Tuesday, September 13, 2011

दुखाई


म भित्र विष्फोट हुन बांकी
म भित्र उम्रन बाँकी
म भित्र फक्रन बाँकी
सम्पुर्ण अस्तीत्वका विजहरु 
एकै पटक घटेका छन्
म गण्डकी भएर उर्लेको छु
सक्छौ भने आऊ
मेरा छालहरु बाँध
धमिलोपनको स्वादपान गर ।

चाहानाको लहर
उर्लदो हिमाल हो
अग्ली रहने
बढी रहने
समम्यान सक्छौ भने आऊ
समुद्रको समतलता देउ
प्रहारका हरेक दुखाई
फुल बनेर सहनेछु ।

Sunday, September 11, 2011

नेपालीमा टाइप


सन २००१ देखि २००४ सम्म
म राम्रो जागीरमा खोजीमा थिएं । स्नाक्तोत्तरको अध्ययन सकिए पछिको चक डस्टर हल्लाउने कामले दिक्दार भई सकेको थिए । पढाउने पेशा नराम्रो होइन तर पनि मेरो मन लाग्दै लागेन ।

बोलीराख्नुपर्ने, कापी जाँच्नु पर्ने, विद्यार्थीहरु सँग कचकच गरीराख्नु पर्ने । यो सब मेरोे स्वभाव सँग मेल खादै खाँदैन्थ्यो । मैले यसो भनि राख्दा तपाईलाई चोट पर्न सक्छ ।

 गाउँघरबाट आउने आफन्त सोध्थे, “के गर्छस, ठूला ? ”

“क्याम्पस पढाउँछु ।” सुरुवाती दिनमा छाती फुलाउँदै भन्थे । 

समय वित्दै जाँदा यो जवाफ सुन्नेहरुले नाक खुम्च्याउँदै भन्न थाले, “ए.......................”

मलाई नमज्जा लाग्थ्यो । 

“के गरिन्छ ?” कसैले सोधे,मैले कुरा घुमाउँथे ।  कुरा चपाएको थाहा पाए पछि सोध्नेहरुले आगोमा ध्यु थप्थे, “यो चालाले भएन ठूले, अव सरकारी जागिर खानु पर्छ, गोभरमेन्ट भनेको गोभरमेन्टै हो, सिभिल भन्दा कता हो कता ।” 

जागीरको बारेमा भन्नु पर्दा मुटुमा गाँठो पथ्र्यो खै किन हो । माडको व्यवस्था माष्टर साबकै पेसा बाट भएको पुगीरहेको थियो । राजधानीको घरपट्टीको मुखमा समय मै बुझो लाउने आधार पनि त्यही थियो । तर पनि सुत्ने बेला सधै म मास्टर साहव आफैलाई धिक्कारथें । "साला, मास्टरी कहिले छाडेन"


उमेर पनि भै सकेको थियो । मनमा पनि पञ्चे बाजा बज्न थालेको थियो । झन बाआमालाई हुटहुटी किन नजागोस । खेतबारीको काम सकिएको फुर्सदिलो दिन थियो । बुढाबढी सँगसगै नडुलेको पनि धेरै भएको थियो । बाआमाले पनि मौका छोपे।  बुहारी भित्र्याउने सुरले झोला भिरेर हिडे ।

 कुल गोत्र उमेर शिक्षा रुप मिलेकी भेटे पछि साइनो गाँस्ने प्रस्ताव राखे । बाआमाका सम्भावित सम्दी पनि के कम । उनले पनि मेरो नालीबेली सोधे । छोरी जिम्मा लाउनु पर्ने, त्यत्तीकै कहाँ छोड्थे र । मेरा बाआमा पनि के कम, फुलबुट्टा भरि भरी मेरो बखान लाए ।  सबै मिलिसकेको थियो रे । कुरा विग्रिएछ मेरो जागिरले । 

“अनि छोरा के काम गर्दैहुनुहन्छ, कुन्नी ?” बाआमाका सम्भावित सम्दीले सोधे ।

“काठमाण्डुमा क्याम्पस पढाउँछ ।” बाले भ्यागुतो फुले झै फूल्दै भने ।

“ए......हो र ।” बुढाले मुख अमिल्याउँदै मनको अमिलो पोखे,  “उसो भए मास्टरी पो गर्नुहुन्छ ।”

