शुन्यतालाई
बाँसुरीको अलापले
निलो रंगले
पोत्दै
कर्मका
रागहरु
ब्रह्माण्डमा
उफार्दै
तिमीले भन्यौ:
आत्माहरुको
आत्मा
म परमात्मा
हुँ ।
तर पनि
तिमी को हौ ?
चिनेको छैन ।
तिमीलाई चिने
भन्नेहरुले,
आफैलाई तिमी
ठान्नेहरुले,
सदियौं देखि
भन्दै आए
मेरो आत्माको
परमात्मा
तिमी हैन रे,
मेरो आत्मामा
तिम्रो बास
छैन रे,
कर्म भन्दा
जन्मै ठूलो हो
अन्य सबै
झुटो हो ।
तर पनि
हो या होईन ?
थाहा छैन ।
त्यसैले,
बाँसुरीका
तरंगहरु
समात्न
खोज्छु,
निला रंगहरु
नियाल्न
खोज्छु,
तिमी र म
माझ
जन्मको पर्दा
झर्छ
तिम्रो
लिलाका रंग तरंग
आत्माबाटै
ओझेल पर्छ
अनि
मेरा छोटा
हातहरु
आत्मामा
राखेर सोध्ने गर्छु,
साँच्चै, तिमी आत्माहरुको परमात्मा हौ त ?
No comments:
Post a Comment