार पठाएका छन् ।

रिक्साचलाक, रिक्सावालहरुको सपना बोकेर आएको छ संविधान सभामा । चोलो सिलाउने दिदी फाटेको मन सिलाउन त्यहाँ भित्रिएकी छन् । विगतका कमलाहरीहरु आफना मुक्त हातहरु उठाईरहेका छन्, संविधान सभाको आँगनमा । हिजो जस्तै लाग्छ, उनीहरु त्यहाँ भित्रिएको । समय कति गतिशील छ । हेर्दा हेदै चार वर्ष वित्यो । उनीहरुले भोटहाल्नेहरुलाई विर्र्सिए पनि विर्सिएका छैनन् उनीहरुलाई, भोट हाल्नेहरुले । किनकी भोट फगत भोट मात्र होइन सपना, आशा र चाहनाहरु हुन ।

शोषित पिडितहरु संविधान सभाबाट आफ्नो मुक्तिपत्र जन्मने आसामा छन् । विभेदमा बाँचेकाहरु समानताका तरंग फैलने विश्वासमा छन् । राज्यबाट टाडिएकाहरु राज्य नजिक पुग्ने सिडी पाउने भरोसामा छन् । अशान्ति र हिंसाले थलिएकाहरु शितलताको आशमा छन् । देशको अँध्यारो कुनाहरु उज्यालो पर्खिरहका छन् । तर उदेक लाग्दो कुरा, यति धेरै आसाहरु पुरा गर्ने भनिएको संविधान नजन्मिई मर्छ कि संविधान सभा ?

No comments:

Post a Comment