Tuesday, March 20, 2012

हराएको गोधुली साँझ



हिजो साँझ बाँगदेलजीलाई नयाँ सडकमा भेटेँ ।...........

 एब्सटयाक्ट चिन्तन: प्याज को पहिलो वाक्य । शंकर लामिछानेले भनेको हिजोको साँझ  कुन साँझलाई भनेका होलान ? बाँगदेल जी भनेको त पक्कै पनि लैनसिंग बाँगदेललाई नै भनेका होलान् । त्यो साँझ, हालको न्युरोडमा  चहलपहल कस्तो थियो होला ? म पनि त आज साँझ न्युरोड पुगेको थिएँ । 

"ल्याम्प -पोस्टबाट  खसेको जून" मा मनु मन्जिलले ओरालेको "साँझ" जस्तै थियो कि,  शंकर लामिछानेले भनेको हिजोको साँझ ?  वा अन्य कुनै साँझ जस्तो थियो उनको त्यो साँझ ?

२०२४ सालमा मदनपुरस्कारबाट सम्मानित निबन्धसंग्रह  एब्सटयाक्ट चिन्तन: प्याज  । त्यसै निबन्ध संग्रहको शिर्षक निबन्ध  पढ्दै छु । धेरै पटक पढिसकेको छु । फेरी पढ्न मन लाग्यो । मलाई मन पर्ने निबन्ध हो यो । खै के छ यस मा ? 

शंकर लामिछानेका निबन्धहरु सबै मलाई मिठा लाग्छन् । यथार्थपरक लाग्छन् । सलल बग्छन् । आफनै मनको भाव उतारिए जस्तो लाग्छ । जस्तो माथि उल्लेखित निबन्ध कै यौटा अंस

............म स्पुतनिकको उडानमा खुसी पनि हुन्छु, चन्द्रमाको धुलोमा रुसको हँसिया हतौडा अंकित चिन्ह उतारेको सुन्दा मलाई यस्तो गौरब हुन्छ मानौ हँसिया हतौडा मेरै घरबाट खुस्चेभले मागेर लगेका थिए । र अर्कोतिर, चन्द्रममा ग्रहण लागेको बेला पेटमा कुनै गर्भिणीले छोइदिन्छे कि भन्ने म पीर पनि मान्दछु च्यामे पोडेलाई दान पनि दिन्छु , मानौ महाराज मनु मेरा लामिछाने परिवारकै बाजे हुन । ...........

लामिछानेको "गोधुली संसार" का निबन्धहरु पनि मलाई साह्रै मनपर्छन्, भूपी शेरचनको "घुम्ने मेचमाथि अन्धो मान्छे" मा भएका कविताहरु जत्तिकै  । तर उदेक लाग्दो कुरा गोधुली संसार मेरो संग्रह संसारबाट हराएको छ । कसलाई दिएँ वा कसैले लगेर फर्काएन वा कसैले थाहै नदिई लग्यो । निकै दुःख लागिरहेको छ । 

Sunday, March 11, 2012

यो त अति नै भयो

म कथा लेख्दै छु । अझ लेख्न सुरु गरिसकेको छैन । पात्रहरुको खोजीमा छु । उपयूक्त पात्र नै भेटिएन । मष्तिस्कमा विहानको  घटना विजुली झै चम्क्यो । पत्रिका ल्याउने भाई पनि त यौटा पात्र हुन सक्छ, मैले लेख्ने कथाको ।  मनमा उसको तस्वीर टुपलुक्क आइपुग्यो ।  कथा को शिर्षक के राखौं ? यौटा हकरको कथा । कथाको विषय नि ? आज विहानैको घटना । ओ.के. ठिक । कथा यस्तो छ ।
यौटा हकरको  कथा
बिहान । करिब पौने छ बजे । मर्निगं वाकको लागि बाहिरीदैँ थिएँ । मेनगेटको फलामे सिटकनी खोल्न के निहुरीएको थिएँ, बाहिरबाट फालिएको कान्तिपुर दैनिक डडाल्नुमै बजारियो । म झसंग भएँ । गेट खोलेर हेरेको पत्रीक फाल्ने भाई साइकिल कुदाउँदै अलि पर पुगिसकेको रहेछ ।
"ए भाई पख पख ।"  मैले चिच्यारै बोलाएँ ।
"किन सर ?"  उसले साइकलबाट ओर्लदै भन्यो ।
"किन हुन नी ? विहान विहान यस्तो नराम्रो सँग पिटेर किन भागेको ?"
"ए पत्रिकाले लाग्यो कि क्यो हो ...........? सरी है सर"
"ठिक छ ठिक । अनि चिया सिया खाइयो त ?" (उ संग म चिरपरिचत छु त्यसैले चिया खाए नखाएको सोध्दछु)
"काँ खानु ? चिया पकाउन पानी तताउँदै थिएँ, ग्याँस सकिएको रहेछ स्टोभ झयाप्प निभ्यो । अनि त्यसै हिडियो । बाहिर कतै खानु पर्ला ।"