“हैन, हैन, लेक्चरर ।” मेरा बाले सम्भावित सम्दीलाई सच्याउँदै भने ।

“होला, होला, हाम्रा तिन्टै जवाईहरु सरकारी अफिसर हुन् ।”, बुढाले सच्चीदै कुरो अन्त गरे, “छोरीले अझै पढ्छु भनेकी छ, दुई तिन वर्ष त पख्नै पर्ला, पढाई विगार्न त भएन ।” 

राम्री बधु फुत्किँदा बाआमा दिक्दार भए । छोराले मास्टरी छाडेर सरकारी जागिर खाको भए कुलकी छोरी नफुत्किने । मनको औडाहा पोख्न घर नगइर्,  काठमाण्डौं ओर्लिए । आमाका आसुले दिक्दारी माथि दिक्दरी थप्यो । बाका तर्कले मास्टरी प्रति झनै वितृष्ण भयो । अनि सुरु भयो सरकारी जागिर खाइछोड्ने अभियान । 

सरकारी भन्ने कुनै पनि संस्थामा जागिर खुल्योकी, निबेदन हाल्न विराईएन । कति ठाउँमा पढेर, कति ठाउँमा नपढेरै जाँच दिइयो । असफलताको बर्षा नै भयो । सोर्सफोर्स पुगेन भन्नेहरुले भनिरहे । तर पनि मैले मेरो सरकारी जागिर अभियान त्यागेन । मनको भित्री कुनामा पढाई नपुगे कै हो भन्ने परेको थियो । 

सन २००५ मा 
सरकारी जागिर अभियानको चौथो वर्ष । लोक सेवा आयोगले मलाई सेवा गर्न कहिल्यै बोलाएन । निराश भएन । मास्टरी चपाउँदै, सरकारी जागिर अभियानमा डटिरहे । एक दिन गोरखापत्रमा यौटा सरकारी जागिरको विज्ञापन देखे । सरकारी जागिरेहरुसँग विज्ञापनको बारे चर्चा गरें ।

“पाए त गजबै हुने  तर गाह्रो छ ।” धेरैले ओठ लेप्रयाउँदै भने ।

 भनाईमा काँडा थियो । मन चस्क घोच्यो । नाम निकालेरै देखाउने अठोट लिएँ । जागिरको फारम बुझाएँ । पेटमा पटुका कसेर पढ्न बसे । तयारी राम्रै भयो । लिखित परिक्षा पनि राम्रै भयो ।

 सरकारी जागिरको मुना मनको हाँगामा टुस्स पलायो । अरुले आफु भन्दा राम्रो गरेका रहेछन् भने त............. मन अलिअलि डरायो । रिजल्ट पर्खन थाले । परिणाम आउन आठ महिना लाग्यो ।

काम विशेषले बुटवलमा थिएं ।  राम मन्दिर नजिकै होटेलमा बास थियो । दाहिने हातको भाग्य रेखा हत्केलाको फेदबाट बढेर, माझी औलाको फेदै सम्म पुगेको देखे । झल्याँस व्युझिएं । सपना रहेछ ।  विहानको साडे चार बज्दै थियो । राम मन्दिरबाट विष्णु सहश्रनाम गञ्जीरहेको थियो । सँगै सुतेका साथी उठिसकेका रहेछन् । सपनाका बारेमा भने । राम्रो भन्लान भन्ने सोचेको थिएं । उनले उल्टै गाली गरे । किन गाली गरे मैले बुझिन ।

विहान  दश बजे तिर पत्रीक हातमा पर्यो । धेरै नम्बरहरुको विचमा मेरो रोलनम्बर पनि रहेछ ं । गाली गर्ने साथीले बधाई दिए । कम्प्युटर प्रयोगात्मक परिक्षा एक महिना पछि रहेछ । प्रयोगात्मक परिक्षामा के गर्ने हो थाहा थिएन । कम्प्युटरमा राम्रै ज्ञान छ भन्ने कता कता अहंम थियो क्यारे । निर्धक्क थिए । 

आखिरमा प्रयोगात्मक परिक्षाको दिन पनि आयो । परिक्षा हल भित्र थुप्रै प्र्रतिस्पर्धीहरु थिए । हल भित्र कसैलाई नहेरी अघि बढें । तोकिएको कम्प्युटर अगाडि बसें । मेरो हातमा प्रश्न पत्र पर्यो । प्रस्न पत्र पढेर चिटचिट पसिना आयो । जिउ शिथिल भयो । आँखा अगाडि अध्याँरो छायो । मानौ म छाँगाबाट खस्दै थिएं । म केही सोच्न नसक्ने भएको थिएं ।

