म नभएको विहान
सदाझै
सूर्य
उदाउने छ,
हावा
चल्ने छ,
चराहरु
उड्ने छन,
धुवाँ धुलो
उडाउँदै
कुदनेछन्
सवारी साधनहरु,
फुर्तिलो समय
झोलामा घाम
बोकेर
काममा
निस्कनेछ,
सपना र
खुसिहरु
झिलिमिली
बोकेर
साँझ, सदा झै आउनेछ,
बस्
यति मात्र हो,
साँझको
झिलिमिली
तिमीबाट
हराउने छ ।
नत्र
म नभएको दिन
सदा झै
सबै चलिरहनेछ
।
म
नभएको साँझ,
सदा झै
ताराहरु
चम्कनेछन्,
बत्तीहरु
बल्नेछन्,
चराहरु गुड
तिर फिर्नेछन्,
एकादेश सुन्दै
केटाकेटी निदाउने छन्,
झिलमिल साँझको खोजिमा
तिम्रो
आँखाबाट रात हराउनेछ,
लाटो
कोसेरोले
अन्तीम
प्रहरमा बोलाएको
बलत्कृत रात
तिमीलाई
खोज्दै आउने छ,
र तिमी झपक्क निदाउने छौ,
ठीक त्यसै
बेला
घडीको
अलारम बज्नेछ,
तिमी
चल्मलाउँदै
कोल्टे
फेर्ने छौ,
अँगाल्न
खोज्ने छौ,
बिर्सियौ कि
कसो
म नभएको रात
म सुत्ने
तिम्रो छेउँ
रित्तो हुने
छ ।
बस्
यति मात्र हो,
नत्र
म नभएको दिन
सदा झै
सबै चलिरहनेछ
।
No comments:
Post a Comment