कस्तो दिक्दार लाग्दो इन्डींग । कथा को पात्र एका विहानै चिया नै नखाइ काममा निस्कीयो ।त्यो पनि ग्याँस सकिएर ।  लेखकलाई पत्रीकाले गोदयो। कस्तो झुर कथा ।  वास्तवमा यो कथा नै भएन । दिनको सूरुवात नै नकारात्मक छ । यस्तो कथा पनि के कथा ? यो पात्र र विषय बस्तु यही अन्त गरें ।

कस्तो पात्र छानौ ......कस्तो पात्र छानौ........... ।  निर्णय नै गर्न सकिएन । कथा नै लेख्न छोडौ की ? यो त अति नै भयो । अति नै भयो भन्ने वाक्यांसले विहानकै आर्को घटना झल्याँस सम्झायो । मेरै घरको घटना हो । यसमा पनि त सानो तिनो कथा बन्न सक्छ । कथाको पात्र पनि मैले असाध्यै मनपराएकै पात्र हो । विषय वस्तु पनि ठिकै छ । शिर्षक चुलोचौकाको कथा ।
चुलोचौकाको कथा

"ग्याँस चलाउन थालेको एक महिना नाघ्यो ।"   श्रीमतिले कचौरामा दाल थप्दिदै बोलीन्।
"अझ सम्म चलिराछ .......। धेरै दिन चलेछ ........।" मैले मुखमा गास हालेर चपाउँदै भने ।
"अँ... धेरै दिन चलेछ ..... कुन बेला सकिने हो .....। आर्को सिलिण्डर पनि खाली छ ।" उनले स्टोभमा दुध बसाल्दै बोलीन् ।
"शुभ शुभ बोल...... विहान विहान ....." मैले जिस्कदै भने ।
"हेर हेर नभन्दै सकिहाल्यो नी ........"    उनी मलाई हेर्दै रातो पीरो भइन । स्टोभको नब अन थियो तर स्टोभ बलिरहेको थिएन ।
"आत्तिनु पर्दैन व्यवस्था गरौंला नी, साँझ सम्म "   मैले सम्झाउने प्रयास गर्दै भने ।
"अँ..... आत्तिनु पर्दैन, पसलेकोमा नाम लेखाको एक महिना नाघ्यो । अझ सम्म पालो आएको छैन भन्छ, यो त अति नै भयो । दिउँसोको चिया खाजा के मा पकाउने ?"   श्रीमति ले ठुलै समस्या अघि सारिन ।
वास्तबमा यो त अति नै भयो ।  ग्याँस नियमीत पाउन छोडेको धेरै भयो । आफनो ग्याँस नसकिदा सम्म समस्या ठुलो जस्तो लागेको थिएन । ग्याँस सकिए पछि समस्या ठूलै रहेछ भन्ने थाहा भयो ।
कथा कुनै दिन लेखौला । अहिले ग्याँस खोज्न हिँडे । पाइने हो की होइन खै । बास्तवमा भरि ग्याँसको सिलिण्डर भन्दा कथाको पात्र र विषय वस्तु सजिलै भेटिन्छ ? 
बास्तवमा यो त अति नै भयो ।