Sunday, April 28, 2013

स्वतन्त्रताको गीत

पिञ्जडा फोडेर उडेका चराहरु
कुँजीएका पखेटा फटफटाउँदै
निदाएका खुट्टा तन्काउँदै
मुक्त उडानमा चारैतिर हेरे
अनि देखे
नदीमा बाँधिएका बाँधहरुले
सागरको गहिराई दिन नसकेको
फेवा र रारा बनाउन नसकेको,
धर्ती बाँडने अजंगका पहाडहरुले
प्रेमको लहरो छेक्न नसकेको
खाडलको पिडा बुझ्न नसकेको,
आकाश छेक्ने बादलहरुले
घाम उदाउन रोक्न नसकेको
जुनको गति बदल्न नसकेको,
त्यसैले त
पिजडामा थुनिएकाहरुका लागि
आकाशमा उड्नेहरुका लागि
धर्तीमा सुत्नेहरुका लागि
पिञ्जडा फोडेर उडेका चराहरु
गाईरहेछन् स्वतन्त्रताको गीत
चरा उडन देउ,
नदी बग्न देउ,
घाम लाग्न देउ,
जुन चम्कन देउ,
हावा चल्न देउ,
बाँच्न चाहनेलाई
स्वतन्त्र बाँच्नदेउ ।

No comments:

Post a Comment