मुखमा हाल्न लागेको गाँस कसैले जबरजस्ती खोसे झै लाग्यो । त्यो खोस्न कोही थिएन । मेरो अज्ञानता थियो । अहंमता थियो । नेपालीलाई महत्व नदिने मेरो लाछीपन थियो । किनकी प्रस्न पत्रको शिरैमा लेखिएको थियोः
  
'नेपालीमा टाइप गर्नु होस् ।'

म जरुक्क उठे । कतै नहेरी परिक्षा हलबाट बाहिरिएं ।

सन् २००९ 
अर्थात असफलताको पाचौं बर्ष । आज म खुसी छु । म सरकारी जागिरे भएको छु । पद र कार्यालयमा जहाँ आज भन्दा पाँच वर्ष अघि असफल भएको थिएं । नेपाली टाइप नजानेर झण्डै मुर्छित भएको थिएं।  म नेपाली अक्षरलाई माया गर्छु । म नेपाली टाइप गर्न जान्ने भएको छु । 

असफलताले दिने ज्ञान अविस्मरणीय हुँदोरहेछ । नेपालीमा टाइप फटाफट गर्छु । यो असफलताले सिकाएको हो । असफल नहँदा सम्म नेपाली टाइप मलाई किन आवश्यक पर्ला र भनि सोच्थे । अनि अग्रेजीमा स्पीड बढाउन मात्र लाग्थे । मेरो मातृभाषा नेपाली तर्फ वास्तै गरिन । कहाँ सम्म भने नेपालीमा टाइप गर्नेहरुलाई पनि वेवस्ता गर्थें । परिणाम, अविस्मरणीय असफलता भोग्नु पर्यो । असफताले मेरो जीवनलाई नयां मोड दियो र यौटा कथा बन्यो ।


Saturday, September 10, 2011

टाइम पास

      भदौरे घाम चर्किएको छ । क्वाटरको पुर्बी झ्यालबाट निलो आकासमा सेता बादल पहाडहरु  देखिएको छन् । ठिंग उभिएको एक तले पहेलो गेष्टहाउसले आकाश र बस्तीलाई छेकेको छ । गेष्टहाउसदेखि क्वाटर अगाडिसम्म लमतन्न बगैचा फैलिएको छ । फूलका बोटहरु चारैतिर छन् । झयाम्म परेका बोट हल्का रातो रंगका लालीगुराँसका थुंगा झै फुलहरु फूलेका छन् ।

"मुसुन्डा हो, सर"  टेकु अर्थात बगैचेले बेलाबेला सम्झाइरहन्छ । यो फुल मैले पहिलो पटक देखेको र सुनेको हुँ । फागुन र चैत्र बाहेक प्रायः बर्ष भरि फुलिरहन्छ । बगैचाको विचमा पैयु जस्तै रुख छ । यस्तो गर्मीमा पैयु नहुनु पर्ने हो । तर पैयू जस्तै छ । केही बर्ष अघि म दामन गएको थिएँ । त्यहाँ प्रसस्तै पैयूका रुखहरु थिए । दामन चिसो ठाउँ हो । हिउँदमा सधै बाक्तलो तुषारो पर्छ । कहिले काँही हिउँ समेत पर्छ । त्यसैले त्यो रुख पैयु होला भन्नेमा मलाई शंका छ । रुखको नाम के रहेछ  टेकु सँग सोधौला । 

 छाहारी नदिए पनि ब्याडमिन्टन खेल्ने साथीहरुलाई उपयोगी भएको छ रुख । विहान खेल्न आउँदा व्याटमीन्टनको व्याग झूण्डयाउँछन् । सगैको कोर्टमा खेल्छन् । नखेलेकाहरु रुख सँगै टाँसिएको बेन्चमा बसेचर खेल हेर्छन् । हार्नेले जित्नेलाई जलेबी किनेर खुवाउँछन् । झ्यालबाट हेर्दा पैयुको रुखलाई सुरीलो अशोक रुखले ओझेलमा पारेको छ । यो अशोकको रुखले गाउँको सम्झना साउनेभेल सरी मन भरि छाउँछ ।

