Tuesday, August 7, 2012

तिर्थ हिडेका, यी चराका बथानहरु


मक्कामदिनाको फन्को मारेर
जेरुसल्ममा नङ्ग्रा तिखारेर
भेटिकनमा प्वाँखहरु झारेर
कहिले फर्कलान हँ ?
आकाश छपक्कै ढाकेर,
तिर्थ हिडेका यी चराका बथानहरु ।

रातो टिका
ठुँडमा टाँसेर,
ध्वजाहरु
नङ्ग्रामा च्यापेर,
फर्कलान् कि नफर्कलान हँ ?
तिर्थ हिडेका यी चराका बथानहरु,
शुदुरदेशको तिर्थ सकेर
आफ्नै बनपाखा सम्झेर ।

बाबाका बाँझा आँखामा
उज्यालो नहराउँदै
आमाको न्याँनो काखमा
धाँजा नफाट्दै
फर्कलान् कि नफर्कलान हँ ?
तिर्थ हिडेका यी चराका बथानहरु,
थोपा पसिना बाँकी राखेर
तातो रगत ज्युँदै राखेर ।

No comments:

Post a Comment