Thursday, May 10, 2012

भासुको भिर


सुदुर पश्चिम वास्तबमै सुन्दर पश्चिम हो । धनगढीको दुई बर्षे बसाइको क्रममा गरिएको यात्राहरुले मेरा मनस्पटलमा अमिट छाप छोडेको छ । विद्यालयमा घनघस्याको उकालो चड्दा भन्ने पाठ पढेको थिए । लेखक को थिए थाहा थिएन । पछि थाहा पाएं तारा नाथ शर्मा रहेछन् । मलाई  पनि धेरै बर्ष अघि तारानाथ शर्मा उक्लिएको उकालोको छेउ छाउँ घुम्ने अवसर मिल्यो ।

मेरो बसाई धनगढीमा भए पनि सुदुर अंगाद्ल्न पाएँ । बेलाबखत सुदुरका सुरिला पाहाडहरुसँग पैठेजोरी गरि रहनु पर्ने । मेरो मन भरि सैपाल हिमालको आँगनमा उम्रिएका सल्लाका रुख जस्ता अजंगका पहाडहरु अटल भएर गाडिएका छन् । खानी डाँडाको चिसो हावा तराईको तातो हावालाई पटाक्षेप गरेकोछ । भासुको भिरको त्रासले मन अझ बढी साहस जन्माएको छ ।  सहजपुरको पहेला सुन्तला, साहुखर्कको खिर भातकाँडाको भात ले मेरो मनमा सुदुर पश्चिमको मिठास भरेको छ । दार्चुला र बाजुरा नपुग्नुको पिडा छाती भरी  छ ।

शुदुर पश्चिमका सात वटै पहाडी जिल्ला डडेल्धुरा, डोटी, बैतडी बाजुरा आक्षाम, बंझाग र दार्चुला पुग्न भासुको भिर कुल्चेर जानु पर्छ । कैलाली जिल्लाको उत्तरी पहाडमा भासुको भिर लमतन्न सुतेकोछ । मानिसहरु पनि के कम । भासुलाई व्यीउँझाउन बाटो पूर्याई छाडे । अत्तरियाबाट दश किलोमिटर उत्तर तर्फ मोहना नदिको छेउँको गोदाबरीलाई  सियाँल पार्दै पहाडहरु ठिंग उभिएका छन् । मोहना नदि माथि तेरसिएको पुलले गोदबारी र पहाडलाई जोडेको छ । पुल तरे पछि भासु तर्फको यात्रा शुरु हुन्छ । पच्चिस किलोमिटरका दुरी पार गरे पछि खानी डाँडा आउँछ । खानी डाँडा  पछि को पाँच किलो मिटर उत्तर त्यो डरलाग्दो भिर छ ।

भासुको भिर । सदुर पश्चिमको पहाड तर्फ आउँदा जाँदा मुटु सिरींग हुने भिर । मन भरी त्रास भर्ने ठाडो भिर । भिरलाई खोपेर बाटो बनाईएको छ । त्यहाँ पुग्नू अगवै बसका यात्री खासखास खुसखस गर्न थाल्छन्, आउनै लाग्यो भासु, आउनै लाग्यो भासु । विगतका तिता घटना कठै भन्दै सम्झन्छन् । सयौलाई खायो भासुले । लछप्पै भिजेको छ भासु रगत र आँसुले ।

 सडकबाट तल हेर्दा ठाडै तल कता हो कता रु मुटू नै झसक्क हुन्छ । रिंगटा लाग्छ । आँखा आफै बन्द हुन्छन् । त्यहाँ पुग्नु भन्दा अघि चालकहरु देउता सम्झन्छन् । प्याँपप् प्याँपप् हर्न बजाउँछन् । भासु भिरको घुमाउरो बाटो सकिए पछि पनि देउता सम्झन्छन् उनीहरु  र हर्न बजाउँछन् प्याँपप् प्याँपप् ।

म डोटी जाँदै थिएँ । म चढेको बस पुगिसकेको थियो, ‌भासुको भिर ।

मलाई भोक लागेको थियो । मनमा तरकनाहरु कुँदिरहेका थिए । बसको गति कम भएको छ । मैले भिर तर्फ आँखा दौडाएँ ।  यो भिर सुन्दरछ कि कुरुप ? मेरो मनमा एक्कासी प्रस्न उब्जीयो । मलाई कथंकदाचीत यहीं नेर केही भयो भने ? मैले मेरा लालाबाला सम्झिएँ । निधारमा चिट चिट चिसो पसिना आयो । निधारको पसीना हातले पुच्छदै  टाउँको फरक्क फरकाएँ । सँगै बसेको साथीलाई पुलूक्क हेरें । मानौ उसले मेरो निधारको पसीना देख्यो । तर उ कानमा एयरफोन घुसारेर आँखा चिम्लेर मस्त थियो ।

भिरलाई हेर्ने मेरो दृष्टिकोण कतै नकारात्मक त होइन ? भिरका सकारात्मक पक्ष पनि हुन सक्छ । सकारात्क पक्ष के हुन सक्छ ? मनले जवाफ दिन सकेन । भिर कुरुप भन्दा पनि बढी सुन्दर छ  जस्तो लाग्छ ? तर कस्तो सुन्दर छ भन्न सकेन ।

तर मलाई लाग्छ सकारात्मक पक्ष पनि छ । त्यसैले त भासुको भिर त्यहाँ बसेको छ ।


सौन्दर्य र शितलताको खानी हो, खानीडाँडा । आकर्षक पर्यटकीय गन्तब्य, विशेषतः गृष्मका लागि । गन्तब्यमा भासुको भिरलाई पनि समाबेश गर्न सकिन्छ । रक क्लाइम्बींगका लागि आकर्षक गन्तब्य बन्न सक्छ भासुको भिर । जहाँ सयौं पर्यटकले भासुको भिरलाई स्पर्स गर्न पाउँथे होला ।

धनगढीबाट धेरै टाडा पनि त छैन नि खानीडाँडा र भासूको भीर । त्यही लगभग पचास कि.मी. को दुरीमा छ । राम्रा होटेलहरु मात्र बनाउन सके, पर्यटक रातै बिताउन आउँथे होला । सुर्य उदय मिल्ने स्पट बनाउने सके, सुदुर पश्चिम सूर्य सँगै व्युझ्न्थ्यो होला । राम्रो पार्क बनाउन सके, मायालु जोडी माया साट्न सक्थे होला ।

भासुको भिरले त्रास हैन, माया साट्थ्यो होला । सबैको माया बाँड्थ्यो होला । भासुको भिर खानी डाँडा जस्ती सुन्दरी अँगालेर सुदुर पश्चिममा मुस्कुराउँथ्यो होला ।

पछि पछि आउँदा सुन्दर भासुको भिर देख्न पाउँ । आहा भासुको भिर लेख्न पाउँ ।


No comments:

Post a Comment