हाम्रो बारीको छेवैमा अशोकको रुख थियो । प्रत्येक विहान दतिवन गर्दै म रुख मुनी पुग्थे । दक्षिण तर्फको सबै भन्दा तल्लो हाँगोमा झुण्डिएर कसरत गर्थे । एक दिन विम खिच्दा खिच्दै हाँगो भाँचियो । म भूँइमा पछारिएँ । केहि समय मैले कसरत गर्न छाडे । कसरत गर्न छाडेको चोट लागेर या डराएर होइन । भाँचिएको हाँगो भन्दा माथिल्लो हाँगो अली माथि थियो । म उफ्रेर पनि पुग्न सक्दैनथे । केही विहानहरु हाँगो समाउने प्रयासमा, बल गरेर धेरै पटक उफ्रिएँ तर सफल भएन । टाइम पास हुँदै गयो ।

सायद बर्षातकै समय थियो । दतिवन गर्दै म रुख मुनी पुगे । दतिवन मुखैमा राखेर दुबैहात माथि लगेर बुरुक्क उफ्रिएँ । दुबै हातले हाँगो समातेर, म हावामा झुण्डिरहेको थिएं । मेरो शरिरको भारले हाँगो हल्लियो । बरर गर्दै निला फल भूई भरी खसे । मैले हाँगाबाट हात छोडे । फेरी हाँगो हल्लीयो । फलहरु फेरी झरे । मुखको दतिवन एकतिर मिल्काएँ । यौट दाना टिपे टोके । स्विमीको फल चाखे पनि अशोक फल चाखेको थिएन । नमिठो रहेछ थुके । नमिठो गन्द अझ पनि मुखैमा बसे झै लाग्छ । अशोकको रुख सँगै शिरिष र बकाइनो लहरै थिए । शिरिषको निलो फूल, अशोकको फल र भदौ असोजको सफा निलो आकाश मलाई अति मनपथ्र्यो । भो छोडौं यी सारा कुरा ।

आज शनिबार । नेपालगञ्जबाट प्रकाशित हुने कान्तीपुर र नागरिक ढिलो गरी आइपुग्छ । ढिलो पुगेका पत्रीका साथीहरु सगैै क्वाटरमा बसेरै पढ्दै थिएं ।

"कसरी टाइम पास गर्ने यार, विदा भनेसी दिक्दार लाग्छ ।" एक जना साथीले कान्तिपूर एकातिर राख्दै भने ।

"बेष्ट टाइम पासका लागि पढ्ने ।" नागरिकदैनिकमा छापिएको इश्वर बुढाथाकीको पाठक बयानबाट आँखा हटाउँदै बोले ।
   
"बहियात" उनले नाक खुम्चायाएर भने । "पढ्ने जस्तो झुर काम केही हुन्न । कोर्सको किताब त मुस्कीलले पढियो । जाँचमा लेख्न नपर्ने भए त्यो पनि पढिदैनथ्यो ।"

"किताब जस्तो राम्रो साथी समय विताउन केही हुदैन ।"  स्वरमा 'पाठक बयान' को प्रभाव ल्याउँदै भने ।

"मलाई यस्तो भन्नेहरुले नाटक गरे जस्तो मात्र लाग्छ ।"

मलाई नमिठो लाग्यो तर पनि बोलिन ।

"टाइम पास त गर्नै परयो, लौ गेम खेल्न जाउँ ।" साथीहरु कोठाबाट निस्किए ।

आफु परियो सिप नभएको । न तास खेल्न जान्ने, न त खेलेको हेर्न नै सक्ने ।  त्यसैले त्यता तिर जाँदैन । अहिले मध्यन्ह छ । दिन पनि, रात जस्तै चकमन्न र शान्त छ । म क्वाटरमा एक्लै छु । केही अघि सम्म साथीहरु थिए । अहिले छैनन् । उनीहरु टाइम पास गर्न गएका छन । विदाको दिन दिउँसो देखि साँझसम्म एक्लै हुन्छु । उनीहरु टाइमपास गरी साँझ फर्कने छन् । म पनि टाइम पासमा व्यस्त छु । ल्यापटपमा औलाहरु चालिरहेको छु । मेरो औलाहरुको गति भन्दा घडीको काँट छिटो चलिरहेको छ । टक. टक. टक.......

उनीहरुलाई तास खेल्न र हेर्न मन लागे झै मलाई पढ्न र लेख्न मन लाग्छ । उनीहरुको पनि टाइम पास हो, मेरो पनि टाइम पास नै हो । जसरी टाइम पास गरे पनि जीवन कै टाइम पास गरीरहेकाछौ । बास्तवमा यो लेखाई फगत टाइमपास थियो ।  





Friday, September 9, 2011

तस्विर

आदिम मानब झै
जंगलका सम्पुर्ण विम्बहरु
प्रतिध्वनीत गराइरहेछ
मेरो तस्विर ।

कुरुपताको प्रतिलिपी
कागजमा टाँसिएर
मलाई जिस्काए झै लाग्छ,
मेरो तस्बिर ।

मेरो अनुहारको कठोरता
हिटलरलाई मात दिदै
मेरो भावनामा लात हान्छ, 
मेरो तस्बिर ।

डस्न तम्सेको सर्प झै
टवाल्ल हेरिरहेको 
देखेर डर लाग्छ
मेरो तस्विर ।

Wednesday, September 7, 2011

याद

 दशैले आँगनको डिलबाट चियाउँदैछ । अब का दश दिन पछि सोह्र श्राद्ध सुरुहुँदैछ । गाउँ तिर हामी श्राद्धे भन्थ्यौ । दशै भन्दा श्राद्धे नै रमाईलो केटाकेटीमा । आफनो मामाघर देखि साथीको मामा घर सम्म चालिन्थ्यो । खै किन हो, पर्व नजिकीदै बाल्यकालका दिनहरु, गाउँमा वितेका दिनहरु, पुराना  मित्रहरु याद आइरहन्छन् ।
त्यसैले गाउँको सम्झिराछु ।
“कामै न लाग्ने ठाउँ ।”  विहान आँखा नखोल्दै, वगाले सरले प्याच्च भने । वापती बस्ने, चरा पनि नबास्ने ठाउँ भनेर मनको तितो पोखिराख्छन्, बगाले सर । उनको तितो पोखाई गाउँ सम्झाउने साँचो हुन्छ मलाई । 
हुन त यो ठाउँ पनि देउखुरी जस्तै समथल नेपाली भूमि हो । तर हावापानी निकै फरक छ । देउखुरी उपत्यका हराभरा छ । चराचुरुंगीका चिरविरले विहानी गुञ्जायमान हुन्छ । चारैतिर पहाडले घेरिएको छ ।
देउखुरीको मध्ये छाती भिजाउँदै राप्ती वग्छ . 

Tuesday, September 6, 2011

रमाईलो

  शरिर ठिक छ । मन चंगा छ । काम गर्न जाँगर चल्यो । काम पनि गरे । बास्तबमै स्वस्थता धन हो भन्ने अनुभूती भइराछ । केही दिन देखि काम गर्ने जाँगर नै थिएन । आज नयाँ उमंग र उत्साहा छ । लेख्न र पढ्न पनि मन लागेको छ । आज केही लेख्ने र पढ्ने काम पनि गरे । आज साँझ सम्म केही रचनाहरु गर्ने विचार गरेको छु ।

चैतन्य मिश्रलाई पढ्न थालेको छु । अलि किल्स्ट  लागिरा छ । धिमा गतिमा पाना पल्टाइरहेको छु । विच विचमा अनुच्छेदहरु पनि हाइलाईट गरिरहेको छु । महत्वपुर्ण वाक्यांश र परिच्छेदहरु डायरीमा सार्दै गएकोछु । पढ्न सुरु गरिसके पछि  विस्तारै पढ्नु पर्ने रहेछ जस्तो लागेको छ ।

लेख्न मन लागिरा छैन । केही समय भयो रचनात्मक कार्य बन्द जस्तै छ । धेरै भयो रचना प्रकाशित नभएको । राजन अधिकारीले पत्रिकाका लागि लेख माग्नु भएको छ, आर्थिक तथा बैंकिंग विषयमा । लेख्न सुरुवात गर्ने तरखरमा छु ।  

Friday, September 2, 2011

हावाईअध्ययन

  काठमाण्डौं धनगढी यती एयरलाइन्सको यात्रामा 'वीयण्ड द हली बोडर' पढी भ्याँए । आज विहानदेखि झमक घिमिरेको "जिबन काँडा की फूल" पनि पढी सकेर चैतन्य मिश्रको "बदलिँदो नेपाली समाज" पढ्न सुरु गरेको छु । दुईवटा अग्रेजी पुस्तकहरु पढीने पर्खाइमा दराजमा थन्किएका छन् । पढाईका कारण लेखाईमा ब्रेक लागेको छ । मौसम परिवर्तनको प्रभाव शरिरमा देखिएको छ । काठमाण्डौंको शितला संग धनगढीको तातोले संघर्ष गरिहेको छ । यो अन्तर संघर्ष कहिले समाप्त हुने हो ।